|

दमक (झापा) : गौरीगन्ज गाउँपालिका– ६ खजुरगाछीस्थित प्राथमिक स्वास्थ्य केन्द्र झापाको पश्चिम-दक्षिणी क्षेत्रको सबैभन्दा ठूलो स्वास्थ्य केन्द्र हो। 
यो नजिकका तीनवटा स्वास्थ्य चौकीको 'रेफरल सेन्टर' पनि हो। गौरीगन्ज, कोरोबारी र महाभारामा रहेका स्वास्थ्य चौकीमा उपचार हुन नसकेका बिरामीहरू थप उपचारका लागि यहाँ पठाइन्छ। 

साविकका अलग–अलग गाउँ विकास समिति हालको गौरीगन्ज गाउँपालिकामा समायोजन भइसकेका छन्। तर यस भेगकै सबैभन्दा ठूलो स्वास्थ्य केन्द्र आफैँ भने थला परेको लामो समय भइसकेको छ।

उपकरण प्रयोगविहीन

यस स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन छ तर ५ वर्ष भयो, यसलाई थन्क्याइएको। यसको उपयोग भएको छैन। एक्सरे मेसिन कवाडीमा रूपान्तरित भएपछि अर्को ल्याइएको छ तर त्यो पनि प्रयोग भएको छैन। यस्तै, यहाँ चिरफारमा उपयोग हुने औजार, उपकरण निर्मलीकरण गर्ने अटोक्ल्याब मेसिन पनि छ तर यो बिग्रिएर थन्किएको पनि ६ महिना भयो।

सिकिस्त वा  जटिल रोगका  बिरामीका लागि अक्सिजन दिनुपरेमा सिलिण्डरको पनि बन्दोवस्त छ तर मिटर बिग्रिएपछि यो पनि काम नलाग्ने अवस्थामा छ। यस्तै, स्वास्थ्य सेवा विभागले व्याक्टेरिया परीक्षण गर्ने इन्कुवेटर मेसिन पनि पठाएको छ तर सुरक्षित रूपमा राख्ने ठाउँ नभएर त्यसै अलपत्र छ।

जनशक्तिविनै उपकरण

यस प्राथमिक स्वास्थ्य केन्द्रका लागि ५ वर्षअघि गाविसको सहयोगमा स्रोत जुटाएर एक्सरे मेसिन खरिद गरियो तर त्यो मेसिन संचालन गर्ने प्राविधिकको दरबन्दी नै थिएन। मेसिन चलाउने प्राविधिक नभएपछि त्यो मेसिन पनि कवाडीमा परिणत भयो। अहिले त्यो मेसिन भण्डारमा थन्किएको छ। तीन महिनाअघि स्वास्थ्य सेवा विभागबाट अर्को मेसिन पठाइएको छ तर मेसिन चलाउने प्राविधिक छैनन्। ‘पहिलेको मेसिन पनि प्राविधिक नभएका कारण संचालन हुन सकेन’, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण यादवले भने, ‘यस पटक फेरि अर्को मेसिन आएको छ। यो मेसिन संचालनका लागि भने रेडियोग्राफरको भ्याकेन्सी खोलिएको छ। गाउँपालिकाले ती रेडियोग्राफरको सेवा सुविधा उपलब्ध गराउनेछ।’

बिरामीको शल्यक्रिया, चिरफारलगायतका उपचारको क्रममा प्रयोग हुने सामग्रीहरूको निर्मलीकरणका लागि अत्यावश्यक ‘अटोक्लेब’ मेसिन बिग्रिएको ६ महिना भयो। अहिले त्यस्ता औजार तथा उपकरणहरू मम पकाउने भाँडोमा उमालेर काम चलाउने गरिएको छ। उक्त मेसिनको ज्याक, हिटिङ रड बिग्रिएकाले मर्मतका लागि प्रशासनलाई जानकारी गराउँदै आएको अनमी गीता मगरातीले बताइन्। तर समान नपाइएको भन्दै मर्मत हुन सकेको छैन।

