|

सिन्धुपाल्चोक : चार वर्षभित्र सम्पन्न गर्नेगरी सुरु गरिएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको ६ वर्षमा जम्मा ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। आयोजनाको व्यवस्थापकीय कमजोरीका कारण आयोजनाले गति लिन नसकेको हो।

सिन्धुपाल्चोकको हालसम्मकै बढी (१ सय २० मेगावाट) को यो आयोजना विद्युत् प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा सुरु भएको थियो। देशलाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरिरहेका घिसिङको अग्रसरतामा यो आयोजना सुरु भए पनि अहिले उनी प्राधिकरणका प्रमुख हुँदा पनि यो आयोजनालाई समयमा सम्पन्न गर्न चासो नदिएको स्थानीयको आरोप छ।

सन् २०१३ मा निर्माण सुरु भई सन् २०१७ को जुनमा आयोजना सक्ने योजनाका साथ काम सुरु भए पनि भूकम्प, नाकाबन्दी र भोटेकोसी बाढीका कारण आयोजनाको म्याद थपिएर सन् २०१९ को जुनसम्म पुगेको छ। चिलिमे मोडलमा निर्माण हुन लागेको यो आयोजनामा स्थानीयलाई समेत सेयर दिएर निर्माण गर्न लागे पनि आयोजनाकै कारण ढिलाइ भएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा बताउँछन्।

साबिकको मार्मिङ गाविसको चाकु दोभानबाट भोटेकोसी र चाकु नदीको पानी सुरुङभित्र हालेर ७ दशमलव २ किलोमिटर सुरुङबाट गातीको जम्बुमा पावरहाउस निर्माण हुनेछ। ब्याजसहित साढे १४ अर्बको लगानीमा निर्माण हुने मध्यभोटेकोसी आयोजनालाई चाहिने आवश्यक रकम कर्मचारी सञ्चयकोषसहित नेपाल विद्युत् प्राधिकरण स्थानीयस्तरका हाइड्रोपावरलगायतबाट जम्मा गरिने योजना छ।

आयोजनाको मुख्य सुरुङ निर्माणको जिम्मा चिनियाँ ग्वाङसी हाइड्रो इलेक्ट्रोनिक कम्पनीले पाएको छ। झण्डै ८ अर्बमा चिनियाँ कम्पनीले सुरुङ र पावरहाउस निर्माणको ठेक्का पाएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.