|

डिभिजन–२ मा उपविजेता बन्दै विश्वकप छनोटमा स्थान बनाएपछि चर्चित बनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले एक सातामा दुई पटक भेट गरे। ओलीको पहिलो भेटको उद्देश्य क्रिकेटरलाई नगद दिने घोषणासहित बधाइ दिने उद्देश्य थियो भने दोस्रो भेटमा नगदसहित सम्मान गर्ने। साथै विश्वकप छनोटका लागि जाने टोलीको विदाइ गर्ने प्रयोजन पनि थियो।

खेलको तयारीका लागि व्यस्त रहनुपर्ने क्रिकेट टोलीले शुक्रबार अपराह्न भने बडो निरसलाग्दो ३ घण्टा बितायो, प्रधानमन्त्री निवास बालुवाटारमा। खेलाडीहरूलाई ठ्याकै ३ बजे सम्मान गरेर विदाइ गर्ने तालिका रहे पनि प्रधानमन्त्री ओलीको जन्मदिनको व्यस्तताले खेलाडीहरूले करिब तीन घण्टा बालुवाटारमा बिताउनुपर्‍यो। तीन बजे नै बालुवाटार पुगेका खेलाडी करिब ६ बजेमात्र होटल फर्किए।

ओलीले जन्मिदनमा कप्तान पारस खड्कालाई केक खुवाउँदै विजयी हुन शुभकामना दिए। त्यसअघिका दुई घण्टा क्रिकेटरहरूले बालुवाटारको रमाइलो हेरे। शुभचिन्तक र कार्यकर्ताले भरिएको अस्तव्यस्त बालुवाटारमा क्रिकेट खेलाडीहरु समर्थकसँग सेल्फी दिँदादिँदा हैरान भए। मिडियासँग  कुरा गर्न पनि उनीहरुले पर्याप्त समय पाए।

पार्टीका लागि होइन चन्द्र र सूर्यका लागि खेल्छौँ : पारस

प्रधानमन्त्रीको सम्मानपछि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफूहरु कुनै पार्टीको नभएको बताए। एमाले कार्यकर्ताले खचाखच भरिएको प्रधानमन्त्रीको निजी सचिवालयको हलमा तीन घण्टा बिताउँदा पारसले अाफूबारेका अनेक अड्कलबाजीकाे जवाफ दिएका हुन्। लामो समय बालुवाटारमा बिताउँदा उनले 'प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिन आएको', 'पारस पनि एमाले नै रहेछ' जस्ता हल्ला सुनेपछि उनले हलमा यस्तो स्पष्टीकरण दिनुपरेको हो।

पारसले भने ‘हामी कुनै पार्टीको कार्यकर्ता होइन हामि देशका लागि खेल्छौँ चन्द्र–सूर्यका लागि खेल्छौँ। यसैले नै सारा नेपालीलाई खुशी दिन सकेका हौँ। यो खुशी हामी पटक–पटक दोहोर्‍याउन चाहन्छौँ।’

विकासको फेहरिस्त

खेलकुद संरचनाको अवस्था सबैलाई थाहै छ। भूकम्प गएको तीन वर्षसम्म हुनैलाग्दा पनि दशरथ रंगशाला पुनर्निर्माणको काम निकै निराशाजनक गतिमा भइरहेको छ। मुलुकका अधिका‌ंश मैदानहरू खेल्नलायक अवस्थामा छैनन्। मूलपानी क्रिकेट मैदान मुआब्जा विवादमै अल्झिहेको छ।

तर इन्द्रका अगाडि स्वर्गको बयान भनेझैँ  खेलाडीहरूसामु खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले खेलकुद क्षेत्रमा भइरहेको विकासबारे प्रधानमन्त्रीलाई बेलिविस्तार लगाए। विभिन्न ठाउँमा कर्भडहल र मैदान निर्माण भइरहेको सगर्व बताइरहे।

जिम्बाबे जाँदै टोली

विश्वकप छनोटका लागि जिम्बाबेमा हुने प्रतिस्पर्धाका लागि नेपाली टोली शनिबार बिहान जिम्बाबे प्रस्थान गर्दैछ। नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले टिमले आफ्नो तर्फबाट शतप्रतिशत खेल्ने र विश्वकपमा छनोटका लागि नै संघर्ष गर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.