|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले वन्यजन्तु तस्करी, प्राकृतिक स्रोत साधनको दोहन तथा वन फडानी कार्यलाई तत्काल रोकिने प्रतिवद्धता व्यक्त गरेका छन्।

आइतबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मुख्यमन्त्री राउतले वन क्षेत्रको फडानी तत्काल रोक्न पहल गरिने प्रतिवद्धता व्यक्त गरेका हुन्। 

उनले अब चाँडै नै कानुन बनाएर प्राकृतिक स्रोत र साधनको नियमन गर्ने र दोहन गर्ने तथा वन फडानीमा संग्लनहरूलाई कानुनको दायरामा ल्याउने दाबीसमेत गरे। मुख्यमन्त्री राउतले नीतिगत रूपमा हुँदै आएको भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीलाई नियन्त्रण गर्न प्रादेशिक सरकारले कुनै कसर बाँकी नराख्नेसमेत स्पष्ट पारे। 

प्रदेश २ का मुख्यमन्त्री राउतका यस्ता छन् ११ प्रतिवद्धता 

१. यो प्रदेशभित्र पूर्ण रूपमा सुशासन कायम गरिनेछ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइनेछ। 

२. नीतिगत रूपमा गरिने भ्रष्टाचार स्वीकार्य हुनेछैन। प्रदेशको दैनिक प्रशासनमा ढिलासुस्ती सहज गरिनेछैन। 

३. प्रदेश २ का सेवाग्राही जनताका काम सरकारी कर्मचारीहरूले २४ घण्टाभित्र पूरा गर्नुपर्नेछ। 

४. सेवाग्राहीको हितलाई ध्यानमा राखेर प्रदेशमा मुख्यमन्त्रीको कार्यालय मातहत हेल्लो प्रदेश सरकारको स्थापना गरिनेछ। निःशुल्क टेलिफोन सेवा पछि सार्वजनिक गरिनेछ। 

५. प्रदेशकf कर्मचारीले ‘राष्ट्रसेवक कर्मचारी भनेको जनताको सेवक हो’ भन्ने सन्देश जनतामा प्रवाहित गर्नेछन्। 

६. इन्टरनेट, ईमेल तथा विद्युतीय माध्यमबाट समेत जनताले आफ्ना गुनासाहरू सिधै मुख्यमन्त्री कार्यालयमा टिपाउन सक्नेछन्। प्राप्त भएका जनताका गुनासाहरूमा तत्काल कारवाही गरिनेछ। गुनासा उपर के कारवाही भयो भन्ने जानकारी उजुरीकर्तालाई दिइनेछ। 

७. जनतासँग मुख्यमन्त्रीमा भने जनतासँग प्रत्यक्ष सम्वाद हुने खालका कार्यक्रमका लागि सञ्चार माध्यमको प्रयोग गरिनेछ। जनतासँग मुख्यमन्त्री कार्यक्रमसमेत मुख्यमन्त्रीको सुशासन कार्यक्रमकै एक पाटो हुनेछ। जस्तै : जनताले आफ्ना गुनासाहरू मुख्यमन्त्रीसँग राख्न पाउनेछन्। 

८. प्रदेशका विभिन्न ठाउँ, जस्तै : गाउँपालिका, नगरपालिका, वडा तथा टोललगायत विभिन्न क्षेत्रमा मुख्यमन्त्री जनताको घरदैलोमा गएर प्रदेश सरकारप्रति रहेका गुनासाहरू सुन्नेछन्। ती गुनासाहरूको सम्बोधन गर्ने प्रयास गरिनेछ। 

९. यस प्रदेशका जनतालाई दैनिक उपभोग्य वस्तु र सेवामा हुने कालोबजारी वा महँगी नियन्त्रणका लागि प्रभावकारी रूपमा बजार भाउको अनुगमन गर्दै कालोबजारी नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ। 

१०. अनियन्त्रित र अवैध रूपमा भइरहेको मदिरा बेचबिखन तथा सेवनलाई आवश्यक नीति बनाई नियन्त्रण गरिनेछ।

११. वन्यजन्तु तस्करी, प्राकृतिक स्रोत साधनको दोहन तथा वन फडानी कार्यलाई तत्काल रोकिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.