|

काठमाडौं : नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गर्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गर्ने निर्णय गरेको हो।

बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रियसभा सांसदहरूले जिम्मेवार रचनात्मक प्रतिपक्षको भूमिकामा बस्नका लागि छाया सरकार आवश्यक पर्ने सुझाव दिएपछि छाया सरकार गठन गर्ने निर्णय गरेको सांसद गगनकुमार थापाले जानकारी दिए। उनले भने, ‘साथीहरूले राम्रो प्रतिपक्षको भूमिकामा बस्न छाया सरकारको आवश्यक रहेको बताउनुभयो। त्यहीअनुसार हामीले निर्णय गर्यौँ। यसमा छाया प्रधानमन्त्री हुन्छ’ , उनले भने, ‘सरकारले जति मन्त्रालय बनाउछ। त्यति नै हामी पनि छाया मन्त्री बनाउछौँ। सरकारले गरेको राम्रा काममा सहयोग गर्छौँ नराम्रा काममा खवरदारी गर्छौँ।

यस निर्णयलाई हामी प्रदेश संसदमा पनि कार्यन्वयन गर्छौँ।’ छाया प्रधानमन्त्री स‌ंसदीय दलको नेता रहने बताइएको छ। बैठकमा सांसदहरूले संसदीय दलको नेता चयन गर्दा सहमतिको आधारमा गर्नुपर्ने माग राखेका थिए। उनीहरूले संसदीय दलको नेता चयन गर्दा चुनाव गर्न नहुने बताएका थिए। सांसदमा निर्वाचित नभए पनि बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागि थिए।

उनले कांग्रेसले पराजय भोगेको समयमा संसदीय दलको नेता चयन गर्न चुनाव गर्न नहुने तर्क राखे। अब एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको उनले बताएका थिए। यस्तै, संसदीय दलको नेताका लागि चुनाव भएमा भाग लिने कि नलिने भन्ने नैतिक संकटमा रहेको राष्ट्रियसभाका अधिकांश सदस्यले धारणा राखेका थिए।

यसैबीच बैठकमा सांसद डा. मिनेन्द्र रिजालले संयोजकत्वमा बनेको संसदीय दलको विधान मस्यौदा समितिले पेश गरेको मस्यौदा माथि छलफल भएको छ। उक्त मस्यौदामा सांसदको सुझाव लिएर शनिबार नै ३ बजे बस्ने बैठकबाट पारित गर्ने कार्य तालिका रहेको कांग्रेसले जनाएको छ। कांग्रेसमा स‌ंसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमानसिंहले दाबी गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.