यसरी चल्दै छ संरक्षणको नयाँ रणनीति

|

चितवन : सन् २०११ र २०१३ मा चितवन निकुञ्जले शून्य चोरी शिकार वर्ष मनायो। त्यसपछि २०७१ बैशाख १९ सम्म पनि शून्य चोरी शिकार वर्ष मनाउने क्रम चल्यो

२०७१ बैशाख १९ गते पश्चिम चितवनको ध्रुव नजिकै गैँडालाई तस्करले मारेर खाग लगेपछि शून्य चोरी शिकार वर्ष मनाउने क्रम भंग भयो। त्यसपछि फेरि सुरु भयो, शून्य चोरी शिकार वर्षको ‘काउन्ट डाउन।’ २०७२ र २०७३ सालमा भव्य रूपमा संरक्षणकर्मीहरूलाई सम्मानसहित शून्य चोरी शिकार वर्ष मनाइयो पनि। 

त्यसपछि निकुञ्जले सुरक्षा व्यवस्था कडा पार्दा त्यसको परिणाम १ हजार ७१ दिनसम्म शून्य चोरी शिकार वर्ष मनाउन सफल भएको थियो। तर दुर्भाग्य, फेरि २०७३ चैत २५ गते तस्करले जगतपुरस्थित बेलहट्ठा हरियाली सामुदायिक वनमा अर्काे गैँडा मारेर खाग लगे। यस्ता प्रतिनिधि घटना हुन्। चैत र बैशाखमा निकुञ्जमा ठूला घटना भए।

जबजब जाडो केही कम हुन्छ र गर्मीको सुरुवात हुन्छ, यस्तै बेलामा तस्करहरू सल्बलाउने गरेको निकुञ्जको निष्कर्ष छ। निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याल भन्छन्, ‘अब सम्वेदनशील समय हो, चनाखो हुनुपर्छ।’

मथिका २ घटना चैत र बैशाखमा भएका छन्। अभिलेख हेर्दा फागुनदेखि बैशाखसम्म यस्ता घटना बढी हुने गरेका छन्। त्यसैले अहिलेदेखि नै निकुञ्ज सुरक्षामा नयाँ रणनीतिका साथ अघि बढेको छ। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको पनि छ। 

अहिलेको मौसममा चोरी तस्करीका गतिविधि बढ्नसक्ने भएकाले त्यसलाई ध्यानमा राखेर थप सुरक्षा प्रबन्ध गरी चुस्त पारिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए। उनले अहिले गाउँगाउँमा २–३ महिनाका लागि नयाँ सुराकीहरू थपेर सूचना संकलनको कामसमेत सुरु भएको बताए। 

तस्करहरूलाई पनि तस्करी गर्न खुला वातावरण चाहिन्छ। वर्षातको झाडीमा नजिकै भए पनि गैँडा देखिँदैन। अन्य जनावर पनि सजिलै लुक्न सक्छन्। त्यसैले तस्करलाई गोली हान्न पनि गाह्रो हुने उनी बताउँछन्। वन्यजन्तु विज्ञका अनुसार त्यसैले तस्करले उपयुक्त वातावरण र मानवीय चाप नभएको र गस्ती नहुने क्षेत्र खोजेका हुन्छन्। 

अहिलेको मौसममा जंगलको टाढासम्म वन्यजन्तुहरू देखिन्छन्। यसबेला झाडीहरू सुकेकाले पनि चोरी सिकारीहरू सल्बलाउन सक्ने विज्ञहरू बताउँछन्। वन्यजन्तुहरू शीतल खोज्दै पानीको नजिक आउने क्रम सुरु भएकाले यसलाई ध्यानमा राखेर सुरक्षा चुस्त पारी गस्ती बढाइएको ढकालको भनाइ छ। विगतको अभिलेखअनुसार पनि यो मौसममा जंगली जनावरविरुद्ध तस्करहरू सल्बलाएका देखिन्छ।

‘खाली ठाउँ, संवेदनशील क्षेत्र पहिचान गरी अस्थायी क्याम्पहरू समेत निर्माण गरेका छौँ, साविकको गस्तीसहित थप गरेर सुरक्षामा कडाइ गरिएको छ’, ढकालले भने, ‘सुरक्षामा कुनै कसर बाँकी राखेका छैनौँ।’

विगतको अभिलेखअनुसार फागुन, चैत, बैशाख महिनामा गैँडाको चोरी सिकार भएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालसमेत दाबी गर्छन्। अहिले यहाँ स्थानीयसँग मिलेर बटुक टदल गणका सेना र निकुञ्ज कर्मचारीको संयुक्त गस्ती, स्मार्ट पेट्रोलिङ, रियल टाइम पट्रोल, अपरेसन महाहन्टलगायतका प्रविधिको प्रयोग गरेर संरक्षणमा कडाइ गरिएको छ। 

खाली ठाउँ पहिचान गरेर अस्थायी मचान निर्माण गरी रात्रि गस्ती तथा समुदायसँग मिलेर सूचना संकलनलाई समेत प्रभावकारी बनाइएको निकुञ्जले जनाएको छ। 
नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा दुर्लभ एकसिंगे गैँडा र १२० वटा पाटे बाघ रहेको अभिलेख छ। यी वन्यजन्तु नेपालकै गहना भएकाले यसलाई जोगाई राख्ने चुनौती सधैँ हुने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउँछन्। उनले चुस्त सुरक्षा व्यवस्थाका कारण चितवन निकुञ्जको संरक्षण प्रभावकारी भएको दाबीसमेत गरे।

गैँडा, बाघसहित हात्ती, भालु, गौरीगाई, चित्तल, चराचुरुङ्गीलगायतको महत्त्वपूर्ण वासस्थान यहाँ छ। यी जनावरहरू हेर्न पर्यटक विदेशबाट चितवन आउँछन्। उनीहरूलाई जिप सफारी, हात्ती सफारी, डुंगा सफारी गराएर वन्यजन्तु अवलोकन गराइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.