कामको मूल्यांकन भएकोमा खुसी छु

|

काठमाडौं : दुई दिन अगाडि डाक्टर सुमित्रा गौतमलाई स्वास्थ्य मन्त्रालयबाट फोन गयो  तपाईं १५ गते स्वास्थ्य सेवा दिवसको दिन मन्त्रालयको कार्यक्रममा आउनुपर्ने भयो। ओपिडीमा बिरामी हेर्दै गरेकी डा. गौतमले बिरामी हेर्दै बोलेको हुनाले के को लागि नभनी हुन्छ समय मिलेसम्म आउँछु भन्दै फोन काटिन्। 

सिन्धुली जिल्ला  अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट तथा स्त्री रोग विशेषज्ञ रहेकी डा. गौतम बिहानदेखि राती अबेरसम्मै अस्पतालमै बिरामीको सेवामा रहन्छिन्। बिरामीको सेवामा मात्र नभएर अस्पतालको स्वास्थ्य सेवा कसरी गुणस्तरीय र प्रभावकारी बनाउने भन्ने जिम्मेवारी भएको कारण बिरामीलाई दिएर रहेको समयमा अस्पतालको व्यवस्थापनमै खर्चिन्छन्। जसले गर्दा उनलाई आफ्नो व्यक्तिगत समय कमै हुने गर्छ।

 जसले गर्दा स्वास्थ्य सेवा दिवसको उपलक्ष्यमा मन्त्रालयले काठमाडौं आउनु भनेको आग्रहलाई मान्दै सोमबार बिहानै काठमाडौं हिँडिन्। तर, आधाबाटोमा आइपुगेपछि उनलाई अस्पतालबाट फोन आयो 'डा. साब गम्भीर खालको डेलिभरी केस आएको छ हजुर आउनुपर्‍यो।'  मन्त्रालयले काठमाडौं आउनु भन्ने निर्देशनपछि काठमाडौं हिँडेकी डा. गौतको यात्रा आधाबाटोबाटै पुन: सिन्धुलीतिर मोडियो र उनी अस्पताल पुगेर गम्भीर प्रकृतिको गर्भवती महिलालाई सफलतासाथ प्रसूति गराउन बनाइन्।

अस्पताल पुगेर बिरामीको उपचार गरिसकेपछि उनलाई फोन आएकै नम्बरमा उनले फोन गरेर भनिन्   म काठमाडौं आउन हिँडेको थिएँ यता अस्पतालमा गम्भीर प्रकृतिको बिरामी आएको कारण बीचबाटोबाटै फर्किएँ अहिले काठमाडौं आउन सक्दिनँ होला। यति भनिसकेपछि मात्र उनलाई थाहा भयो यस वर्षको उत्कृष्ट चिकित्सकको पुरस्कार दिन लागिएको छ। त्यसैले उनलाई हजुर काठमाडौं आउनुपर्छ भनिएको रहेछ।

स्‍वास्थ्य मन्त्रालय प्रांगणमा भेटिएकी उनले भनिन्। 'काठमाडौं आउन भनेर हिँडेकी थिएँ आधाबाटोमा आएपछि अस्पतालबाट फोन आयो गम्भी रखालको बिरामी आउनुभएको छ, फर्कनुपर्‍यो भनेर त्यसकारण म फर्किएँ। आजको कार्यक्रममा आउन भ्‍याउदिनँ होला भनेर फोन गरेको थिएँ। पुरस्कार दिन हो भनेर थाहा पाएपछि राति नै हिँडेर भर्खरै आइपुगेँ।'

विगत डेढ वर्षदेखि सिन्धुली जिल्ला अस्पतालमा कार्यरत रहेकी डा. गौतमले अस्पतालको जिम्मेवारी सम्हाल्‍न थालेपछि अहिले अस्पतालको गुणस्तरनै फेरिएको छ। केन्द्रका अस्पतालमा पाइने प्राय: सबै सुविधा सिन्धुली अस्पतालमा पाइन्छन्। यसका साथै आफैँ स्त्रीरोग विशेषज्ञ भएका कारण प्रसूतिसम्बन्धी सम्पूर्ण सेवा २४ सै घन्टा पाइन्छ। उनले गरेको यस्तो सेवाको कदर गर्दै स्वास्थ्य मन्त्रालयले उनलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा चिकित्सक पुरस्कार प्रदान गरेको हो।

पुरस्कार पाएपछि अहिले उनलाई लागेको छ, आफूले राम्रो काम गर्‍यो भने ढिलो चाँडो कामको मूल्याङकन हुँदो रहेछ। उनले भनिन्, ' मैले आज यो पुरस्कार पाउँछु होला भनेर कल्पनासमेत गरेकी थिइनँ, तर काम गर्दै जाँदा कामको मूल्यांकन हुँदोरहेछ।'

