|

काठमाडौं : गौरव पहारीलाई सानै उमेरदेखि अभिनयको भुत थियो तर उनले आफ्नो परिवारसँग यसबारे भन्ने हिम्मत गरेका थिएनन्। कलाकारितामा उनका बुबा टीका पहारी आफैँमा स्थापित नाम थियो तर बुबाको एउटा भनाइले गर्दा उनले स्नातकसम्मको पढाइ नसकी केही कतैको सोच राखेनन्। स्कुल पढ्दै गर्दा गौरव र उनका दुई भाइलाई बुबाले भनेका थिए, 'तिमीहरूले स्नातकसम्मको पढाइचाहिँ पूरा गर्नै पर्छ अनि आफ्नो रुचि के छ, त्यही गर।'

बाल्यकालमा निकै भद्र स्वभावका थिए उनी। जन्मथलो काठमाडौं भए पनि उनी आफ्नो मावली गाउँ  नेपालगंजमा हुर्किए गौरव। उनले पूर्व प्राथमिक तहसम्मको पढाइ पनि त्यहीँ पूरा गरे अनि काठमाडौं आए।

काठमाडौं आएर गुह्येश्वरी स्कुलमा भर्ना भएका उनले कक्षा ३ सम्म त्यहाँ पढे। घरमा अन्य दुई भाइ थिए। बुबा एकदमै व्यस्त कलाकार भएकाले उनीहरूलाई हेरेर बस्न भ्याउँदैनथे। आमालाई तीन छोरा सम्हाल्न गाह्रो भयो। त्यसैले उनले कक्षा ४ देखि लिटिल एन्जल स्कुलमा हेस्टेल बसेर अध्ययन सुरु गरे। होस्टेलमा नै बसेर विद्यालय तहको पढाइ पूरा गरे।

उनले एसएलसीपछि 'ए लेभल' पढ्न थाले। ए लेभल पढ्दै गर्दा उनी ड्रग्सको कुलतमा फसे। ए लेभलको अध्ययनमा सफल हुन सकेनन्। भन्छन्, 'ए लेभल पढ्दै गर्दा म अलि कुलतमा फसेको थिएँ। त्यही भएर मैले ए लेभल कटाउन सकिनँ।' परिवारलाई पनि उनी कुलतमा लागेको थाहा भइसकेको थियो।

एक दिन गौरवलाई उनका बुबाले इन्डियाको केरला लिएर गए। गौरवलाई त्यहाँ किन गएको थाहा थिएन। त्यहाँ पुगेपछि बुबाले भने, 'अब तँ यहीँ प्लस टु पढ्छस्। मैले एड्मिसन गरिदिइसकेँ।' गौरव एकछिन ट्वाल्ल परे।

तर, उक्त कुरा सत्य नै थियो। गौरव केरलामै होस्टेल बसेर पुन: प्लस टुको अध्यनमा लागे। केरलाबाट ‌प्लस टु पूरा गरेका उनी स्नातक अध्ययनका लागि पुणे पुगे। उनले पुणेबाट नै स्नातकसम्मको पढाइ पूरा गरे।

बुबाले दिएको वचन पूरा गरेर स्नातकसम्मको पढाइ सकिएको केही दिनमा नै बुबालाई फोन गरे, 'बुबा, मैले तपाईंले भनेजस्तै स्नातकसम्मको पढाइ सकेँ। अब मलाई एक्टिङ गर्न मन छ।'

गौरवको कुरालाई उनको बुबाले काटेनन्। बुबा आफैँ पुणे पुगेर गौरवलाई बम्बईमा अभिनय सिक्नका लागि लिएर गए। गौरव उनका बुबाको साथीले खोलेको 'किशोर नमित कपुर एक्टिङ ल्याब'मा अभिनयका लागि भर्ना भए, जहाँ बलिउडका टप एक्टरहरू अभिनय सिक्न आउँथे। गौरव भन्छन्, 'बलिउडका कलाकार ऋतिक रोशन, रणवीर सिंह जस्ता कलाकारले पनि त्यहीँ अभिनय सिक्थे।'

