|

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गर्दै गृहमन्त्री भए। 

पार्टीभित्रको लामो समयपछिको रस्साकस्सीपछि अन्तत: उनी गृहमन्त्रीमा बाजी मार्न सफल भए। पार्टीमा वर्षमान पुन र जनार्दन शर्माले पनि गृहमन्त्रीमा आकांक्षा देखाउँदै आएका थिए तर उनीहरूलाई पाखा लगाएर थापा गृहमन्त्री बन्न सफल भए। 

उनी पार्टीभित्र पनि चर्चित तथा प्रभावशाली नेताका रूपमा परिचय बनाउन सफल नेताका रूपमा चिनिन्छन्। उनी पहिलो पटक मन्त्रीका रूपमा सिंहदरबार छिरेका भने होइनन्। गणतन्त्र स्थापनापछिको पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको पहिलो सरकारमै उनी रक्षामन्त्री थिए। तर, त्यसबेला उनलाई मन्त्रालय खासै फापेन। 

छापामार कमान्डरदेखि गृहमन्त्रीसम्म 

०५२ ताका माओवादीले जनयुद्ध सुरु गर्न लाग्दा जनयुद्धको योजनाकारमध्येका एक हुन् थापा। उनी त्यसबेलाको राज्य सत्ताविरुद्ध आन्दोलन गर्नुपर्छ भन्दै जनयुद्धको पूर्व तयारी मानिएको ‘सिज’ अभियानका अभियन्ता पनि हुन्। त्यसबेला धेरै युद्धमा उनले सुरक्षाकर्मीविरुद्धको आक्रमणको योजना बनाए र कतिपयमा कार्यान्वयन पनि गरे। तर अब उनी तिनै सुरक्षाकर्मीको संरक्षकको जिम्मेवारीमा पुगेका छन्।

उनले देशका विभिन्न ठाउँमा अभियान चलाउँदा पैदल हिँडेरै अभियान चलाएका थिए। उनले जनयुद्धमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। विभिन्न ब्युरोको कमान्‍ड गर्दै जनमुक्ति सेनालाई तालिमसमेत दिएका थिए थापाले। जनयुद्ध थालनी गर्दा मनाङबाट बन्दुक ल्याउनेदेखि जनमुक्ति सेनालाई प्रशिक्षण दिने नेता पनि हुन् उनी। सैन्य कौशलका सबैभन्दा प्रख्यात व्यक्तित्व पनि मानिन्छन् थापा। १० वर्षे जनयुद्धसँगै वृहत शान्ति सम्‍झौताका लागि पनि उनको महत्त्वपूर्ण भूमिका छ। उनी तत्कालीन विद्रोही माओवादी र सरकारबीचको वार्ताका समयमा पनि वार्ता टोलीका एक सदस्य थिए। उनी सरकारसँग दोस्रो पटकको वार्तामा २०६० सालमा पहिलो पटक सार्वजनिक भएका थिए। 

२०३७ देखि कम्युनिस्ट राजनीतिमा लागेका थापाले २०६३ सालसम्म भूमिगत जीवन बिताए। उनले राजनीतिमा लागेको सुरुवाती समय अर्थात् ०३८ देखि ०३९ सम्म जेल जीवन बिताए। गुल्मीको बडागाउँमा जन्मिएका थापा इन्जिनियरिङ पढ्न तत्कालीन सोभियत संघ गएका थिए। तर, नेपालमा क्रान्तिको आवश्यकता रहेको भन्दै आन्दोलन गर्न नेपाल फर्किएका थिए। 

पहिलो कार्यकालमा असफल

माओवादी शान्ति प्रक्रियामा आएपछि बादलले ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचन जिते। निर्वाचनपछि बनेको गणतन्त्र नेपालको पहिलो सरकारको मन्त्री पनि बने बादल। तर, त्यसबेला उनको कार्यकाल त्यति सफल हुन सकेन। 

रक्षामन्त्रालयको जिम्मेवारी सम्हालेका बादल त्यसबेला असफल बने। त्यही कारण यस पटक गृहमन्त्री पाउन पनि उनले निकै कसरत गर्नुपर्‍यो। माओवादीभित्र सुरक्षामा बादल अघिल्लो कार्यकालमा नै चुकेको भन्दै गृह दिन नहुने धारणासमेत आएको थियो। 

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा कटुवाल प्रकरणका कारण सरकारबाट राजीनामा दिनुपरेको थियो। तत्कालीन प्रधानसेनापति रुक्‍मा‌ंगत कटुवाललाई पदबाट हटाउँदा प्रचण्ड नेतृत्वको सरकारले राजीनामा दिनुपरेको थियो। तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले 'एक्सन' लिएर कटुवाललाई पुनर्वहाली गरेपछि माओवादीले सरकार छाडेको थियो। तर, उनको सिंहदरबारको दोस्रो इनिङ कतिको सफल हुन्छ भन्नेचाहिँ हेर्न बाँकी छ।  

पार्टीमा पुनः प्रवेश

प्रचण्ड नेतृत्वले अब क्रान्ति गर्न नसक्ने भन्दै मोहन वैद्य किरणले २०६९ असार ५ मा पार्टी फुटाएर नयाँ पार्टी निर्माण गरे। किरणको नेतृत्वमा बादल पनि सँगै गए। नयाँ ढंगबाट क्रान्ति गर्न भन्दै प्रचण्ड नेतृत्वको माओवादी परित्याग गर्दै वैद्य नेतृत्वको तत्कालीन नेकपा-माओवादीमा गएका बादल अहिले माओवादी केन्द्रका वरिष्ठ नेता छन्।

डा. बाबुराम भट्टराई नेतृत्वको सरकार गठन हुँदा उनले आफूलाई गृहमन्त्री नबनाएको भन्दै पार्टी फुटाएको आरोप पनि सहनुपरेको थियो। पार्टी फुटाउनुअघि बादल प्रचण्ड निकट मानिएका थिए। तर, पार्टी फुटाएर पनि उनी प्रचण्डको संगतभन्दा बाहिर बस्न सकेनन्। तत्कालीन एनेकपा माओवादी परित्याग गरेको ४ वर्षपछि ०७३ बैशाखमा बादल क्रान्तिकारी माओवादीबाट बहुमत केन्द्रीय सदस्यसहित माओवादी केन्द्रमै फर्किए। 

पार्टीमा वरिष्ठ नेताको रूपमा फर्किएका बादल पार्टीको हरेक निर्णायक तहमा रहन सफल भए। पार्टीमा फर्किएपछि भएको प्रतिनिधिसभा निर्वाचनमा उनले प्रतिस्पर्धा नै गरेनन्। उनले चितवन २ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने मनस्थिति बनाएका थिए तर एमालेसँगको भाडबन्डामा त्यहाँ माओवादीले नपाउने भएपछि उनले निर्वाचनमा प्रतिस्पर्धा गरेनन्। 

राष्ट्रियसभा निर्वाचनमा प्रदेश ३ बाट निर्वाचनमा प्रतिस्पर्धा गरेका बादलको राष्ट्रियसभा अध्यक्षमा चर्चा थियो। तर एमालेसँको भागबन्डामा राष्ट्रियसभा अध्यक्ष माओवादीको भागमा नपरेपछि उनी माओवादीबाट नेतृत्व गर्दै सरकारमा गएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.