जसले दैनिक सयभन्दा बढी महिलाको उपचार गर्छिन्

०६३ मा नेपाल सरकारको स्वास्थ्य सेवामा प्रवेश गरेकी डा. गौतमको सुरुको पोस्टिङ सिराह जिल्लामा भयो तर १० औँ तहमा बढुवा भएपछि उनी सिन्धुली जिल्ला अस्पताल पुगिन्। सिन्धुली पुगेपछि उनले अस्पतालको सेवालाई गुणस्तरीय मात्रै बनाइनन्, त्यहाँका महिलाको स्वास्थ्यमा समेत ठूलो सेवा पुर्‍याइरहेकी छन्। जसले आजभोलि सिन्धुली जिल्लाबाट मात्रै हैन यस आसपासका जिल्लाबाट समेत उनीकहाँ बिरामी उपचार गर्न दैनिक सयभन्दा बढी बिरामी आउँछन्।

यति मात्रै हैन आफू अस्पताल पुग्दा ६० प्रतिशत गुणस्तर रहेको अस्पतालको सेवालाई बढाएर ९१ प्रतिशत पुर्‍याएकी छन्। यति मात्र हैन सिन्धुली अस्पतालमा आजभोलि २४ सै घन्टा भिडियो एक्सरे, ल्याबलगायतका सेवा सुविधा छ।

उनले भनिन्, 'सिन्धुली आसपासका सडकमा धेरै दुर्घटना हुन्छन्। जसले गर्दा हाम्रो अस्पतालमा २४ सै घन्टा विशेषज्ञ चिकित्सक सेवासहित ल्याब, भिडियो एक्सरेदेखि क्षेत्रीयस्तरको अस्पतालमा पाइने सम्पूर्ण सुविधा पाइन्छ।'

न्याम्स कि गोल्ड मेडलिस्ट

रुपन्देही जिल्लामा सामान्य परिवारमा जन्मेकी डा. गौतमले एमबिबिएस नेपालगञ्ज मेडिकल कलेजबाट पूरा गरिन् भने स्त्रीरोगमा एमडी भने चिकित्सा विज्ञान प्रतिष्ठा न्याम्सबाट पूरा गरेकी हुन्। आफूले गरेको काम सधैँ राम्रोसँग पूरा गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्ने उनी एमडीमा आफ्नो ब्याजकी गोल्ड मेडलिष्ट हुन्। उनले भनिन्, 
'आफूले गरेका हरेक कामहरू मिहिनेतका साथ गर्नुपर्छ भन्ने मान्यता राख्छु।'

सरकारी सेवामा रहेका धेरै चिकित्सहरूले निजी क्लिनक खोल्ने र त्यतै बढी समय दिने गरे पनि आफ्नो त्यतातिर मनै नलागेको उनी बताउँछिन्। उनी भन्छिन्, 'राम्रो सेवा सुविधा सरकारी अस्पतालमै दिन सके बिरामीले राम्रो सेवा पाउँछन्।' उनी बिहान ९ बजेदेखि बेलुकी ८ बजेसम्मै अस्पतालमै भेटिन्छिन्। राम्रो चिकित्सकबाट सस्तोमा उपचार पाउने भएकाले सिन्धुलीका ग्रामीण भेगदेखि बिरामीहरु सिन्धुलि अस्पताल आउने गर्छन्।                                                                                                                                           

परिवार भुलेरै बिरामीको सेवामा

परिवारलाई भुलेर अस्पताल र बिरामीप्रति डा. सुमित्रा यसरी समर्पित भएकी छन् कि १० वर्ष पनि नपुगेको आफ्नो छोरालाई काठमाडौंमा आफ्नो दिदीको जिम्मा लगाएर २४ घन्टा बिरामीकै साथ हुने गर्छिन्।

उनले भनिन्, 'छोरालाई यहीँ दिदीकोमा राखेको छु , परिवारसँग वर्षमा मुस्किलले १० दिनभन्दा बढी समय बिताउन पाउँदिन तर ग्रामीण भेगका गम्भीर बिरामी उपचारपछि सन्चो भएर घर फर्क‌ंदाको खुसीले परिवारसित टाढा भएर पनि ठूलो काम गरिरहेकी छु भन्ने लाग्छ।'

सेवा सुविधामा उदानसीन छ सरकार

राम्रा चिकित्सकहरू ग्रामीण भेगमा नजानुको मुख्य कारण नै सेवासुविधाको कमी रहेको डा. गौतमको अनुभव छ। उनले भनिन्, 'लाखौँ पैसा खर्च गरेर एमबिबिएस र एमडी पढेको हुन्छ अहिलेको सेवा सुविधाले त्यो पैसा कहाँ उठ्छ र ग्रामीण भेगमा गएर।' अर्को कुरा ग्रामीण भेगमा जाँदा चिकित्सहरूले निजीमा काम गर्न नपाउनु पनि ग्रामीण भेगमा चिकित्सक नपुग्नु मुख्य कारण हो। उनी भन्छिन्, ' सेवा भावना भएका चिकित्सकहरू सेवा सुविधालाई भुलेर ग्रामीण भेगमा पुगे भने मात्र गाउँका जनताले राम्रो स्वास्थ्य सेवा आफ्नै घर गाउँमा पाउँछन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.