|

बुटवल :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा टेनिस खेलाडी हुन्। उनी गतवर्ष बेलायतमा भएको नर्थ वेष्ट इन्डोर सिनियर टेनिस टुनामेन्टमा दोस्रो भएका थिए। सन् २०१२ मा भारतको नयाँ दिल्लीमा अल इण्डिया सिनियर टेनिस एशोसिएसनले गरेको सिनियर टेनिस प्रतियोगितामा सिंगल्स र डबल्स दुवैमा उनले उपाधि जितेका थिए। त्यसअघि २०१० मा पनि उनले सोही प्रतियोगिताको उपाधि जितेका थिए।   

बुटवलमा भएको खुला लन टेनिस प्रतियोगितामा भने उनी उपविजेता भएका छन्। उनलाई नेपालका राष्ट्रिय प्रशिक्षक तथा पूर्व च्याम्पियन कृष्णराज घलेले हराए। थापा–घलेबीच भएको ५५ वर्ष माथिको फाइनल खेलमा ६–१, १–६ र १०–७ कोे सेटमा थापा पराजित भए। 

उत्साह थप्न श्रीमतीसहित उत्साहित हुँदै मैदान प्रवेश गरेका थापालाई हौसला दिन उनकी श्रीमती प्याराफिटमा थिइन्। कमल थापाले केही कमजोरी गरिहाले उनले ‘कमअन कमअन’ भनेर हौसला दिइरहेकी थिइन्। उनले राम्रो गरे ताली बजाउँथिन्। 

थापाले भने–हारेपनि मजा आयो

प्रतियोगितामा उपबिजेता भएका थापाले केही बेर आयोजकसँग भलाकुसारी गरे। आयोजक बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले थापालाई प्रतियोगितामा सहभागी भएकोमा धन्यवाद दिए। थापाले जवाफ फर्र्काए, 'तपाइँले यो म्याच आयोजना गरेर राम्रो गर्नुभो। अर्कोपटक प्रदेश स्तरको राम्रो खेल बनाउने गरी काम गर्नुस्, मैले के सहयोग गर्नुपर्छ गरौला।’

धेरै समयपछि प्रतियोगितामा भाग लिएका थापाले भने, ‘निर्वाचनको प्रचार, सरकारका काम, अरु धेरै कुराले खेल्नै पाएको थिइन, बुटवलमा आएर यसरी खेल्न पाइयो। एकदमै खुशी लाग्यो।’  थापाले खेलमा हारजित हुने भन्दै आफूले भरपूर रमाइलो गरेको बताए। ‘मैले उपाधि जित्नैका लागि पनि खेलेको थिइन, रमाइलोका लागि र साथीहरूलाई उत्साह दिन खेलेको थिएँ, पसिना पुछ्दै उनले भने। 

थापाले बुटवल आउँदा सँधै टेनिस खेल्ने गरी र्‍याकेट लिएर आउने बताए। ‘यस्तो राम्रो गरिरहनु भएको रहेछ, अब म बुटवल आउँदा र्‍याकेट लिएरै आउँछु', उनले भने, 'मलाई रमाइलो लाग्छ।’ 

८६ खेलाडी सहभागी

बुटवल लन टेनिस क्लबले आयोजना गरेको प्रथम पुरुष तथा महिला खुला लन टेनिस प्रतियोगितामा विभिन्न उमेर समूहका ८६ खेलाडी सहभागी छन्। 

फागुन १५ गतेसम्म चल्ने प्रतियोगितामा पुरुष र महिला एकलका बिजेताले ५५ हजार, भेट्रानमा ३५ वर्ष उमेर समूहले ४५ हजार, ४५ वर्षमाथि र ५५ वर्षमाथिकाले ३५/३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै फन डबल्सका बिजेताले नगद ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

फोटो:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.