|

काठमाडौं : तथ्यांक विभागले पहिलो पटक गर्न लागेको आर्थिक गणनाका लागि प्रशिक्षकलाई प्रशिक्षण दिन सुरु गरेको छ। आगामी बैशाख १ गतेदेखि देशका ७७ वटै जिल्लाबाट सुरु गर्न लागिएको गणनाका लागि शुक्रबारबाट विभागमा प्रशिक्षण सुरु गरिएको हो।

सबै गणनामा सहभागी हुने अधिकृतस्तरका कर्मचारीहरूलाई विभागले तालिम सुरु गरेको छ। ६ दिनसम्म संचालन हुने तालिमा गणनाको विधि, प्रश्‍नको शैली र प्रकारका साथै उतार्ने ढाँचाका विषयमा प्रशिक्षण दिइने विभागले जनाएको छ।

हाल तथ्यांक विभागका ३३ वटा जिल्लामा कार्यालय रहेकामा ती कार्यालयमा छुट्टै इकाई र ४४ जिल्लामा अस्थायी कार्यालय स्थापना गरिने विभागका महानिर्देशक सुमन अर्यालले बताए।

आर्थिक गणनामा नेपालमा रहेका व्यावसायिक आर्थिक इकाइहरूको ठेगाना, मुख्य क्रियाकलाप, रोजगारीको विषयमा गणना गरिने जनाइएको छ। त्यस्तै, पूँजी लगानी र ऋणको पहुँचको विषय पनि गणनामा समावेश गरिने महानिर्देशक अर्यालले बताए।

जापानको सरकारी सहयोगी संस्था जाइकाको प्राविधिक सहयोगमा गर्न लागिएको गणना ४ महिनामा सक्ने र २०७५ सालमै प्रतिवेदन सार्वजनिक गर्ने लक्ष्य तथ्यांक विभागको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.