|

बुटवल : मन्त्रालय व्यवस्थापनको काम नसकिएपछि प्रदेश नम्बर ५ को सरकार विस्तारमा ढिलाइ भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव शंकर पाठकका अनुसार मन्त्रालयमा आउनुपर्ने कर्मचारीहरु समयमा नआउँदा तथा नयाँ भवनमा पूर्वाधारको कामसमेत सकिएको छैन। यसका कारण मन्त्रिमण्डल विस्तारको काम रोकिएको मुख्यमन्त्री शंकर पोखरेलले बताए। ‘पूर्वाधार व्यवस्थापन सकिएपछि मात्रै सरकार विस्तार हुन्छ’,उनले भने।

प्रदेश ५ मा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिमण्डल बन्नेछ। सरकार विस्तारका लागि पार्टीगत रुपमा कुन मन्त्रालय कस्ले पाउने भन्ने टुंगो लगाउने तयारीमा दलहरु छन्। एमाले र माओवादी गठबन्धनलाई प्रदेश ५ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाको साथ छ। ती दललाई सरकारमा लैजाने÷नलैजानेबारे टुंगो लागेको छैन।

‘हामी छलफलमा छौं, कुरा मिले सरकारमा जान्छौं–संघीय समाजवादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले भने। केन्द्रमा भएको सहमति अनुसार एमालेले ४ र माओवादी केन्द्रले दुई मन्त्रालय पाउनेछन्। प्रदेश सरकारले दुई मन्त्री थप गर्दै नौ मन्त्रालय बनाउने विषयमा समेत छलफल गरिरहेको छ।

‘हामी सबै कुरा व्यवस्थित गर्दै जाने छौं, काम भइरहेको छ सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने, ‘पूर्वाधार व्यवस्थापन सकिनासाथ सरकारले आफ्ना काम अघि बढाउँछ।’

मुख्यमन्त्री पोखरेलले शपथग्रहणसंगै तीन सदस्यीय मन्त्रिमण्डल बनाएका थिए। माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी र एमालेका वैजनाथ चौधरीले क्रमश:  आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.