|

  • पेमा लामा

काभ्रेपलाञ्चोक : इँटाभट्टाबाट निस्किने धुवाँ र धुलोले नमोबुद्ध नगरपालिकाको मुख्य बजार भकुण्डेमा प्रदूषण बढ्दै गएको छ। नगरपालिकाको वडा नं. २, ३, ४ र ७ का बजार तथा गाउँमा इँटाभट्टाबाट निस्किने धुवाँ र धुलोले असर गर्न थालेको स्थानीय बासिन्दाको गुनासो छ।

स्थानीय बासिन्दा शंकर दंगालले इँटाभट्टामा सामान ओसारपसार गर्न आएका गाडीले उठाएका धुलो उड्ने र धुवाँले समस्या सिर्जना गरेको बताउँछन्। ‘गाडीले उडाएको धुलोले बसिनसक्नु बनाएको,’ उनले भने, ‘धुवाँ र धुलोको कारण राति १÷२ बजेतिर त घाँटी समातेर सास फेर्न समेत गाह्रो हुन्छ।’

धुलो र धुवाँका कारण स्वास्थ्यमा समस्या आएपछि स्थानीयले गाउँमा गाडी चल्न नदिने चेतावनी दिएका छन्। दंगालले भने, ‘चलाउने भए बिहान–बेलुका सडकमा पानी हालेर चलाउने, नभए हामी गाडी नै चलाउन दिँदैनौं भनेपछि अहिले चाहिँ गाडी चलाउन बन्द गरेका छन्।’

इँटाभट्टा सञ्चालनमा आएपछि मानिसको स्वास्थ्य मात्र होइन, बालीनाली पनि नसप्रिएको स्थानीय इन्द्र बिशंखेले बताए। भट्टा सञ्चालन भएसँगै सबै ‘डीप बोरिङ’ गरेर पानी तान्ने थालिएपछि पहिलादेखिकै सुख्खा क्षेत्र झन् सुख्खा बन्दै उनको भनाइ छ। भट्टाका कारण प्रदूषण बढ्दै गएकाले त्यसतर्फ नगरपालिकाले तत्काल रोकेर स्वच्छ वातावरण निर्माणमा जोड दिनुपर्ने स्थानीयवासीको माग छ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टंकप्रसाद तिमल्सिनाले नगरपालिकामा आफु आउनुभन्दा अगाडि नै उद्योग सञ्चालनको अनुमति लिइसकेको बताए। उनले यसलाई व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेकाले छिट्टै निर्णय लिने बताए। 

प्रमुख तिमिल्सिनाले नगरको मुख्य बजार क्षेत्र सानो भएको र त्यसमाथि इँटा उद्योगबाट निस्केको धुवाँ, धुलो र अन्य फोहरका कारण नगर कुरुप बन्दै गएको बताए। इँटा भट्टाबाट निस्कने प्रदूषणकै कारण दातृनिकायले सहयोगको पनि गुमेको उनको भनाइ छ। 

नगरपाकिलाका वातावरण शाखाका प्रमुख सन्तोष काफ्लेले नगरको वातावरण बिग्रिँदै गएकाले त्यसको छानविन गर्न वडा नं. २ का वडा अध्यक्ष सञ्जीव ढकालको संयोजकत्वमा वडा नं. ३, ४ र ७ का वडा अध्यक्ष, इलाका प्रहरी कार्यालय र संघ÷संस्थाका प्रतिनिधि रहने समिति गठन गरी काम अगाडि बढाइएको बताए। उनले भने, ‘हामीले दुई महिनाअघि समिति गठन गरेर थालनी गरेको कामले सबै इँटा भट्टाहरूको सम्बन्धित निकायबाट आवश्यक विवरण लिएर छानबिन गर्ने कार्य भइरहेको छ ।’ 

ती उद्योगबाट निस्केका धुवाँ र धुलोका कारण वरपरको वातावरण दिन प्रतिदिन दुषित हुँदै जानुका साथै तुवाँले लागेर बिहान ९÷१० बजेसम्म घाम समेत नलाग्ने गरेको स्थानीयवासीको गुनासो छ। उनीहरुले  स्वच्छ वातावणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन नगरप्रमुखसँग आग्रह गर्दै आएका छन्।

यस क्षेत्रमा करिब डेढ दुई किलोमिटरको दूरीमा इँटाभट्टा सञ्चालनमा छन्। सञ्चालनमा रहेका इँटाभट्टामा फूलबारी इँटा उद्योग, शिवशक्ति इँटा उद्योग, शंकर इँटा उद्योग, भैरवकुण्ड इँटाभट्टा उद्योग, विन्दबासिनी इँटा उद्योग, जयशिवशक्ति इँटा उद्योग, श्री पञ्चकन्या इँटा उद्योग र सत्यनारायण ब्रिक इन्डस्ट्रिज प्रा.लि हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.