|

काठमाडौं : नेपाल चिकित्सक संघले एक साताभित्र माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ।

केही दिनअघि डोटीमा कार्यरत चिकित्सक डा. जितेन्द्र सि‌ंहमाथि आक्रमण गर्नेलाई कारवाही नभए आफूहरू मातहतका सबै चिकित्सकलाई आन्दोलनमा उतार्ने चेतावनी संघले दिएको हो। संघले आइतबार प्रत्रकार सम्मेलन गर्दै डा. सिंहमाथि आक्रमण गर्नेलाई कारवाही नगरे देशभरका स्वास्थ्य संस्था बन्द गर्ने चेतावनी दिएको हो।

डा. सिंहमाथि आक्रमण गर्नेलाई कारवाही गर्नुको सट्टा आनावश्यक कानुनी झन्झट आक्रमणकारीले दिन लाग्दा पनि प्रसाशनले कारवाही गर्न ढिलो गरेको भन्दै आक्रमणकारीलाई कारवाही नगरे आन्दोलनमा उत्रिने सघंका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए।

उनले भने, 'उपचारको बेलामा कार्यस्थलमै चिकित्सकलाई आक्रमण गर्नेलाई कारवाही गर्नुका सट्टा झन कानुनी झन्झट दिलाउन खोजिएको छ। त्यसैले एक साताभित्र आक्रमणकारीलाई कारवाही नगरे हामी आन्दोलनमा उत्रिन्छौँ।'

सघंले चिकित्सकमाथि आक्रमण गर्नेलाई विना धरौटी जेल चलान गर्नुपर्ने माग पनि अघि सारेको छ। माग पूरा नभए देशभर विरोधका कार्यक्रम घोषणा गर्ने संघले बताएको छ।

के भएको थियो घटना?

जिल्ला अस्पताल डोटीमा भिडियो एक्सरे गर्ने चिकित्सक डा. गिरिस अवस्थी परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरका लागि गाउँतिर भएका बेला केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रका डा. जितेन्द्रलाई जिल्ला अस्पतालमा १ महिनाका लागि काजमा बोलाइएको थियो। आइतबार उनी बिरामीहरूको भिडियो एक्सरे गरिरहेका बेला १ महिलासँग भनाभन भयो। ती महिलासँग भनाभन भएपछि डा. जितेन्द्रले ती महिलाको भिडियो एक्सरे नगरी बाहिर पठाए।

डाक्टरले आफूमाथि अभद्र व्यवहार गरेको र भिडियो एक्सरे पनि नगरिदिएको भन्दै ती महिलाले आफन्तलाई खबर गरिन्। महिलाका आफन्त जिल्ला अस्पताल पुगेर डाक्टरलाई किन एक्सरे नगरेको भन्दै प्रश्न गरे। यस क्रममा डाक्टर र ती व्यक्तिको चर्को भनाभन भयो। डाक्टरले ती व्यक्तिको गालामा हिर्काए। त्यसपछि सुरु भयो, लडाइँ।

ती व्यक्तिले आफन्तहरूलाई बोलाएपछि अस्पतालका मेडिकल सुपरिटेण्डेण्टको कार्यकक्षमा बसिरहेका डाक्टर सिंहलाई कुटपिट गरे। तत्काल प्रहरीलाई खबर भएपछि प्रहरीले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.