|

इलाम : पर्यटन व्यवसायको विकास हुँदै गरेको इलामका अधिकांश क्षेत्रमा व्यवस्थित पार्किङ स्थल छैनन्। पर्यटकीय क्षेत्रमा पार्किङ स्थलको अभाव भएपछि डाँडा, खाली स्थान र विद्यालय हाताभित्र सवारी साधन पार्किङ हुँदै आएका छन्।

पर्यटकहरूको आगमन बर्सेनि बढ्दै गए पनि सरकारी निकायको यसमा ध्यान गएको छैन। जिल्लाका कन्याम, फिक्कल, माइपोखरी, श्रीअन्तु, पशुपतिनगर, बिब्ल्याँटेलगायतका पर्यटकीय क्षेत्रमा पार्किङ स्थलको अभाव छ। यस क्षेत्रमा सवारी साधन अव्यवस्थित रुपमा राखिँदै आएका छन्।

पार्किङ स्थल नभएपछि सडक र विद्यालय परिसरमा सवारी साधन पार्किङ गर्दै आएको इलाम क्षेत्र १ (ख) का प्रदेशसभा सदस्य काजीमान कागतेले बताए। उनले भने, ‘दैनिक देश र विदेशबाट हजारौं पर्यटक आउँछन्। पर्यटक लिएर आउने सयौ‌ं सवारी साधन अव्यवस्थित रुपमा विद्यालय हाताभित्र पार्किङ हुँदै आएका छन्।’ 

कन्याममा दैनिक तीन हजारभन्दा बढी पर्यटक लिएर आउने १०० भन्दा बढी सवारी साधान सडक, विद्यालय परिसर र चियाबारीको खाली ठाउँमा पार्किङ गरिँदै आइएको छ। तर कन्याम मात्र  पार्किङ स्थल अभाव भएको पर्यटकीय क्षेत्र होइन। सूर्योदयको दृश्यावलोकनका लागि उत्कृष्ट स्थान मानिएको अन्तुको समस्या पनि उस्तै छ।

अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले अन्तुमा सवारी पार्किङ स्थलको अभाव रहेको बताए। उनले भने, ‘कम सवारी साधन आगमन हुँदा सडकलाई नै पार्किङ स्थलका रुपमा प्रयोग गरिएको छ। ५० वटाभन्दा बढी सवारी साधन आएमा समस्या हुन्छ।’ 

यस्तै, रामसार क्षेत्रमा सूचीकृत  माइपोखरी नै सडकमै पार्किङ गर्नुपर्ने अवस्था छ। अप्ठ्यारो बाटोमा जोखिम मोलेर सवारी साधन पुर्‍याउँदा पनि पार्किङस्थल नभएकाले सडकमै राख्नुपर्ने सवारी चालकहरूको गुनासो छ।

पूर्वी इलामको रोङ गाउँपालिका–३ मा रहेको पाथीभरा मन्दिर र हाँसपोखरी क्षेत्रमा दैनिक सयौंको संख्यामा पर्यटकहरू आउने गरेका छन्। यस क्षेत्रमा आउने पर्यटकहरूले हाँस पोखरीको किनारमा नै पार्किङ गर्ने हाँसपोखरी पुनः निर्माण उपसमितिका संयोजक योगेश चाम्लिङ बताउँछन्। उनी भन्छन्, ‘पोखरीको डिलमा केही स्थान खुल्ला रहेको छ। त्यहाँ सवारी साधन पार्किङ गर्दा असजिलो महसुस हुने गरेको गुनासो आउँछ।’

सदरमुकाम इलाम बजारमा दुईवटा पार्किङस्थल भए पनि ती स्थान यथेष्ठ नभएो पूर्वेली ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाले बताए। उनले भने, ‘दुईवटा बसपार्कमा १०० वटा मात्र साना–ठूला सवारी साधन अाँट्छन्। पर्यटक आउने सिजन असोजदेखि बैशाखसम्म पार्किङ स्थलमा स्थान अभाव हुन्छ।’

पार्किङको समस्या अाउनुमा सडक विस्तारमा स्थानीय निकायले योजना सञ्चालन गरेपनि पार्किङ स्थलबारे कसैले चासो नदिएको होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.