|

  • देवानन्द न्यौपाने- 

कैलाली : धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफको कब्जामा परेको छ। आइतबार फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा पूर्वाञ्चलमाथि ७ विकेटको जीत निकाल्दै एपीएफले राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो। 

विभागीय टोली एपीएफ र पूर्वाञ्चलबीच भएको प्रतियोगिताको फाइनलमा जीत दर्ता गर्दै एपीएफले ५ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको पूर्वाञ्चलले भने २ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ।

टस हारेर व्याटिङको निम्तो पाएको पूर्वाञ्चलले फाइनलमा आशा गरेअनुसारको व्याटिङ गर्न सकेन। २० ओभरमा ५ विकेट गुमाउँदै पूर्वाञ्चलले ६० रन मात्र बनायो। पूर्वाञ्चलका लागि काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउन सफल भए। यसबाहेक अन्य टिमले दोहोरो अंक पनि छुन सकेनन्। 

एपीएफका बलरहरूले कसिलो बलिङ गर्दै पूर्वाञ्चलका व्याट्सम्यानहरूलाई खुलेर व्याटिङ गर्न दिएका थिएनन्। एपीएफका लागि रेखा रावल, करुणा भण्डारी, ऋतु कनौजिया, अञ्जलि चन्द र सीता रानामगरले समान १/१ विकेट लिए। ६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपीएफले १६.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो। एपीएफका लागि ज्योति पाण्डेयले २२ र सरिता मगरले अविजित रहँदै १५ रन बनाए। पूर्वाञ्चलकी शान्ति चौधरी र संगीता राईले समान १/१ विकेट लिए। प्लेयर अफ द फाइनल एपीएफकी ज्योति पाण्डेय भइन्।

जीतपछि प्रतिक्रिया दिँदै एपीएफकी कप्तान बिनु बुढामगरले खेलाडीहरूको अलराउण्ड प्रदर्शनले उपाधि जितेको बताउँदै महिला क्रिकेटको उत्थानका लागि सबै क्षेत्र सक्रिय बन्नुपर्ने बताइन्। यस्तै, प्रतियोगिताको वुमन अफ द सिरिज हुँदै पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीले १० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेकी छन्। प्रतियोगितामा उत्कृष्ट बलर पनि क्षेत्री नै भएकी छन् भने उत्कृष्ट व्याट्सम्यान पूर्वाञ्चलकै काजोल श्रेष्ठ भइन्।

उदीयमान खेलाडी सुदूरपश्चिमकी लक्ष्मी साउद भइन् भने फेयर प्लेयरको पुरस्कार पनि सुदूरपश्चिमले जितेको छ। उत्कृष्ट सबै खेलाडीलाई समान ५/५ हजार रुपैयाँसहित पुरस्कार वितरण गरिएको छ। 

प्रदेश ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहकाे अध्यक्षता रहेकाे थियाे। मन्त्री सोडारीले प्रदेश ७ मा खेलकुदको विकासका लागि आफू सक्रिय रहने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.