|

बुटवल : नयाँ शक्ति नेपाल पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीको नाम परिवर्तन गर्ने भएको छ। शनिबार लुम्बिनीमा सम्पन्न नयाँ शक्ति पार्टी नेपाल, संघीय परिषद्को चौथौ बैठकले १ वर्षभित्रमा प्रथम महाधिवेशन गर्ने र महाधिवेशनले नयाँ शक्तिको नाम परिवर्तन गर्ने निर्णय गरेको हो। 

परिषद् बैठकपछि शनिबार बुटवलमा नयाँ शक्ति पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक डा. बाबुराम भट्टराईले आगामी प्रथम महाधिवेशन मार्फत पार्टीको नाम परिवर्तन गर्ने, नाम छलफलबाट टुंगो लगाउने बताए। उनले आफूहरु कुनै पनि वादको पक्षधर नभएको भन्दै आफूहरु प्रकृतिविज्ञानका आधारमा अघि बढ्ने पार्टीको रूपमा विकास गर्न खोजेको बताए। 

तीव्र परिवर्तन भनेको क्रान्तिकारी भएकाले आफ्नो पार्टीले शान्तिपूर्ण रूपमा त्यो बाटो अँगालेको बताए। डा.भट्टराईले पूँजीवाद की साम्यवाद भन्ने २०औँ शताब्दिको बैचारिक ध्रुवीकरणको अन्त्य भएको भन्दै कांग्रेस र कम्युनिस्ट ब्राण्डको अब आवश्यकता नरहेको तर्क गरे। लुम्बिनीमा बसेको बैठकले नयाँ शक्तिलाई संगठनात्मक संरचनालाई बैज्ञानिक बनाउन भिजन ५ र मिसन ५ नामक सांगठनिक पुनर्गठनको प्रस्ताव अनुमोदन गरेको उनले बताए।  

फागनु ९ देखि १२ गतेसम्म गौतमबुद्धको जन्मथलो लुम्बिनीमा बसेको बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईको संयोजकत्वमा ९९ सदस्य केन्द्रीय कार्यकारी समिति गठन गरेको छ। महाधिवेशन आयोजक समिति ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद गठन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

यस्तै, पार्टीको दस्तावेज परिमार्जन गर्नका डा. भट्टराईको संयोजकत्वमा देविप्रसाद वझा, डम्बर खतिवडा,  गंगा नारायण श्रेष्ठ र कल्पना धमला रहेको ५ सदस्यीय समिति गठन गरिएको छ। 

यस्तै, महाधिवेशन आयोजक समितिको प्रथम बैठकले प्रदेश इन्चार्जसमेत तोकेको छ। प्रदेश १ मा राजेन्द्र किराती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, ७ मा कृष्णकुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकेको छ। केन्द्रीय कार्यालयको संयोजकको रूपमा राजु नेपाल र प्रवक्तामा प्रशान्त सिंहलाई तोकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.