|

भक्तपुर : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले ७ वटै प्रदेशमा १/१ वटा नमुना बहुप्राविधिक शिक्षालय स्थापना गर्ने तयारी गरेको छ। मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै सिटिइभिटीले ७ वटै प्रदेशमा १\१ वटा नमुना बहुप्राविधिक शिक्षालय स्थापना गर्ने भएको हो।

शनिबार सानोथिमीमा आयोजित ३०औँ वार्षिकोत्सव कार्यक्रममा सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले ७ वटै प्रदेशमा अधिकार सम्पन्न प्रादेशिक कार्यालय स्थापना गरी कम्तिमा १\१ नमुना प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए।  सचिव वाग्लेले भने, ‘परिषदले प्रदान गर्ने सम्पूर्ण कार्यक्रम प्रदेशबाटै सञ्चालन गर्ने तयारी भइरहेको छ।’ 

शिक्षा सचिव मधुप्रसाद रेग्मीले सिटिइभिटीले सीपयुक्त दक्ष जनशक्ति उत्पादनका थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। सचिव रेग्मीले भने ‘अहिले स्थानीय र वाह्य श्रम बजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा चुनौती छ। सिटिइभिटीले स्थानीय स्रोत साधनको पहिचान र म्यापिङ गर्दै अघि बढ्न जरुरी।’
कार्यक्रममा शिक्षाविद डा. सुरेशराज शर्माले अब युवा सशक्तीकरणको समय भएकोले सिटिइभिटीले त्यसप्रति ध्यान दिन आवश्यक रहेको बताए। 

वार्षिकोत्सव कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका क्षेत्रमा कलम चलाउने केन्द्रका १ जना र ७ वटा प्रदेशबाट १/१ जना गरी ८ जना पत्रकारलाई वर्सिन पुरस्कृत गरिने घोषणासमेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.