|

दार्चुला : भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल र नेपाली भूमिमा बाटो बनाएको छ। भारतीय पक्षले नेपालतिर मानव बस्ती नै नभएको व्यास गाउँपालिका–३  ताम्बाकु, घाटबगर र दोपखे क्षेत्रमा काठे पुल निर्माण गरेको हो।

भारतीय पक्षले नेपाली पक्षलाई जानकारी नै नगराई महाकाली नदीमाथि तम्बाकु र लखनपुर, घाटबगर र माल्पा तथा दोपखे र लामारी जोड्ने पुल बनाएको स्थानीय मानसिंह कुँवरले बताए। तर, स्थानीय प्रशासनले भने भारतीय पक्षले एकतर्फी रुपमा दुई ठाउँमा त्यस्ता पुल निर्माण गरेको जानकारी आएको  बताएको छ।

त्यसैगरी, सोही क्षेत्रमा नेपाली भूमि भएर मेसिनहरु आफ्नो भूमिमा लैजान भारतीय पक्षले नेपाली भूमिमै बाटोसमेत बनाएको छ। हाल महाकाली नदी किनारको उत्तरतिर दुम्लिङ मात्रै नेपाल प्रहरीको उपस्थिति रहेको छ। पुल निर्माण गरिएको क्षेत्र प्रहरी चौकीबाट अढाई घण्टादेखि चार घण्टासम्मको दूरीमा पर्छ।

व्यास गाउँपालिका–२ राप्लाको दुम्लिङभन्दा माथिको क्षेत्रमा भारतले दुईवटा काठेपुल र २ किलोमिटर लामो गोरेटो बाटो निर्माण गरेको जानकारी आफूले पाएको व्यास गाउँपालिका २ का वडाअध्यक्ष धीरनसिंह बुढाथोकीको भनाइ छ। एउटा पुल भने भारतले पहिलेदेखि बनाउँदै आएको उनी बताउँछन्।

दार्चुला प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भारतीय पक्षले दुईवटा काठेपुल बनाएको पुष्टि गरेका छन्। पुल बनाएको खबर आएपछि दुम्लिङमा रहेको प्रहरी चौकीबाट फागुन १० गते प्रहरी टोली पुल बनाएको क्षेत्रमा पठाइएको उनले बताए। फागुन ११ गते जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत पुल बनाएको क्षेत्रमा पुगेको डिएसपी शाहीले बताए।

डोजर ढुवानीमा नेपाली भूमिको प्रयोग

नेपालको स्थानीय प्रशासनसँग पत्राचार गरी भारतले सडक निर्माणका लागि डोजर लगायतका मेसिन ढुवानी गर्न महाकाली किनारको नेपाली भूमि प्रयोग गर्न अनुमति मागेको थियो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले यसबारे गृह मन्त्रालयलाई पत्राचार समेत गरिसकेको छ।

अन्तर्राष्ट्रिय सीमाको विषय भएकाले आफू यसबारे निर्णय गर्न नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गृह मन्त्रालयको अनुमति मागेका हुन्। गृहको अनुमति अहिलेसम्म प्राप्त नभएको उनको भनाइ छ। भारतले भने नेपाली पक्षलाई पत्राचार गर्ने र सडक निर्माणका लागि नेपाली भूमिको प्रयोग गरी डोजर ढुवानी गर्ने काम एकसाथ गरेको छ।

केही हप्ता अगाडि नेपाली पक्षलाई पत्राचार गर्दै भारतीय प्रशासनले आफ्नो तर्फको सडक निर्माणका लागि नेपाली भूमि भएर डोजर ढुवानी गर्नका लागि अनुमति मागेको थियो। त्यसको केही दिनपछि महाकाली नदीमा दुई देश जोड्ने चार झोलुंगे पुल र नेपाली भूमिमा १२ किलोमिटर लामो गोरेटो बाटो निर्माण तथा मर्मत गर्न लागत विवरण मागेको थियो। वर्षातको समयसम्म चारवटा पुल र १२ किलोमिटर बाटो बनाउने तथा तत्काल दुईटा काठेपुल र २ किलोमिटर गोरेटो बाटो बनाउने भन्दै भारतले फेरि नेपाली पक्षसंग छलफल गरेको थियो।