कार्यालय प्रमुख डा. अमरेशकुमार कुशवाहाले भने, ‘मेसिनमा निर्मलीकरण गर्दा तापक्रम र समय आफैँ निर्धारण हुन्छ तर भाँडोमा सामान उमाल्दा राम्रोसँग अन्दाज गरेर काम गर्नुपर्छ।’ अन्दाजकै भरमा औजारहरू निर्मलीकरण गरेर काम चलाउँदै आएको उनको भनाइ छ।

यसैगरी व्याक्टेरियाको परीक्षण गर्ने इन्कुवेटर मेसिन ठाउँ नपाएर अलपत्र छ। यो मेसिन संचालन भए बिरामीहरूमा विभिन्न व्याक्टेरियाको अवस्था पत्ता लगाई उपचार गराउन सहज हुने स्वास्थ्यकर्मीहरू बताउँछन्। तर ‘माल पाएर पनि चाल नपाउँदा' यो मेसिन प्रयोजनविहीन बनेको छ। यस्तै, अस्पतालमा आउने सिकिस्त बिरामीहरूलाई अक्सिजन दिनुपरेमा सिलिण्डरको पनि व्यवस्था छ तर त्यसको पनि मिटर बिग्रिएपछि त्यसै थन्क्याइएको छ।

दरबन्दीको पनि समस्या

स्वास्थ्य केन्द्रमा १२ जनाको दरबन्दी हो। अहिले १४ जना कार्यरत छन् तर दरबन्दीअनुसार अझै पदपूर्ति भएको छैन। सरकारी दरबन्दीबाहेकका २ जना आन्तरिक स्रोतबाट राखिएको छ तर दरबन्दीअनुसार स्वास्थ्य केन्द्रमा प्रमुख भने छैनन्। हाल कामचलाउ प्रमुखको रूपमा रहेका कुशवाहाले भने, ‘म त छात्रवृत्तिमा पढेकाले सरकारले अनिवार्य व्यवस्था गरेअनुसारको सेवा अवधिका लागि यहाँ आएको छु, मेरो समय केही महिनामा सकिँदै छ, त्यसपछि के हुने हो थाहा छैन।’ स्वास्थ्य केन्द्रका अहेव विजयकुमार मेहताका अनुसार हाल स्वास्थ्य केन्द्रमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन्। गर्मी समयमा त बिरामीको संख्या दैनिक १०० नाघ्छ। तर सामान्य उपचार मात्र गरेर अन्यलाई रेफर गर्ने गरिएको उनले बताए।

निरीह स्थानीय सरकार

यस प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन स्थानीय सरकार, गौरीगन्ज गाउँपालिकाले गर्दै आएको छ। व्यवस्थापन समितिका अध्यक्ष यादव, गौरीगन्ज गाउँपालिका- ६ का वडाध्यक्षसमेत हुन्। तर आफू भर्खरै मात्र जिम्मेवारीमा आएकाले धेरै सुधार गर्न नसकेको उनी बताउँछन्। ‘म भर्खर त अध्यक्ष भएको छु, काम गर्नै बाँकी छ’, उनले भने, ‘तर हामीले गाउँपालिकाबाट केही बजेट छुट्याएका छौँ, अब सुधार हुन्छ।’ 

चाँडै नै सेवा सुधार ल्याउने गरी काम गरिने उनको भनाइ छ। एक्सरे सेवा संचालनका लागि कर्मचारीको भर्ना खुलाइसकिएको र आगामी महिनादेखि सेवा संचालन गरिने उनले बताए। यस्तै, मर्मत गर्नुपर्ने उपकरणहरूमा पनि चाँडै मर्मत गरी सेवालाई व्यवस्थित पारिने उनको भनाइ छ।

स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा संचालन गर्ने तयारी स्वरूप हाल नयाँ भवन निर्माण कार्य पनि भइरहेको छ। चालू आर्थिक वर्षभित्रमा भवन निर्माण सम्पन्न हुने आशा गरिएको भन्दै नयाँ भवनमा स्थानान्तरण भएपछि ठाउँ पनि पर्याप्त हुने र सेवा पनि चुस्त पारिने यादवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.