|

चितवन : प्रदेश ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको बताएका छन्।

सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको उनले बताए। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले त्यो ठाउँको बारेमा सार्वजनिक गर्न भने नहुने बताए।

उनले भने, “अहिले नै सार्वजनिक गर्‍यो भने समस्या हुन्छ।” प्रदेशको केन्द्र पर्नेगरी राजधानी सार्ने तयारी गरिएको ठाउँमा सात लाख रोपनी जग्गा एकै ठाउँमा रहेको र तीन लाख रोपनी वन रहेको पनि उनले बताए। ५० हजार रोपनी खोलाले खाएको जग्गा पनि रहेको भन्दै उनले भने, “त्यहाँ १४-१५ करोड लिटर पानी भण्डारण गर्न मिल्छ जसबाट १० लाख जनतालाई खानेपानी पुग्छ।”

३० वटा महत्वपूर्ण पूर्वाधार बनाउने बताउँदै उनले प्रदेशको जुन ठाउँबाट पनि चार घण्टाभित्र राजधानी पुगिने बताए। जग्गा व्यवसायीले जग्गा किनेर अस्तव्यस्त पार्ने भएकाले तत्काल सो ठाउँ सार्वजनिक गर्न नमिल्ने भन्दै उनले आउँदो ४ महिनाभित्र राजधानी सर्ने बताए।

उनले भने, “निर्णय भएपछि तत्काल सार्छौँ। पूर्वाधार मन्त्री म आफैँ भएकाले मैले तयारी गरिरहेको छु। आन्तरिक काम भइरहेको छ।” मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सांसद भवन कहाँ राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि उनले बताए। राजधानी सरेसँगै प्रदेशको नामाकरण गरिने पनि मन्त्री स्थापितले बताए।

आउँदो ५ वर्षमा पूर्वाधारका क्षेत्रमा जनताले महशुस गर्न सक्ने गरी आमूल परिवर्तन हुने पनि उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.