|

  • धर्मराज जि.सी.

सुर्खेत : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतका स्थानीय तहका जनप्रतिनिधिहरूको राजीनामा माग गरेको छ। नेकपाले जनप्रतिनिधिहरूलाई राजीनामा नदिए भौतिक कार्वाही गर्ने भन्दै पत्र पठाएको छ।

नेकपाले सुर्खेतका स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूलाई तत्काल राजीनामा दिन चेतावनी दिएको हो। पत्रमा आफुहरू जनयुद्धबाट आएको र अहिले पनि संघर्षमै रहेको उल्लेख गर्दै राजीनामासहित कार्यशैली सुधार नगरे कडा कारवाही दिने चेतावनी दिएको छ।

जनपरिषद् नेपाल, भेरी कर्णाली स्वायत्त प्रदेश, जिल्ला जनपरिषद्को कार्यालय सुर्खेतको लेटरप्याडमा पठाएको पत्रमा विस्तृत शान्ति सम्झौता उल्लंघन गरेको, प्रचण्ड, बाबुराम भट्टराईले आत्मसर्मपण गरेको, नेपाली कांग्रेस र नेकपा एमालेले गम्भीर प्रकारको धोका दिएको उल्लेख गरिएको छ।

सो पत्रमा स्वायत्त प्रदेश घोषणा गरिएको समेत उल्लेख गरिएको छ। जनप्रतिनिधिहरूलाई संसदीय चुनावमा सहभागी नहुन अभियानमा साथ दिन अनुरोध गरेपनि अपिललाई उल्लंघन गरेकोमा आपत्ति जनाउँदै राजीनामा नदिए कडा कारवाही गर्ने चेतावनी दिएइएको छ।

राजीनामाको मागसहित कारवाही गर्ने चेतावानीको भएको पत्र आएपछि जनप्रतिनिधिहरू त्रसित भएका छन्। वीरेन्द्रनगर–६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेलले त्यस्तो व्यहोराको पत्र  आएपछि तनावमा परेको बताए। ‘घरमा बिहानै दुईजना माक्स लगाएर आएका व्यक्तिले चिट्ठी छोडेर गएका रहेछन्,’ उनले भने, ‘पत्रमा राजीनामा माग गरिएको छ। हामीले केही गल्ती गरे जस्तो लाग्दैन। जनताको काम नै गरेर बसेका छौं।’ 

वीरेन्द्रनगर–४ का वडा अध्यक्ष नीलकण्ठ खनालले उम्मेदवार हुँदा पनि त्यस्ता कुरा आएकाले सुधार गर्नुपर्ने कुराहरू राजनीतिक स्तरवाटै समाधान गर्नुपर्ने बताउँछन्।

वडा नं. ३ का वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्रीले माओवादी सशस्त्र द्वन्द्वकालकै शैलीमा धम्कीपूर्ण पत्र आउँदा काम गर्नमा असहज भएको बताए। यद्यपि, डराएर काम नै नगर्ने भन्ने चाहिँ नरहेको बताउँछन्। उनले भने, ‘मनोबल कमजोर तुल्याउने काम गरेको छ। यस्ता गतिविधि तत्काल रोक्न पहल गर्नुपपर्छ।’
वीरेन्द्रनगर नगरपालिकाका प्रुखर र उपप्रखुले भने यसबारेमा बोल्न चाहेनन्। उनीहरूले वडा अध्यक्षहरूसँगको छलफलपछि मात्र आफ्नो धारणा दिने बताएका छन्।

जनप्रतिनिधिहरूलाई धम्कीपूर्ण पत्र आएसँगै प्रदेश ६ प्रहरीले पत्र पठाउने व्यक्तिहरूको खोजी कार्य गरिरहेको बताएको छ। प्रदेश प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले कानुन विपरीत कार्य गर्ने जो कोहीलाई उन्मुक्ति नदिने बताए।

उनले प्रहरीको संयन्त्र परिचालन गरिएको र त्यस्ता समुहलाई यथाशीघ्र कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता दिएका छन्। प्रहरीले सक्रियता बढाएकाले जनप्रतिनिधिहरूलाई त्रसित नहुन पनि आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.