डोजर ढुवानीका लागि नेपाली भूमि प्रयोगको अनुमति मागेको केही दिनपछि भारतीय पक्षले अर्को पत्राचार नेपाली पक्षलाई गरेको थियो। लखनपुर, नजंग खोला, छंनकन र बुँदीको कौथलामा गरी चारवटा झोलुंगे पुल निर्माण र नेपाली भूमिमा १२ किलोमिटर गोरेटो बाटो निर्माण तथा मर्मतको लागत विवरण भारतले मागेको थियो।

भारतले पुल र बाटो निर्माणको औपचारिक प्रस्ताव नगरेको र लागत विवरण मात्रै मागेको प्रमुख जिल्ला अधिकारी गौतमको भनाइ छ। त्यसपछि भारतले नेपाली पक्षसँग सम्पर्क र भेटघाट गरी तत्काल दुईवटा काठेपुल र २ किलोमिटर सडक बनाउनेबारे छलफल गरेको छ।

दार्चुलाको स्थानीय प्रशासनले यी कुनै पनि विषयमा भारतीय पक्षलाई सहमति वा अनुमति नदिएको प्रजिअ गौतमको भनाइ छ। भारतले भने डोजर ढुवानी गर्ने, दुईवटा काठेपुल निर्माण गर्ने र नेपाली भूमिमा २ किलोमिटर गोरेटो बाटो निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ। यसको पुष्टि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थलगत भ्रमण गरेपछि भएको हो।

भारतको धारचुलास्थित एसडिएम कार्यालयले हिजो मात्रै अर्को एउटा प्रस्ताव गरेको छ। आगामी फागुन २१ वा २२ गते पिथौरागढमा सीमा बैठक गर्ने प्रस्ताव गरिएको छ। नियमित एजेण्डाका साथै नेपाली भूमि भएर कैलाश मानसरोवर यात्राको नयाँ एजेण्डा पनि बैठकका लागि प्रस्ताव गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो।

भारतीय पक्षले नेपालसंग अनुमति वा सहमति माग्दै जाने र अनुमति मागेको विषयमा दुई देशबीच छलफल र निर्णय गर्नुअघि नै एकतर्फी काम पनि गरिरहेको छ।

भारतीय पक्षबाट एकतर्फी पुल बनाइएको र नेपाली भूमि भएर डोजर ढुवानी भएको विषयमा प्रमुख जिल्ला अधिकारीमार्फत माथिल्लो निकायमा जानकारी गराइएको डिएसपी जनकबहादुर शाहीले बताए।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले काठेपुल निर्माण भएको र नेपाली भूमि भएर डोजर ढुवानी भएको जानकारी आएपछि आफूले धारचुलास्थित एसडिएमलाई सम्पर्क गरी जानकारी मागेको बताए। धारचुलाका एसडिएम आरके पाण्डेले पुल निर्माण र डोजर ढुवानीबारे आफूलाई जानकारी नभएको जवाफ दिएको प्रजिअ गौतमले बताए। सीमाक्षेत्रको पछिल्लो यो घटनाबारे आपूmले गृह मन्त्रालयमा जानकारी गराएको उनको भनाइ छ।

भारततर्फ भइरहेको सडक निर्माणका कारण अहिले लखनपुरदेखि बुँदीसम्मको करिब २५ किलोमिटर लामो क्षेत्रमा पैदलमार्ग अवरुद्ध छ। भारतले नेपालतर्फको बाटो प्रयोग गर्न चार ठाँउमा पुल निर्माण गर्ने र १२ किलोमिटर लामो गोरेटो बाटो निर्माण तथा मर्मत गर्ने तयारी गरेको छ।

केही दिन अगाडि लखनपुरमा महाकाली नदी पार गरी नेपाली भूमि भएर ३ वटा डोजर भारतले ढुवानी गरेको छ। डोजरले नदी किनारको नेपाली भूमिमा बाटोसमेत बनाएको छ। नेपालको तम्बाकुखोलादेखि थिईको भीरको फेदसम्म भारतीय पक्षले पैदलबाटो समेत निर्माण र मर्मत गरेको व्यास गाँउपालिका वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिंह बुढथोकीले बताए।