अभिनय कक्षा जम्मा तीन महिनाको थियो। उनले त्यो अध्ययन पूरा गरे। अध्ययन पूरा गरेपछि उनले काम खोज्न थाले। 'झन्डै चार वर्ष त मैले काम खोज्दा र अडिसन दिँदा नै बिताए', सम्झिन्छन्, 'अडिसन दियो तर अन्त्यमा नेपाली भनेपछि अलिक नाक खुम्च्याइहाल्थे।' उनले त्यहाँ बस्दा केही सिरियल, लघुफिल्म र विज्ञापनमा भने काम गरे। अडिसन दिँदादिँदा बल्ल उनले भोजपुरी फिल्ममा काम पाए। एउटा भोजपुरी फिल्ममा अभिनयसमेत गरे। 

बम्बईमै रहँदा एक दिन उनलाई गणेशदेव पण्डेको फोन आयो। उनीहरूले केही समय बम्बईमा सँगै संघर्ष गरेका थिए। गणेशदेवले फोन गरेर भने, 'गौरव, मैले फिल्म 'मञ्जरी' बनाउन लागेको। एउटा यस्तो यस्तो क्यारेक्टर छ, त्यो तिमीले गरिदिनुपर्‍यो।' गौरवले बुबालाई फोन गरेर भने, 'मलाई यस्तो फिल्मको अफर आएको छ। म नेपाल आऊँ?' बुबाको उत्तर सजिलो थियो, 'तँलाई फिल्म मनपरेको भए आएर गर न। म के भन्छु र !' उनी नेपाल आए।

अग्लो कद, लामो कपाल, हृष्टपुष्ट ज्यान। गौरव नेपाल आउँदा यस्तै थिए। फिल्मलाई चाहिएको क्यारेक्टरभन्दा ठीक उल्टा। फिल्मका लागि बाइक मर्मत गर्ने फोहोरी केटा चाहिएको थियो। दुब्ले, काले, घुम्रिएको कपाल वा यस्तैयस्तै।

फिल्ममा क्रियटिभ हेडका रूपमा रहेका साइफडेन कादर महमतले गौरवलाई ठाडे अस्वीकार गरे। भने, 'कहाँ हिरो खेल्ने जस्तो मान्छेलाई हाम्रो फिल्मको त्यो फोहोरी पात्र सुहाउँछ? हुँदैन। गौरवले यो फिल्म गर्न सक्दैन।' गणेशदेव गौरवले गर्छ भन्ने पक्षमा थिए भने साइफडेन गौरवले गर्न सक्दैन भन्ने पक्षमा। उनीहरू बीचमै विवाद थियो।

उक्त कुराले गौरवलाई खल्लो बनायो। सोचे, 'अब मैले आफूलाई चेन्ज गर्नै पर्छ।' उनले खाना खान पनि छोडे। भन्छन्, 'आफूलाई दुब्लो बनाउन कति दिनसम्म खाना नै खाइनँ।' उनी आफूलाई कालो बनाउन घाममा हिँडिरहन्थे। पार्लर गएर कपाल पनि जबर्जस्त घुम्री पारे।  

उनी फिल्मकै लागि भनेर विभिन्न ग्यारेजमा पुगेका थिए। त्यहाँ पुगेर बाइक मर्मत गरेको हेरेर बस्थे। भन्छन्, 'पछि सुटिङ गर्दा केही भए पनि नेचुरल देखियोस् भनेर म ग्यारेज ग्यारेज पुगेर काम गरेको हेरेर बस्थेँ।'   उक्त कुराले गौरवलाई खल्लो बनायो। सोचे, 'अब मैले आफूलाई चेन्ज गर्नै पर्छ।' उनले खाना खान पनि छोडे। भन्छन्, 'आफूलाई दुब्लो बनाउन कति दिनसम्म खाना नै खाइनँ।' उनी आफूलाई कालो बनाउन घाममा हिँडिरहन्थे। पार्लर गएर कपाल पनि जबर्जस्त घुम्री पारे।  

