|

पाल्पा : रम्भा गाउँपालिकाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरूले गाउँपालिकामा बैँक नहुँदा समस्या भएको गुनासो गरेका छन्। स्थानीयले बैँक स्थापनाका लागि गाउँपालिकासँग मागसमेत गरेका छन्। 

उनीहरूले गाउँपालिकामा बेरोजगारी समस्या, गाउँपालिकाको भवन, कर्मचारी व्यवस्थापन, सुशासन, पारदर्शीता, विद्युत व्यवस्थापन, खानेपानी, सिँचाइ, सडक निर्माण, कृषि, पशुसेवा जस्ता क्षेत्रमा प्रभावकारी काम नभएको गुनसो राखे। 

रम्भा–२, फोक्सिङ्गकोटका एवत सारूले जनातालाई अझै पनि सार्वजनिक सेवाका बारेमा थाहा नभएको भन्दै सुसूचित हुने कार्यक्रम सञ्चालन गर्न सुझाव दिए। ‘जनतालाई सिंहदरबारको अधिकार गाउँमा आयो भन्ने गरिन्छ’ ,उनले भने,‘तर त्यसको अनुभूति आफुहरूलाई मिलेको छैन।’

रम्भा–३, पिपलडाँडाका गोपीकृष्ण बस्यालले कृषिमा आधुनिकिकरण र यान्त्रिकरण गर्नुपर्ने बताए। बाँदरले किसानलाई हैरान पार्ने गरेको गुनासो सुनाए। रम्भा–४ का नरबहादुर सारूले सर्वे बिना खनिएका सडकको स्तरोन्नती हुन नसक्दा हिउँदमा धुलो र वर्षामा हिलोले यात्रामा जोखम मोल्नु परेको दुखेसो गरे।

स्थानीय तुलसिराम राना भन्छन्, ‘विद्युत विकासका लागि छुट्टाइएको रकमबाट अहिलेसम्म विद्युत पोल खरीद गर्न सकिएको छैन। गाउँपालिकामा जनप्रतिनिधि आएको ६ महिना केही काम हुन सकेको छैन।’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले २ सय ५१ योजना कार्यान्वयन चरणमा रहेको भन्दै १ करोड १८ लाख ८ हजार रुपैयाँ खर्च भैसकेको बताए।

सार्वजनिक सुनुवाईमा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले आफूहरूले रातदिन नभनेर काममा खटिइरहेको बताए। अहिले विकास र सेवाप्रवाहलाई व्यवस्थित गर्न कर्मचारी व्यवस्थापन, योजना कार्यान्वयन, समिति गठनहरू भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.