भारतले अनुमतिबिनै काम गर्‍यो : प्रशासन

भारतीय पक्षले महाकाली नदीमा काठको अस्थायी पुल राखेको र नेपाली भूमि भएर मेसिन आफ्नोतिर लगेको जानकारीमा आएको भए पनि यसका लागि भारतीय पक्षले अनुमति नलिएको नेपाली प्रशासनको भनाइ छ।

सीमा नदीमा मान्छे ओहोरदोहोर हुने खालको अस्थायी पुल बनाएको भन्ने जानकारी आएको बताउँदै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पुल निर्माण गर्न भने अनुमति नलिएको बताए। केही दिन अगाडि भारतीय पक्षले चार ठाउँमा पुल राख्ने तथा नेपाली भूमि भएर मेसिन लैजान अनुमति मागेको बताउँदै प्रजिअ गौतमले यस सम्बन्धमा गृहमन्त्रालय बाट कुनै जानकारी नआइसकेको अवस्थामा भारतीय पक्षले अस्थायी पुल निर्माण गर्ने काम गरेको बताए।

दुम्लिङमा पुल निर्माणको माग

भारतले एकतर्फी रुपमा सीमा नदी महाकालीमा काठेपुल निर्माण गरी आवागमन गरिरहँदा राप्लाको दुम्लिङमा काठेपुल निर्माणको माग गरिएको छ। व्यास गाउँपालिका–२ का वडाअध्यक्ष एवं गाउँपालिका प्रवक्ता धिरनसिंह बुढाथोकीको नेतृत्वमा तत्काल काठेपुल निर्माण गर्न माग गरिएको हो।

लामो समयदेखि तुइनको जोखिमपूर्ण यात्रा गर्दैआइरहेको स्थानीयवासीको सुविधाका लागि काठेपुल निर्माण गर्न जिल्ला प्रशासन कार्यालयमा आइतवार माग गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए।

भारतीय पक्षले दुम्लिङभन्दा माथिल्लो क्षेत्रमा दुइटा काठेपुल निर्माण गरी आवतजावत गरिरहेका छन्। नेपालतर्फ वस्ती नै नभएको क्षेत्रले भारतीय पक्षले पुल बनाएर आवतजावत गरिरहेको भन्दै दुम्लिङवासीले स्थानीयको सुविधाका लागि दुम्लिङमा पनि काठेपुल राख्न माग गरेका हुन्।

स्थानीयको पुल निर्माणसम्बन्धी मागलाई भारतीय पक्षसंग छलफल गरी सम्बोधन गरिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। अन्तर्राष्ट्रिय सीमाक्षेत्र भएकाले यसबारे गृह मन्त्रालयको अनुमति समेत आवश्यक पर्ने उहाँको भनाई छ।

नेपालतर्फ तल्लो दुम्लिङ र भारततर्फको घटियाबगड क्षेत्र जोड्ने काठेपुल निर्माणको माग गरिएको वडाअध्यक्ष धिरनसिह बुढाथोकीले बताए।

नेपाली भूमिमै जान भारतको अनुमति दार्चुलाको उत्तरी बस्ती व्याससम्म पुग्न नेपालीहरुले भारतीय बाटो मात्रै प्रयोग गर्नु पर्दैन भारत सरकारसँग अनुमति लिनु पर्दछ।

नेपालीले भारतीय बाटो प्रयोग गर्दै नेपालमै जानु पर्दा भारतीय अनुमति लिनुपर्ने तर भारतले पुल र बाटो बनाउँदासमेत नेपालबाट अनुमतिसमेत नलिनुपर्ने अवस्थाले सबैलाई गम्भीर बनाएको हुनुपर्ने स्थानीय शिक्षक चमकसिह तिंकरीले बताए।

६ महिना सदरमुकाम र छ महिना व्यासमा बस्ने सौका समुदायले बसाई सर्दा (कुन्चा जाँदा)दुःख पाउने गरेको समेत स्थानीयको भनाइ छ। अहिले आएर पुल र बाटोका विरोध गर्दा चैत्रमा कुञ्चा सर्दा भारतीय पक्षले स्थानीयलाई दुख दिन सक्ने चिन्ता अहिलेदेखि नै भएको मोतिमहिला संघ आधारभूत विद्यालय तिंकरका प्रधानाध्यापक समेत रहेका चमकसिह तिंकरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.