|

  • राजेन्द्र पनेरु-

कंचनपुर : बर्थिङ सेन्टर संचालनमा आएपछि कंचनपुरको दुर्गम लालझाडी गाउँपालिकामा घरमै सुत्केरी हुने महिलाहरू स्वास्थ्य चौकीमै पुगेर सुरक्षित तरिकाले शिशुलाई जन्म दिन थालेका छन्।

महिला स्वयंसेविकाको जनचेतनाको प्रभाव र स्वास्थ्य चौकीको प्रभावकारी सेवाले सुत्केरी हुने महिलाहरूको विश्वास बढेपछि जोखिम मोलेर घरमै सुत्केरी हुनेहरू स्वास्थ्य चौकी पुग्न थालेका हुन्।

घर परिवारका सदस्यले गर्भवती छँदादेखि नै महिलाको पौष्टिक आहारमा पहुँच पुर्‍याउने र स्वास्थ्य चौकीमा सुत्केरी हुनका लागि ल्याउने गरेका छन्।

‘नियमित गर्भवती चेकजाँच गराउनेलाई प्रोत्साहन रकम र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई यातायात खर्चवापत गरी ९०० रुपैयाँ प्रदान गर्ने कार्यले समेत सुत्केरी हुने महिलाहरूको स्वास्थ्य चौकीप्रतिको विश्वास बढेको छ’, स्वास्थ्य चौकी शंकरपुरका प्रमुख श्यामनारायण गुप्ताले भने। झुलसँगै आमा र शिशुलाई न्यानो कपडासमेत स्वास्थ्य चौकीका तर्फबाट उपलब्ध गराइँदै आएको छ।

जनप्रतिनिधि आएपछि स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलाका लागि आवश्यक पर्ने औषधिलगायतको पर्याप्तताले समेत सहज भएको स्वास्थ्य चौकी प्रमुख गुप्ताले बताए।

श्रीमान मजदुरीमा जाने र वर्षाका बेला असहज सडकका कारण केही महिलाहरूले घरमै शिशुलाई अझै जन्म दिने गरेको भए पनि विगतको तुलनामा सुत्केरी हुने अधिकांश महिलाहरू स्वास्थ्य चौकीमै पुग्ने गरेका छन्।

स्वास्थ्य चौकीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म ६० बढी महिलाहरूले स्वास्थ्य चौकीमा पुगेर सुरक्षित तरिकाले शिशुलाई जन्म दिएका छन्। गत वर्ष स्वास्थ्य चौकी पुगेर ९९ महिलाले शिशु जन्माएका थिए। गत वर्ष मातृ शिशु मृत्यु २ वटा रहेको थियो, जुन अन्य रोगका कारण भएको थियो।

नदीमा बाढी आउने र सडकको बिग्रँदो अवस्थाले स्वास्थ्य चौकी पुग्न नसक्दा गत वर्ष २ जना महिलाले घरमै सुत्केरी हुनुपरेको स्वास्थ्य चौकी प्रमुख गुप्ताले बताए। उनले भने, ‘चालु आवको हालसम्म कुनै पनि महिलाहरू घरमै सुत्केरी भएका छैनन्।’

स्वास्थ्य चौकीमा पुगेर नियमित गर्भजाँच गराउने महिलाको संख्या ६७ प्रतिशत र सुत्केरीपछि चेकजाँच गराउने महिलाको संख्या ५३ प्रतिशत रहेको उनले जानकारी दिए।

गोरु गाडामा स्वास्थ्य चौकी पुर्‍याउनुपर्ने बाध्यता
सडकको बिग्रँदो अवस्थाका कारण यातायातका साधन संचालन नहुँदा सुत्केरी हुने महिलालाई गोरु गाडामा राखेर शंकरपुरका बासिन्दाले स्वास्थ्य चौकी पुर्‍याउने गरेका छन्।

बाध्यतावस गोरु गाडामा सुत्केरी हुने महिलालाई स्वास्थ्य चौकी पुर्‍याउनुपरेको गाउँपालिकाको वडा नम्बर– ३ का वडा अध्यक्ष शिवनारायण चौधरीले बताए। ‘सडक नै भरपर्दो नभएपछि यातायातका साधन संचालन हुँदैनन्’, उनले भने, ‘दुर्गमको बस्ती भए पनि स्वास्थ्य चौकीमा एम्बुलेन्सको समेत व्यवस्था छैन।’ एम्बुलेन्सका लागि पटक पटक दातृ निकायलाई गुहार्दासमेत उपलब्ध हुन नसकेको उनको भनाइ छ।

नदीमा पक्की पुल नहुँदासमेत धेरै महिलाहरूले सास्ती खेप्दै स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता रहेको उनले बताए।

घरका पुरुष मजदुरीका लागि अन्यत्र गएका परिवारका सुत्केरी हुने महिलाले असुरक्षित तरिकाले घरमै शिशुलाई जन्म दिनुपर्ने अवस्था अझै रहेको स्थानीयको गुनासो छ।

सडकको अवस्था सुधार गर्नका लागि काम अगाडि बढाइएको गाउँपालिकाका प्रमुख मदनसेन वडायकले बताए। उनले भने, ‘सडक नै समस्याको प्रमुख कारक भएकाले सडक बनेपछि स्वास्थ्य चौकीका लागि एम्बुलेन्सको व्यवस्था पहिलो प्राथमिकतामा छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.