|

बलिउडमा श्रीदेवीलाई रूपकी रानीको उपमा दिइएको छ।  उनको रूपको चर्चा जति हुने गर्छ त्यत्तिकै चर्चा हुन्छ उनको अभिनय र नृत्यको। उनी अाफ्नाे समयकी अत्यन्त 'ग्ल्यामरस' र अभिनय क्षमताकी धनी अभिनेत्री मानिन्छन्।

श्रीदेवीको जन्म १३ अगस्त १९६३ मा दक्षिण भारतको तमिलनाडुमा भएको होे। उनले फिल्मी यात्रा चार वर्षको उमेरमै सुरु गरिन्। उनले तमिल फिल्म ‘कन्धन करुणई’ मा बाल कलाकारका रूपमा फिल्मी 'करियर' सुरु गरेकी हुन्।

बालकलाकारको रूपमा उनले  तेलुगु, मलयालम, कन्नड फिल्ममा समेत काम गरिन्। सन् १९७५ मा हिन्दी फिल्म जुलीमा पनि बाल कलाकारका रूपमा काम गरेकी थिइन्। दक्षिण भारतीय फिल्ममा काम गरेपछि उनले सन् १९७९ मा बलिउडमा हिरोइनका रूपमा 'डेब्यु' गरिन्, फिल्म ‘सोलहवां साल’ बाट। यो फिल्ममा उनी 'लिड' रोलमा थिइन्।

रूप, अभिनय क्षमता र नृत्यका कारण बलिउडमा सन् ८० लाई उनको दशक पनि भनिएको छ। हिम्मतवाला, तोहफा, मिस्टर इण्डिया, नगिना, सदमा, चाँदनी, खुदा गवाह, लम्हे र चालबाजजस्ता थुप्रै सुपरहिट फिल्म दिइन्। 

उनले बलिउडका महानायक अमिताभ बच्चनदेखि शाहरुख खानसम्मसँग काम गरिन्। उनको जोडीचाहिँ जीतेन्द्रसँग जमेको थियो। जीतेन्द्र र श्रीदेवीले हिम्मतवाला, तोहफ़ा, जस्टिस चौधरी र मवालीजस्ता सुपरहिट फिल्ममा सँगै काम गरे। अनिल कपुरसँग पनि उनले थुप्रै फिल्ममा काम गरिन्। कपुरसँगको मिस्टर इण्डिया, लाडला, जुदाइजस्ता फिल्म चर्चित रहे। राजेश खन्ना, ऋषि कपुर, विनोद खन्ना, ज्याकी श्राफ, सञ्जय दत्त,  कमल हासन र मिथुन चक्रवर्तीलगायत थुप्रै अभिनेतासँग 'अनस्क्रिन रोमान्स' गरिन्। 

मिथुनसँगको अफेयर  रोमान्स 'अनस्क्रिन' मात्र सिमित भएन। भनिन्छ उनीहरूले गुपचुप विवाह पनि गरेका थिए। पछि सन् १९९६ फिल्म निर्माता बोनी कपुर (अभिनेता अनिल कपुर र सञ्जय कपुरका दाइ) सँग बिहे गरिन्। साल १९९७ मा अनिल कपुरसँगको फिल्म जुदाइपछि उनी केही वर्ष हराइन्। सन् २०१२ मा इंग्लिस–विंग्लिसमार्फत पुनरागमन गरिन्। १५ वर्षपछि उनले अभिनय गरेको यो फिल्म पनि सुपरहिट भयो।

साल २०१७ मा फिल्म 'मॉम' रिलीज़ भएको थियो। यो उनको ३००औं फिल्म थियो भने अभिनययात्राको ५० वर्ष।  फिल्मीक्षेत्रमा दिएको योगदानको कदर गर्दै भारत सरकारले उनलाई पद्मश्री सम्मान  दिएको थियो। बलिउडको प्रसिद्ध फिल्मफेयर अवार्ड विभिन्न विधामा गरी ६ पटक पाएकी छिन्।

२००८ देखि २०१३ सम्म उनी मोडेलका रूपमा र्‍याम्पमा समेत उत्रिन्। 

रूप र अभिनय क्षमताका कारण चर्चित श्रीदेवीको निधन भएको छ। भतीजाको विवाह समारोहमा सहभागी हुन दुबई पुगेकी श्रीदेवीको हृदयाघातका कारण शनिवार राति निधन भएको परिवारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको निधनका कारण बलिउड अहिले शोकमा डुबेको छ।

उनका पति बोनी कपुर र दुई छोरी खुशी र जाह्न्वी छन्।

–एजेन्सीको सहयोगमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.