विचार

मोबाइल र इन्टरनेट सुविधा मात्र होइन, सावधान हुन पनि जरुरी
SHARES

फागुन १५, २०७४

    ‘मोबाइल केटाकेटीले बिगारे भने केही हुन्न तर मोबाइलले केटाकेटी बिगार्‍यो भने सर्वस्व हुन्छ।’

    कति गहिरो संवेदनशील कुरा छ यो। हुन पनि हो, मोबाइल बिग्रियो भने त बनाउन सकिएला, नबन्ने गरी बिग्रिएको रहेछ भने पनि पैसा भए नयाँ किनेर पनि ल्याउँला तर मोबाइलका कारण वा भनौँ इन्टरनेटका कारण केटाकेटी बिग्रिए भने अभिभावकका लागि त्योभन्दा ठूलो पीडा के पो हुनेछ र? स्वयं त्यो बालकको भविष्य पनि अन्धकारमय हुनपुग्छ। 

    विज्ञानले संसारमा धेरै प्रगति गरेको छ। संसारलाई मान्छेको मुट्ठीभित्र पुर्‍याएर छोडेको छ। हत्केलाभन्दा सानो मोबाइलबाट मान्छेले एक मिनेटभित्र विश्व देख्न र सुन्न सक्छ। तर विज्ञानको यो सकारात्मक पक्षका साथसाथै यसले हाम्रो समाजमा नकारात्मक पक्षलाई पनि अजिंगरको अगाडि परेको खरायोको अवस्थामा पुर्‍याउँदै लगेको छ।

    इन्टरनेटको सुविधा पाउनु धेरै कुराले राम्रो हो तर यही इन्टरनेटको सही प्रयोग गर्न नजान्नाले भनौँ या के त हुन्छ हेरौँ भन्ने कौतूहलले धेरै घरमा हाँसो होइन, आँसु भित्रिएको छ। इन्टरनेटको प्रयोगबाट नकारात्मक पीडा भोग्न बाध्य भएका देखिन्छन् स्कुले विद्यार्थी भाइबहिनीहरू। 

    रुविना (नाम परिवर्तन) कक्षा नौमा पढिरहेकी छन् मेरी साथीकी छोरी। साथीहरूको लहैलहैमा लागेर उनले पनि फेसबुक एकाउन्ट खोलेकी रहिछन्। स्कुलमा कसका धेरै फेसबुक साथी हुने भन्ने विषयले उनीहरूको साथी बनाउने होड नै चल्थ्यो रे! विस्तारै च्याटिङ अनि भिडियो च्याटिङ हुन थाल्यो। किशोरावस्थाको विपरीत लिंगीप्रतिको आकर्षणले रुविनालाई पनि छाडेन। उनको फेसबुकबाटै धेरै केटा साथीहरूसित कुराकानी हुन थाल्यो।  धेरैबाट प्रेम प्रस्तावहरू आए। तीमध्ये एक जना प्रेमी पनि भयो। उनीहरूले एकअर्कालाई चुम्मा (किस) गरेको फोटो लिएका रहेछन्। 

    पछि सँगै पढ्ने अर्को केटासित कुरा गरेको निहुँमा उनीहरूबीच झगडा भयो। केटोले रुविनालाई त त्याग्ने भयो नै, साथसाथै त्यो फोटो सबैलाई पठाइदिन्छु भनेर धम्क्याउन थालेछ। पछि बदलामा पैसाको माग हुन थाल्यो। नौ कक्षामा पढ्ने केटीसित कति नै पैसा हुन्छ र? अन्त्यमा घरमै चोरी गर्न थालिछन्। 

    एक दिन मेरी साथीले छोरीले चोरेको थाहा पाएपछि केरकार गर्दा रुविनाले आमालाई यथार्थ बताइन्। साथी मेरो सल्लाह लिन आइपुगिन्। हामी प्रहरीको शरणमा पुग्यौँ। स्कुले किशोरलाई प्रहरीले हप्काएपछि त्यो फोटो केटाको मोबाइलबाट मेटाउन हामी सफल भयौँ। 

