|

उदयपुर : भँगेराले विद्युत सर्ट गराउँदा नेपाली सेनाको ब्यारेकमा आगलागी भएको छ। आइतबार उदयपुरको त्रियुगा नगरपालिका- ३ झुल्केमा रहेको नेपाली सेनाको श्री १८ नम्बर बाहिनी अड्डासहित सर्वसाधरणको घरमा आगलागीले क्षति पुर्‍याएको हो। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले ब्यारेकले दिएको जानकारीअनुसार १० लाख रुपैयाँ बराबरको क्षति भएको छ। ‘विद्युत्को तारमा भँगेरो बस्दा आगालागी भएको रहेछ’, एसपी भट्टले भने, ‘सेनाको सबैभन्दा बढी क्षति भएको छ, मैले कसरी भन्नु? सर्वसाधरणको घरमा समेत क्षति पुगेको छ।’

बाहिनीका उपसेनानी दीपबहादुर क्षेत्रीले विद्युत् सर्टले बाहिनी अड्डामा पनि ठूलो क्षति भएको बताए। क्षेत्रीका अनुसार बाहिनीमा कम्प्युटर, प्रिन्टर, पंखा, हिटर, मोटर, टेलिभिजनलगायत थुप्रै विद्युतीय उपकरण जलेका छन्। क्षति भएको बाहिनीका ड्युटी अधिकृत उपसेनानी दीपबहादुर क्षत्रीले बताए। 

स्थानीय पत्रकार यदुप्रसाद ढकालका अनुसार भुल्केवासीका अधिकांश घरको मिटर बक्समा आगालागी भएको छ। ‘टेलिभिजन, कम्प्युटर, पानी तान्ने मोटरलगायत अन्य विद्युतीय सामग्री सबै जलेर नष्ट भएका छन्’, उनले भने, ‘घरमा सबै मान्छे हुने बेला भएकाले आगोले धेरै क्षति गर्न पाएन, नियन्त्रणमा लिन सफल भयौँ।’ एक्कासि चट्याङ परेजस्तै आवाज आएर घरभरि धुँवा भरिएको र मिटर बक्स जलेर आगो फैलन लागेको देखेर हतार हतार आफूहरू सुरक्षित भएको ढकालले बताए।

त्रियुगा नगरपालिका- ३ की वडा सदस्य हरिमाया शाही ठकुरीले भुल्के र मोतीगडामा गरी २०० भन्दा बढी घरमा क्षति पुगेको बताइन्। ‘अधिकांश घरका मिटर बक्स, टिभी र कम्प्युटर जलेका छन्’, ठकुरीले भनिन्, ‘गाउँभरिका विद्युतीय सामान धमाधम जल्न थालेपछि विद्युतको लाइन काट्न सफल भयौँ।’

११  हजार भोल्टको तारमा चरा बसेर विद्युत तार सर्ट भएको हो। 

प्राधिकरण वितरण केन्द्र उदयपुरले भँगेराले विद्युत सर्ट गराउँदा तार चुँडिन गई भुल्केमा आगलागी भएको वितरण केन्द्र प्रमुख रामअयोध्या यादवले बताए। ‘सेनाको बाहिनीमा ठूलो क्षति भएको छ’, उनले भने, ‘स्थानीयको घरको संख्या विवरण आउन बाँकी छ।’ 

जलजले–गाइघाट खण्डको ११ हजार किलो भोल्टको विद्युत प्रसारण लाइनबाट भुल्केतर्फ लगिएको सबलाइनमा चराले विद्युत तारमा बसेर दुवै तार जोडिँदा सर्ट भएको विद्युत प्राधिकरण उदयपुरको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.