आजै बयान नसकिए हिरासतमा राखिने

|
फोटो : दिनेश ठकुल्ला

  • देवानन्द न्यौपाने

कैलाली : टीकापुर घटनाका अभियुक्त तथा प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशमलाल चौधरीले सोमबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका छन्।

चौधरीको सोमबार नै बयान लिने कार्यक्रम रहेको जिल्ला अदालत कैलालीले जानकारी दिएको छ। सोमबार नै बयान लिन सम्भव नभए चौधरीलाई हिरासतमा राखिने जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए।

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी प्रहरीको फरार सूचीमा रहेका थिए। सोमाबार बिहान ११ बजे अदालतमा उपस्थित भएका चौधरीबारे सुरुमा जिल्ला प्रहरी कार्यालयलाई भने केही जानकारी थिएन। जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखामा कार्यरत हवल्दार लालबहादुर कार्कीले उक्त कार्यालयलाई रेशम चौधरीले आत्मसमर्पण गरेकोबारे थाहा नभएको बताए।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दराज रिजालका अनुसार चौधरी बिहान ११ बजे जिल्ला अदालत पुगेका थिए। रिजालले चौधरीको अदालतमा उपस्थितिलाई आत्मसमर्पण भन्न नमिल्ने बताए। उनी अदालतको सम्मानमा त्यहाँ उपस्थित भएको र अब जिल्ला अदालतले चौधरीसँग बयान लिई आवश्यक कारबाहीअगाडि बढाउने आफूले विश्वास गरेको रिजालले बताए।

चौधरी मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधीसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टीका तर्फबाट वारेसनामामार्फत उम्मेदवारी दिएका दिएका चौधरी  प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

कैलाली क्षेत्र नम्बर १ थारू बाहुल्य क्षेत्र हो। प्रहरीको फरार सूचीमा भए पनि चौधरीले लुकीछिपी चुनावको प्रचारप्रसार गरेका थिए।

चौधरीले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झण्डै २१ हजारको फराकिलो अन्तरले पराजित गरेका थिए। चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र प्राप्त गरेकी थिइन्।

चौधरी र शाहबीचको मतअन्तर २० हजार ९३५ रहेको थियो। कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपाने तेस्रो स्थानमा रहेकी थिइन्। उनको मत ११ हजार २०३ थियो।

चुनाव जितेपछि रेशमलाल चौधरीले जनताले सिंहदरबारको ढोका आफ्नो लागि खोलिदिएको प्रतिकृया दिँदै आएका थिए। उनले प्रहरीलाई पक्रेर देखाउन चुनौतीसमेत दिँदै आएका थिए। प्रहरी आफूहरू कानुनको पालना गर्ने भएकाले अभियुक्तलाई खोजेर पनि गिरफ्तार गरी चौधरीलाई पक्रिएर अदालत बुझाउने बताउँदै आएको थियो।

रेशमलाल चौधरी कैलाली टीकापुरका स्थानीय हुन्। टीकापुर घटनाका मुख्य आरोपी उनी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठजना सुरक्षाकर्मी मारिएका थिए। यो घटनाका मुख्य योजनाकारका रूपमा प्रहरीले रेशमलाई लिएको छ। फरार अवस्थामा रहेका रेशमले आन्दोलनका क्रममा आफ्नो व्यवसायमा पुगेको क्षतिको १ करोड ५० लाखभन्दा बढी क्षतिपूर्ति लिएका थिए।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गर्दै टीकापुरको चारैतिरबाट हजारौँको संख्यामा आएका थरुहट, मधेसीदल पक्षधरहरूबीच भएको झडपमा वरिष्ठ प्रहरी उपरीक्षक (एस.एस.पी.)सहित आठजना मारिएका थिए।

उक्त घटनामा मारिएकाहरूमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, नेपाल प्रहरीका निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द थिए।

त्यसैगरी, शसस्त्र प्रहरी हवल्दार रामबिहारी चौधरी, ललित साउद मारिएका थिए भने नेत्रबहादुर साउदका दुईवर्षीय छोरा टेकबहादुर साउद पनि मारिएका थिए।

टीकापुर काण्डमा संलग्न भएको अभियोगमा २८ जनाविरूदध् प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.