उठाउनेछन् काठमाडौं प्रहरी परिसर प्रमुख पोखरेलले

|

काठमाडौं : कतै आपराधिक गतिविधि भइरहेको थाहा पाउनुभएको छ? वा प्रहरीको व्यवहारमाथि नै तपाईँलाई शंका लागेको छ? त्यसोभए उठाउनुस् फाेन र थिच्नुस्,  ९८५१२-०५५५५। उठाउनेछन्, काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले।

अपराधीहरुबारे सूचना संकलन गर्न, उनीहरुविरुद्ध कडा कदम चाल्न र त्यस्तै प्रहरीले दिएको सेवाबारे नागरिकको धारणा बुझ्न यो नम्बर सार्वजनिक गरेको पोखरेलले बताए। ‘अपराधीहरुले समाजमा घटना घटाउँछन्, समाजमै बस्छन्। त्यसैकारण उनीहरूबारेको सूचना नागरिक तहमै बढी हुन्छ', उनले भने, त्यसैले बढीभन्दा बढी सूचना दिन अनुरोध गर्छु। सूचना दिनेको परिचय गोप्य रहनेछ।’

नागरिकलाई सेवा दिन भनेर बसेको प्रहरीको  गतिविधिमा शंका लागे जानकारी दिन उनले अाग्रह गरे। सेवामा अनियमितता गर्ने प्रहरीमाथि कारबाही गर्ने प्रतिबद्धता उनले जनाए। 'केही घटनामा प्रहरीमाथि नै अाशंका उब्जिएको छ', उनले भने, 'रक्षक नै भक्षक भएको पाइए बडो निर्ममतापूर्वक प्रस्तुत हुनेछु।' 

काठमाडौं उपत्यकाका भित्री गल्लीमा प्रहरीको गाडी जान नसक्ने भएकाले सादा पोशाकमा 'क्विक रेस्पन्स टिम' खटाएको उनले बताए। पोखरेल गत माघ २९ गते महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट सरुवा भएर महानगरीय प्रहरी परिसर आएका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.