|

काठमाडौं:  पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५१औँ वर्षमा प्रवेश गरेको छ। संस्थाले ५१औँ वार्षिकोत्सवमा आफूले गरेका काम कारवाही र आगामी कामको प्रतिवद्धता जनाएको छ।

सरोकारवालाहरूले संस्थानका चुनौतीहरू समेत केलाएका छन्। अर्थ सचिव शंकरप्रसाद अधिकारीले पारदर्शी, प्रविधिमैत्री र प्रतिस्पर्धी कार्यप्रणालीको अवलम्बन गर्नुपर्ने बताए। उनले जीवन बीमा व्यवसायमा आम नागरिकहरूलाई स्तरीय एवं दिगो सेवा प्रदान गर्ने कार्यमा लाग्नसमेत सुझाब दिए।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बीमा र वित्तीय क्षेत्रको बीचमा पारस्परिक सम्बन्ध राख्दै अघि बढ्न आग्रह गरे। उनले  प्रतिस्पर्धी बन्दै गएको बीमाका योजनाहरूलाई समय सुहाउँदो बनाउन आग्रह गरे। उनले नेपालले ग्रामीण समुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तार गतिलाई बढाउनुपर्ने बताए।

बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले सरकारी संस्थानका दुर्गम ग्रामीण क्षेत्रसम्म बीमा क्षेत्र विस्तार गर्नुपर्ने जिम्मेवारी बहन गर्न संस्थानलाई आग्रह गरे। संस्थानका अध्यक्ष डा. खोमराज खरेलले बीमा बजारमा निजी र विदेशी कम्पनीहरूको आकर्षण बढ्दै गर्दा आफ्नो भूमिका अब्बल राखेको बताए। उनले संघीय संरचनाअनुसार संस्थानले आफ्नो कार्य क्षेत्रलाई विस्तार गर्ने योजना बनाएको जानकारी पनि गराए।

बीमा संस्थानले आर्थिक वर्ष २०६५/०६६ देखि साधरणसभा गर्न सकेको छैन। त्यस्तै, २०६९/०७० सम्मको लेखापरीक्षण सम्पन्न भएको संस्थाले जनाएको छ। तर, अन्तिम प्रतिवेदन भने आएको छैन।

संस्थानले दीर्घकालीन परियोजनाहरूमा लगानी गर्न तामाकोसी जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेको छ। यसमा २१ करोड १८ लाख रुपैयाँ सेयर पुँजी र २ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धतासहित १ अर्ब ८० करोड रुपैयाँ प्रवाह गरेको छ। १२ अर्ब रुपैयाँको जीवन बीमा कोष बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराएको उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.