|

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंमा पछिल्लो समय विभिन्न अपराधका घटनाका उजुरी दिनेको संख्या बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्षको मंसिरयताका तीन महिनामा काठमाडौं जिल्लाका विभिन्न प्रहरी कार्यालयमा उजुरी दिनेको संख्या १ हजार ३९६ रहेको छ।

मंसिर महिनामा ३९७ मुद्दा दर्ता भएका छन्। पुस महिनामा ४५७ र माघ महिनामा ५४२ मुद्दा दर्ता भएका छन्। यीमध्ये सबैभन्दा बढी सार्वजनिक अपराधका मुद्दा दर्ता भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

यसका साथै बैंकिङ कसुर, ठगी, विद्युतीय कारोबारका मुद्दासमेत दर्ता भएका छन्। जघन्य अपराधका घटनाअन्तर्गत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र मानव बेचविखनका उजुरी पनि दर्ता भएका पोखरेलले बताए।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र मानव बेचविखन जस्ता जघन्य अपराधका घटनाका मुद्दा तीन महिनामा २८ वटा दर्ता भएका छन्। लागुऔषधसम्बन्धी ७२ र जबर्जस्ती करणीसम्बन्धी ३९ मुद्दा दर्ता भएका छन्।

काठमाडौं जिल्लामा आर्थिक वर्ष २०७१/०७२ मा चार हजार ७७३, २०७२/०७३ मा चार हजार ९०२, आर्थिक वर्ष २०७३/०७४ को चार हजार ५८२ र चालू आर्थिक वर्ष २०७४/०७५ को सात महिनामा तीन हजार ३४३ अपराधका मुद्दा दर्ता भएका छन्। 

कस्तो छ प्रहरीको अपराध नियन्त्रणको योजना?

काठमाडौं जिल्लामा अपराध नियन्त्रण गर्न नागरिकसँग सूचना संकलन गर्ने भन्दै काठमाडौं प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले यसअघि नै आफ्नो मोबाइल नम्बर ९८५१२०५५५५ सार्वजनिक गरेका छन्। यसबाट अापराधिक मानसिनकता भएका मानिसको सूचना चाँडो प्राप्त हुने भएकाले घटना नियन्त्रण गर्न सजिलो हुने उनको भनाइ छ।

त्यस्तै, विभिन्न पेसा व्यवसायमा आवद्ध २०० युवासँग गोप्य सम्झौता गरेर आपराधिक गतिविधि नियन्त्रणमा कडाइ गर्ने परिसर प्रमुखको योजना रहेको छ। प्रहरी र जनताको बीचमा सम्बन्ध बलियो बनाउन सार्वजनिक सुनुवाइ र प्रहरीको आचरण सुरधारमा समेत कडाइका साथ लाग्ने पोखरेलको योजना रहेको छ। 

के छ प्रहरीको चुनौती?

पछिल्लो समय वैदेशिक रोजगारीका लागि भन्दै मानव बेचविखनका नयाँनयाँ शैली अपानाइने गरेका छन्। कुनै भिजिट भिसाका नाममा त कुनै चलचित्र सुटिङका नाममा मानव बेचविखन हुने गरेका घटना बढिरहेका छन्। वित्तीय ठगी र अपचलनका घटनाहरू पनि बढ्दै गएका छन्। अपराधीले संजाल नै फैलाएका कतिपय घटनाले पुष्टि गरेका छन्। कतिपय अपराधीको प्रहरीसँगै साँठगाँठ हुनु गरेको पनि देखिएको छ।

जग्गामा हुने ठगी र त्यसले निम्त्याउने अपराध नियन्त्रण गर्न प्रहरीलाई निकै चुनौती रहेको देखिन्छ। यसका साथै फरार अभियुक्तले अर्का घटना घटाउँदै जानु अपराध नियन्त्रणको प्रहरीलाई अर्को चुनौती छ। काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म विभिन्न अपराध गरेर फरार हुनेको संख्या ३७२ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.