|

काठमाडौं : लेखक तथा पत्रकार यज्ञशको पुस्तक ‘भुइयाँ’लाई अनामनगरस्थित मण्डला थिएटरमा आइतबार आयोजित समारोहमा २ लाख २ हजार २ रुपैयाँको पहिचान पुरस्कार कवि एवम् संस्कृतिकर्मी वैरागी काइँलाले प्रदान गरे।

प्रमुख अतिथिसमेत रहेका काइँलाले नेपालमा अनेक प्रकारका विभेद छन् भन्ने कुरा यज्ञशको भुइयाँ पढेपछि थाहा हुने बताए। काइँलाले भने, ‘नेपालमा पहिचानको मुद्दा वामपन्थीहरूले २०४५/०४६ पछि प्राथमिकतामा राखे तर पछिल्लो समय उनीहरूले यस मुद्दालाई छाडिसकेका छन्।’

यज्ञशले नेपालमा पहिचान भन्नेबित्तिकै जनजातिको मात्रै हो भन्ने गलत बुझाइ रहेको बताए। पहिचान जनजातिको मात्रै नभएको धारणा राख्दै उनले भने, 'हिजो जो जसरी पछि पर्‍यो, पारियो अब पनि त्यही ठाउँमा रहनु भन्नु गणतन्त्रकै उपहास हो। आगामी दिनमा यस्तो स्थितिको अन्त्य गरिनुपर्छ।’

लेखक खगेन्द्र संग्रौलाले नेपालमा हस्तक्षेप लेख्न बाँकी रहेको बताए। ‘यहाँ रोदन, हाँसो, आक्रोशका कुरा धेरै लेखिए, अब लेख्न बाँकी हस्तक्षेप हो’, उनले भने, ‘फिक्सन लेखिरहेका यज्ञशको भुइयाँ ननफिक्सन अवतार हो।’

आख्यानकार राजन मुकारुङले भुइयाँ पढेर कहिल्यै नसकियोस् भन्ने महसुस भएको बताए। यज्ञशको व्यक्तित्वमाथि नाट्यकर्मी अनुप बरालले बोलेका थिए। उनको संगत र प्रतिभाले यज्ञशलाई यहाँ ल्याइपुर्‍याएको बरालले बताए।

कार्यक्रममा पहिचान पुरस्कारका संस्थापक नरेश काङमाङ राईले पहिचान कुनै वाद नभएर एउटा आन्दोलन र अभियान मात्रै भएको बताए। राईले भने, 'पहिचान एकअर्काले स्वीकार गर्ने विषय हो।’ उनले लेखकहरूको श्रमको मूल्यांकन गरिनुपर्नेमा जोड दिए। उनले हरेक ५ वर्षमा पुरस्कार राशि वृद्धि गरिने पनि जानकारी गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.