    यो त थियो, सानो घटना आफ्नै अगाडि घटेको। तर छिमेकी मुलुक भारतमा इन्टरनेटको एउटा गेमका कारण १७ जनाले आत्महत्या गरेको खबर मिडियामै आयो। १७ भागमा रहेको त्यस खेलको पहिलो चरणमा ब्लेडले औँलाबाट रगत आउने गरी काट्नुपर्ने र १७औँ चरणमा आत्महत्या नै गर्नुपर्ने रहेछ। रसियन वेवसाइटबाट आएको उक्त इन्टरनेट गेमले मान्छे नै मारिसकेपछि भारत सरकारले त्यो वेवसाइट नै नखुल्ने गरी बन्द गरिदियो। इन्टरनेटका कारण धेरै केटाकेटी अहिले आएर पीडित र पीडक बन्न पुगेका घटनाहरू दिनानुदिन बढिरहेका छन्। यस्तो कहालीलाग्दो अवस्था हाम्रो समाजमा किन बढिरहेछ? यसतर्फ सबैले ध्यान दिन जरुरी भइसकेको छ।

    नेपाल प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार किशोर किशोरीमा विद्युतीय अपराध वा साइबर क्राइमका घटना धेरै भइरहेका छन्। नयाँ कुरा जान्ने, सिक्ने चाहना, साथी धेरै बनाउने चाहनाका लागि पुलको काम गरिरहेको छ सामाजिक संजालले। विष्टका अनुसार १८ वर्षभन्दा मुनिका केटाकेटीले आफ्नै विवरणमा फेसबुक आइडी खोल्न पाउँदैनन् तर हाम्रो मुलुकमा यसमा रोकतोक नै देखिँदैन। केटाकेटीको व्यक्तिगत विवरण फेसबुकमा हुन्छन्। अपराधी त्यो विवरण हेरेर त्यस बच्चाको नजिक आउन थाल्छ। पहिले ऊ च्याटमार्फत आउँछ। विस्तारै आफ्नो विश्वासमा लिएपछि सानालाई स्कुलबाहिर वा घरबाहिर भेटेर खानेकुरा उपहारहरू दिने र किशोरीहरूलाई प्रेम जालमा फसाउने गर्दछन्। 

    किशोरीको स्वभावअनुसार उसलाई भिडियो च्याटमार्फत नंग्याउने र पछि भेटेर शारीरिक सम्पर्क गर्ने गर्छन् भने कसैलाई अपहरण गरेर बलात्कार गर्दछन्। नांगो तस्वीर लिएर पैसा असुल्ने घटना धेरै छन् भन्छन् प्रहरी निरीक्षक विष्ट। 

    आफ्ना छोराछोरी कता केके गरिरहेका छन् भन्ने कुरा आमाबाबुलाई जति अरूलाई कहाँ थाहा होला र? छोराछोरीलाई मोबाइल दिन सक्ने हैसियत राख्ने हामी आमाबाबुले उक्त मोबाइलमा कुनकुन वेवसाइट बन्द गर्ने भन्ने कुरा पनि जान्न जरुरी छ।

    एकातिर आफ्नै साथीबाट होस् या वयष्क व्यक्तिको गलत स्वार्थका निमित्त हाम्रा नानीहरू इन्टरनेटकै माध्यमबाट प्रयोग भइरहेका छन् भने अर्को पक्ष छ– बढी इन्टरनेटको प्रयोगले  मानिसमा स्मरण शक्ति पनि क्षीण हुँदै जान्छ। भारतको स्टकहोमको केटीएच रोयल इन्ष्टिच्युट अफ टेक्नोलोजीका शोधकर्ताहरूका अनुसार जब मानिस खाली बसेको हुन्छ, त्यस बेला दिमागले जानेका कुरालाई सुरक्षित गर्ने काम गर्दछ। त्यसैले सामाजिक संजालमा झुन्डिनेको दिमाग खाली नै हुन पाउँदैन।

    त्यसको सिधा असर उनीहरूको स्मरण शक्तिमा हुन जान्छ। सोधकर्ता इरिक फ्राँसेनका अनुसार सामाजिक संजाल बढी प्रयोग गर्नेको मस्तिष्कमा जानकारीको बोझ बढी पर्न जान्छ र दिमागले कम जानकारीलाई मात्र धेरै दिनसम्म राख्न सक्छ। यसको सिधा असर केटाकेटीको पढाइमा र ठूला मानिसको दैनिक जीवनमा पर्न जान्छ। 

    केटाकेटीलाई धेरै इन्टरनेटको नजिक बस्न दियो भने उनीहरूको मस्तिष्कले काम गर्नै पनि छोड्न सक्छ र केटाकेटी चेतनाशून्य पनि हुन सक्छन्। 

