|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकालाई युरोपियन युनियनका राजदूत भेरोनिका कोडीले फोहोर तथा प्राकृतिक स्रोत व्यवस्थापन परियोजना सञ्चालनका लागि ३ करोड ७५ लाख रुपैयाँ बराबरको सहयोग सामग्री हस्तान्तरण गरेकी छन्। 

पनौती नगरपालिकाबाट उठेको फोहर मैला व्यवस्थित गर्ने गरी कम्पोष्ट प्लान्ट र पार्क निर्माणका लागि राजदूत कोडीले नगरपालिकाका प्रमुख भीम न्यौपानेलाई शुक्रबार परियोजना सामग्री हस्तान्तरण गरेकी हुन्।  

पनौती नगरपालिकाका प्रमुख न्यौपानेले ऐतिहासिक पुरातात्त्विक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको पनौती नगरलाई युनियनले सहयोग गरेकोमा खुसी व्यक्त गरे। न्यौपानेले भने, ‘युनियनको सहयोगले पुण्यमाता खोलाको किनारालाई पार्क ‘ग्रिन बेल्ट’ बनाउन कोशेढुंगा सावित हुनेछ साथै नगरको फोहोरमैला संकलनका लागि अब वडा-वडामा नै काम गर्न सकिन्छ।’ 

प्रमुख न्यौपानेले पनौतीको सम्पदा संरक्षण गर्नका लागि त्रिवेणीघाट क्षेत्रको सुधार, पाटी, पौवा, मठ मन्दिरलगायतका पुराना घरहरूको संरक्षणसमेत अपरिहार्य रहेको बताए। 

परियोजनाले पनौती नगरपालिकाभित्रका महिलाहरूलाई समेटेर ८ वटा समूह गठन गरी तालिम दिने काममा सहयोग गरिरहेको परियोजनाका व्यवस्थापक सुजित कर्माचार्यले बताए। कर्माचार्यले भने, ‘परियोजनाले समूहका महिलालाई ढोका ढोकाबाट फोहोर उठाएर व्यवस्थापन गर्ने सीपको तालिमसमेत दिएका छौँ।’  

महिला समूहकी संगीता श्रेष्ठ स्याउलाले तालिमबाट फोहोर व्यवस्थापन गर्ने, फोहरको पुनः प्रयोग गर्ने र मल उत्पादन गर्ने सीप पनि सिकाइएको बताइन्। ‘तालिमले व्यावहारिक ज्ञान दिएको छ, यसले हामी सबै जना फोहोरमैला व्यवस्थापनमा उत्साहित छौँ’, श्रेष्ठले भनिन्। समूहमा नगरपालिकाका १०० जना महिलाहरू सहभागी छन्। 

शुक्रबार पनौती नगरपालिका- ६ नागदहमा निर्माण गर्न लागिएको कम्पोष्ट प्लान्ट र पार्क परियोजनाको शिलान्यास पनि युनियनकी राजदूत कोडीले नै गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.