उनको मिहिनेत देखेर साइफडेन पनि प्रभावित भए र उनलाई फिल्ममा काम गराउने पक्का भयो। उनले फिल्म 'मञ्जरी'मा काम गरे। मञ्जरी व्यावसायिक रूपमा सफल हुन सकेन तर उनको अभिनयलाई सबैले मनपराए। गौरव भन्छन्, 'सबैले दिनुभएको प्रतिक्रियाबाट निकै खुसी थिएँ म।'  

मञ्जरीको सुटिङ नसकिँदै गौरव फिल्म 'होस्टेल'मा अनुबन्धित थिए। होस्टेल फिल्म सफल भयो। उनको अभिनयलाई पनि धेरैले प्रशंसा गरे। उनले होस्टेलमा एक सोझो पढनदास केटाको भूमिका निर्वाह गरेका थिए।

लगत्तै उनले फिल्म 'उत्सव'मा काम गरे। निकै चुलबुले पात्रको रूपमा प्रस्तुत भए गौरव। तर उत्सव व्यावसायिक रूपमा असफल भइदियो। उनले फिल्म 'अर्धकट्टी' र 'रातो घर'मा काम गरे। उक्त फिल्मले पनि उनलाई केही सफलता दिलाएनन्।

फिल्मबाट सफलता पाउन नसेकेका उनलाई एउटा गीतले रातारात हिट गराइदियो। केही समय पहिला सार्वजनिक भएको 'साइँली'बाट उनले नसोचेको सफलता पाए। भन्छन्, 'साइली गीतबाट यत्तिको सफलता पाउने सोचेको पनि थिइनँ। साइँली त मेरो करियरमा टर्निङ प्वाइन्ट बनेर आएको छ।' अहिले गौरवलाई जो कोहीले पनि 'साइँला'को नामबाट चिन्छन्।

साइँली गीत कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको थियो। उक्त गीतमा हेमन्त रानाले स्वर दिएका छन्। हेमन्त र गौरव पहिल्यैदेखिका साथी थिए। एक दिन उनीहरू एक कामसहित कालीप्रसादकहाँ पुगेका थिए। त्यहाँ साइँली गीतको म्युजिक कम्पोज भइरहेको थियो। उक्त गीत सुनेर हेमन्तले भने, 'गीत त राम्रो रहेछ है!' कालीप्रसादले जवाफ फर्काए, 'तिमी गाऊ न त यो गीत।' हेमन्तले हुन्छ भने, गीत गाए।

गीत रेकर्डिङ सकियो। अब भिडियो बनाउने जिम्मा पनि हेमन्त र गौरवले लिए। कलाकार खोजी भयो। हेमन्तले केटाको रोलमा गौरव आफैँलाई अभिनय गर्न सुझाए। गौरवले स्वीकारे। अब केटी को? दुवैको रोजाइ रह्यो, मेनुका प्रधान। भिडियो रिलिज भएसँगै गौरव र मेनुकाको जोडीलाई पनि खुबै रुचाइयो। अहिले दुवैलाई साइँला र साइँलीको उपमाबाट चिनिन्छ।

अहिले गौरव र हेमन्त फिल्म निर्माणमा लागेका छन्। उनीहरू फिल्म 'साइँली' बनाउँदै छन्। गौरव र हेमन्तको जीएच इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने 'साइँली'लाई रामबाबु गुरुङले निर्देशन गर्दै छन्। फिल्ममा पनि गौरव र मेनुकाकै मुख्य भूमिका रहनेछ। फिल्म साइँली गीतकै थिममा रहेर निर्माण हुने गौरवले बताए।

अहिले फिल्मको छायांकन सुरु भइसकेको छैन। 'साइँलीको खुट्टामा चोट भएकाले सुटिङमा गएका छैनौँ', गौरव भन्छन्, 'उनको खुट्टा ठीक भएसँगै हाम्रो काम सुरु हुनेछ।' गीत यत्तिका हिट भएकाले पनि राम्रो फिल्म बनाउनै पर्ने बोझ भएको गौरव बताउँछन्। 'दर्शकले निकै ठूलो आशा राख्नुभएको छ। त्यो आशा मर्न नदिने गरी काम गर्नेछौँ', गौरव भन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.