|

चितवन : पूर्वी–चितवनको कयरखोलाबाट अवैध रुपमा ढुंगा गिटी बालुवा उत्खनन गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले २५ ट्रयाक्टर नियन्त्रणमा लिएको छ।

बालुवा गिट्टीसहित ती ट्रयाक्टरलाई शुक्रबार नियन्त्रणमा लिएको प्रहरीले एक सूचना जारी गरी जनाएको छ।

जिल्ला समन्वय समिति चितवन, स्थानीय सरकार र निकायको समन्वयमा खोला नालाबाट नदीजन्य पदार्थ अवैध उत्खनन तथा ओसारपसार नियन्त्रण अभियानअन्तर्गत यसरी ट्रयाक्टर नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्राकृतिक स्रोतको दुरुपयोग गर्दै गैरकानुनी रुपमा चोरी निकासी गरी बालुवा, गिट्टी उत्खनन तथा ओसारपसार गर्दै आइरहेको पाइएपछि नियन्त्रणमा लिएर कारबाही थालिएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

यसैगरी, इच्छाकामना गाउँपालिकाअन्तर्गत मुग्लिङस्थित त्रिशूली खोलाबाट २ वटा ट्रक र एक स्काभेटरसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति चितवनमा पठाइएको छ।

यस्तै, प्रहरीले आपराधिक क्रियाकलाप तथा लुटपाटमा संलग्न रहेका पाँच जनालाई शुक्रबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमध्ये तीनजना खुकुरी प्रहार गरी फरार रहेका व्यक्ति हुन् भने दुईजना सादा पोसाकको प्रहरी भन्दै चेकजाँच गरेर लुटपाट मच्चाउने रहेको प्रहरीले जनाएको छ।

यसरी पक्राउ पर्नेमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्बर २७ का २० वर्षीय हेमबहादुर थापा, सोही ठाउँका १८ वर्षीय विवस अर्याल र २२ वर्षीय अनुप सुवेदी रहेका छन्।

यस्तै प्रहरी हुँ भन्दै लुटपाट गर्ने भरतपुर महानगरपालिका वडा नम्बर १२ का आशिष मगर र वडा नम्बर ११ का २० वर्षीय सिजन गुरुङ समेत पक्राउ परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.