|

बारा : भारतीय मालबाहक सवारीसाधनले बढी भार बोकेर ढुवानी गर्न थालेपछि नेपाली यातायात व्‍यवसायी मर्कामा परेका छन्। ३० टन बोक्ने अनुमति पाएका भारतीय ट्रकले ५२ टनसम्म बोक्न थालेपछि नेपाली व्‍यवसायी मर्कामा परेका हुन्।

भारतीय ट्रिपरमा पछाडिको क्यारियरमा करिब दुई फिटसम्म भाग थपेर क्षमताभन्दा बढी सामान ल्याइने गरेको तराई यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्कीले बताए। ‘अतिरिक्त भाग थपेर सञ्चालनमा ल्याइएका नेपाली ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएर थपिएको भाग काटेको छ,’ अध्यक्ष कार्कीले भने,‘प्रहरीले भारतीय ट्रकलाई छुट दिँदा हामी यातायात व्यवसायी मर्कामा परेका परेका छौँ।’

लागत सस्तो पर्ने भएकाले भारतीय ट्रकलाई प्राथमिकता

१० चक्के नेपाली नम्बर प्लेटको गाडीलाई १७ टनसम्म बोक्न छुट रहे पनि त्यति नै क्षमताको भारतीय नम्बर प्लेटको गाडीले भने २२ टन बोक्ने गरेको अध्यक्ष कार्कीले बताए। ‘यसले गर्दा लागत सस्तो पर्ने भएकाले नेपाली उद्यमीले भारतीय ट्रकलाई प्राथमिकता दिएको छ,’ अध्यक्ष कार्कीले भने,‘नेपाली ट्रक व्‍यवसायी मर्कामा परेका छन्।’

भारतीय गाडीहरुले जति पनि माल बोक्न पाउने तर नेपाली मालवाहक सवारीसाधनले सरकारले तोकेको मात्रै बोक्नुपर्ने नियम मान्दा बजारमा माल सामानको अभाव हुँदा पनि नेपाली मालबाहक सवारीसाधन खाली बस्नुपर्ने अवस्था आएको तराई यातायातका सचिव देव श्रेष्ठले बताए।

नेपाली मालबाहक संघ संस्थाले भारतीय मालबाहक सवारीले गर्ने गरेको नेपालभित्रको ढुवानी नियन्त्रण गर्न आफैँ सक्रिय भएका छन्। ‘मौन बसेका कारण आफ्नो पेसा नै संकटमा पर्ने अवस्था आयो,’ सचिव श्रेष्ठले भने,‘बढी भार बोकेका भारतीय मालवाहक सवारीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाएको हौँ।’

तराई यातायातले बाराको सिमरा, निजगढ, सलार्ही र नारायणीले हेटौँडामा भारतीय मालबाहक ट्रकहरु गन्तव्यसम्म जान नदिई बीचमा नै रोकेर प्रहरीलाई बुझाएका छन्। तराई यातायात व्यवसायी संघ सिमरा, नारायणी यातायात व्यवसायी संघ हेटौँडालगायतका संघले माघ २३ गते निर्णय गरेर मालबाहक भारतीय नम्बरका गाडी नियन्त्रणका लागि जुटेका थिए।

भारतीय ट्रक र लहरीले भारतबाट सोझै नेपालका प्रमुख सहरहरुमा बढी मालसमान बोक्न थालेपछि नेपाली मालबाहक सवारी कामविहीन हुन थालेकाले भारतीय मालबाहक ट्रक र लहरी रोक्न व्यवसायी सडकमा उत्रेको ट्रक व्यवसायी सन्तोष कार्कीले बताए। नेपालको मात्र मालबाहक क्षेत्रमा करिब ४५ हजार ट्रकले मालबाहक सामानहरु ढुवानी गर्ने गर्दछन्।

दर्जनौँ भारतीय सवारी कारबाहीमा

देशका विभिन्न स्थानमा दर्जनौँ भारतीय ट्रक र लहरी प्रहरीको नियन्त्रणमा छन्। मध्यक्षेत्रीय ट्राफिक प्रहरीले मापदण्डविपरीत र अनुमतिभन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालबाहक सवारीसाधनलाई कारबाही गरेको छ। सवारीसाधनको ब्लुबुकमा उल्लिखित भार क्षमताभन्दा बढी सामान बोकेर गुड्ने भारतीय नम्बर प्लेटका सवारीसाधनलाई चेकजाँचका क्रममा कारबाही गरिएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।

विभिन्न नाकाबाट बढी भार बोकेर आउने भारतीय नम्बर प्लेटका सवारीसाधनले वीरगन्ज–पथलैया, हेटौडालगायतका औद्योगिक करिडोरका उद्योगका लागि कच्चा पदार्थ ढुवानी गर्ने गरेका छन्। यस्ता सवारीसाधनका कारण सडक र पुल जोखिममा परेपछि कारबाही सुरु गरिएको कार्यालय प्रमुख सुरेन्द्र मैनालीले बताए।

ट्राफिक नियमअनुसार जरिवाना गर्दासमेत नियन्त्रणमा नआएपछि यातायात व्‍यवस्था कार्यालयमा पत्र लेखेर बुझाउन थालिएको ट्राफिक प्रहरी उपरीक्षक मैनालीले बताए। ‘हामीले जरिवाना गरेर छाड्दा नियन्त्रण हुने स्थिति नभएपछि यातायातमा लेखेर पठाएका छौँ,’ ट्राफिक प्रहरी उपरीक्षक मैनालीले भने,‘यातायात कार्यालयको जरिवाना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सहज भएको छ।’

३० टनको अनुमति ५२ टनको बोकाइ

३० टन बोक्ने अनुमति पाएका भारतीय ट्रकले ५२ टनसम्म बोक्ने गरेको भेटिएको ट्राफिक प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए। ‘यसले गर्दा नेपालका सडक र पुल जोखिममा परेका छन्,’ ट्राफिक प्रहरी उपरीक्षक मैनालीले भने, ‘विभिन्न नाकाबाट बढी भार बोकेर आउने भारतीय नम्बर प्लेटका सवारीसाधनले वीरगन्ज–

पथलैया, हेटौडालगायतका औद्योगिक करिडोरका उद्योगका लागि कच्चा पदार्थ ढुवानी गर्ने गरेका छन्।’चेकजाँचमा अनुमति पाएभन्दा बढी भार बोकेका सयौँ सवारीसाधनलाई कारबाही गरिएको र त्यसबाट २० लाखभन्दा बढी राजस्व संकलन भएको मैनालीले जानकारी दिए।

भारतीय नम्बर नम्बर प्लेटका गाडीले फलाम र क्लिंकरलगायतका औद्योगिक कच्चा पदार्थ अनुमतिभन्दा बढी लोड गरी नेपाल ल्याउने गरेको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.