    एकातिर समयमा पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्नाको कारणले र विश्वसित प्रतिस्पर्धा गर्न सक्ने हाम्रा नानीहरूलाई बनाउन ईबुकको अवधारणा ल्याउनुपर्छ भनेर हामी नै भनिरहेका छौँ भने हामी नै सामाजिक संजालमार्फत आफ्ना छोराछोरी गलत बाटोमा गएका, समस्यामा परेका, अपहरणमा परेका घटनालाई नजिकबाट हेरेर टाउको समाएर बसेका पनि छौँ। 

    यो इन्टरनेटको सकारात्मक पक्षसँगै पौँठेजोरी खेल्दै आएका नकारात्मक समस्याहरूबाट हाम्रा नानीहरूलाई कसरी पर राख्ने त? बालबालिकाको बाल्यकाललाई कसरी पूर्ण सुरक्षित बनाउने भन्ने कुरा झनझन चुनौती बन्दै आइरहेको छ। 

    इन्टरनेटले हाम्रो समाजमा कस्तो विकृति भित्र्याइरहेको छ र यो कति विकराल भएको छ भन्ने कुराको हामीसित कुनै तथ्यांक छैन। १० वर्ष अगाडि सिविन नामक गैरसरकारी संस्थाले गरेको एक अध्ययनलाई नै टेको बनाएर हामी अहिलेसम्म हिँडिरहेका छौँ। यो १० वर्षमा समाज कहाँबाट कहाँ पुगिसक्यो। 

    साइबर क्राइमका बारेमा कुनै ठोस कानुन पनि छैन। विद्युतीय कारोबार ऐन, २०६३ परिच्छेद ९ को दफा ४४ मा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना उल्लेख गरिएको छ। यही फितलो कारवाहीका कारण साइबर क्राइम घट्नुको साटो मौलाउँदै गएको त होइन? एउटी किशोरीको नांगो तस्वीरले गर्दा बेइज्जत हुने डरले ऊ आत्महत्या गर्न पुग्छे। जीवनलाई समाप्त नपारे पनि हल्लाखल्ला भएर सामाजिक बहिस्कारमा पो पर्ने हुँ कि भन्ने डरले ऊ सामाज र साथीभाइबाट टाढा, परिवारबाट टाढा हुँदै एउटा कोठाभित्र सीमित हुनपुग्छे। विस्तारै मानसिक रोगी नै हुन बेर लाग्दैन। 

    सरकारी पक्षबाट बालअधिकारसम्वन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको पनि तीन दशक हुन लाग्यो। बालबालिकासम्बन्धी राष्ट्रिय नीति, २०६९ समेत कार्यान्वयनमा आइसकेको छ। तर यसले इन्टरनेटमार्फत हुने यस्ता प्रकृतिका अपराधमा केही गर्न सकेको छैन भन्दा अतिसयोक्ति नहोला। नेपाल प्रहरीको अपराध महाशाखाले काम गरेको देखिन्छ तर कति पीडित प्रहरीसम्म पुग्छन् र? 

    इन्टरनेटबाट हुने फाइदाका साथसाथै यसको दुरूपयोगले कस्ताकस्ता समस्या निम्त्याउँछ भन्ने विषयलाई विद्यालयस्तरीय पाठ्यक्रममै राख्नुपर्ने आजको आवश्यकता भइसकेको छ। सरकारी निकायमा अनलाइन अपराध हेर्ने निकाय नै खडा गर्नुपर्ने देखिन्छ। बालबालिकाहरूसँग सम्बन्धित काम गर्ने गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि यस गहन विषयमा गम्भीरताका साथ काम गर्नुपर्ने देखिन्छ। 

    आफ्ना छोराछोरी कता केके गरिरहेका छन् भन्ने कुरा आमाबाबुलाई जति अरूलाई कहाँ थाहा होला र? छोराछोरीलाई मोबाइल दिन सक्ने हैसियत राख्ने हामी आमाबाबुले उक्त मोबाइलमा कुनकुन वेवसाइट बन्द गर्ने भन्ने कुरा पनि जान्न जरुरी छ।

    आफ्ना छोराछोरीले इन्टरनेटमार्फत केके हेर्छन् भन्ने कुरा जान्न बेलाबेलामा उनीहरूसित मोबाइल मागेर पनि हेर्ने गर्नुपर्छ। सबैभन्दा ठूलो कुरा त किशोरावस्थामा पुगेका आफ्ना छोराछोरीसित खुलेर कुरा गर्नुपर्छ भन्ने कुरा हरेक अभिभावकमा चेतना हुन जरुरी देखिन्छ।

सरिता अर्याल

सरिता अर्याल पत्रकारिता र अधिकारका क्षेत्रमा सक्रिय छन्!

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]