निर्माणाधीन उद्योगको लागत कति, कहिले सञ्चालनमा

|

कपिलवस्तु: औद्योगिक विकासको दृष्टिकोणले निकैपछि परेको प्रदेश ५ को कपिलवस्तु पछिल्लो समय औद्योगिक केन्द्रजस्तै बनेको छ। जिल्लाको औद्योगिक क्षेत्र मानिएको पश्‍चिमी क्षेत्र चन्द्रौटा–कृष्णनगरमा हाल धमाधम उद्योग स्थापना भइरहेका छन्।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चन्द्रौटादेखि भारतीय सिमाना कृष्णनगर बीचको क्षेत्रमा ठूला उद्योग स्थापनाले तीव्रता पाएको छ। उक्त क्षेत्रमा यसअघि नै विजया सिमेन्ट, विश्वकर्मा सिमेन्ट, गणपति सिमेन्ट, बुद्ध सिमेन्ट उद्योगका साथै सात वटा प्लाई उड उद्योग स्थापित भइसकेका छन्।

अन्य सानाठूला गरी ३० भन्दा बढी उद्योग सञ्चालनमा रहेको कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोख्रेलले बताए। जिल्लामा पाँच नयाँ सिमेन्ट उद्योग स्थापना भएको छ। तीन निर्माणको अन्तिम चरणमा छन् भने दुई वटा सञ्चालनमा आइसकेका छन्।

शिवराज नगरपालिका–६ वीरपुर क्षेत्रमा ती उद्योग स्थापना भएका हुन्। औद्योगिक क्षेत्रको रुपमा विकसित हुँदै आएको सो क्षेत्रमा बालाजी सिमेन्ट उद्योग, शुभ–लक्ष्मी सिमेन्ट उद्योग र अटल सिमेन्ट उद्योग निर्माणको चरणमा छन्। नयाँ प्रविधि र व्यवस्थापनका साथ भूगर्भ सिमेन्ट र हालै निर्माण सम्पन्न महाशक्ति सिमेन्ट उद्योग सञ्चालनमा आइसकेका छन्।

कुन–कुन ठूला उद्योग सञ्चालनमा आए?

२ वर्षअघि निर्माण थालिएको महालक्ष्मी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ। साउनदेखि नियमित उत्पादन सुरु गरेको उद्योगले दैनिक ६ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ।

उद्योगले सिर्नजी ओपीसी र जेके पीपीसी ब्रान्डका सिमेन्ट बजारमा ल्याएको छ। विगत लामो समयदेखि बन्द अवस्थामा रहेको देउराली सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ। पुनर्निर्माण तथा नयाँ मेसिनरी जडानका साथ उद्योग सञ्चालनमा आएको हो।

भदौदेखि भूगर्भ सिमेन्ट कम्पनीको नामबाट यसले उत्पादन सुरु गरेको छ। यसले आफै क्लिङ्कर र सिमेन्ट उत्पादन गर्दै आएको छ। दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको यस उद्योगले अहिले ६ देखि सात हजार बोरा निकाल्दै आएको छ। उद्योगले भूगर्भ ओपीसी र देउराली, अपोलो पीपीसी ब्राण्डका सिमेन्ट बिक्री गर्दै आएको छ।

शिवराज क्षेत्रमा सञ्चालित उद्योगहरुमा मात्रै अहिले दुई  हजारभन्दा बढी मजदुर कार्यरत रहेको र नयाँ बन्ने उद्योगमा पाँच सयले रोजगारी पाउने कपिलवस्तु व्यापार संघले दावी गरेको छ। यस क्षेत्रमा थप उद्योग स्थापनाका लागि शिवराज र कृष्णनगर नगरपालिकाले केन्द्र सरकारको पहलमा औद्योगिक सुरक्षा बल स्थापना गर्नुपर्ने, पाँच करोड माथि लगानीका उद्योगलाई तीन वर्षसम्म स्थायी कर मिनाहा गर्नुपर्ने र चन्द्रौटा–कृष्णनगर सडक विस्तार गरी चार लेनको बनाउनुपर्ने, बाइपास रोड निर्माण गनुपर्ने र कृष्णनगरमा सुख्खा बन्दरगाहका लागि आवश्यक कार्यको पहल गर्न व्यवसायीहरुले सुझाव दिएका छन्।

निर्माणाधिन उद्योगको लागत कति, कहिले सञ्चालनमा

अटल सिमेन्टका सञ्चालन जमशेर अलि मियाले आगामी एक वर्ष भित्रै सिमेन्ट उद्योगले उत्पादन सुरु गर्ने बताए। 'निर्माण सम्पन्न हुदा सम्म करिब ६० करोड खर्च लाग्ने छ' उनले भने। उद्योगले दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन क्षमताको क्लोज सर्किट मेशिन लाउने भएको छ।

 यस्तै एक अर्ब १० करोड बढिको लागतमा सोही क्षेत्रमै बालाजी सिमेन्ट उद्योग सञ्चालनमा आउँदैछ। उद्योग निर्माणको ८० प्रतिशत कार्य सम्पन्न गरेको उद्योगले मेशिन जडान कार्यलाई तीव्रता दिइरहेको छ।

उद्योगी पिताम्बर गैरे तथा शालिकराम ढकाल समूहको लगानीमा वीरपुर क्षेत्रमा शुभ–लक्ष्मी सिमेन्ट उद्योग निर्माण भइरहेको छ। निर्माणको ६० प्रतिशत कार्य सम्पन्न भएको उद्योग एक वर्षभित्रै सञ्चालनमा आउने बताइएको छ।

एकअर्बको लागतमा निर्माण हुन गइरहेको उक्त उद्योगमा अत्याधुनिक मेसिन जडान गरिनेछ। उद्योगले दैनिक १० हजार बोरा ओपिसी र पीपीसी सिमेन्ट उत्पादन गर्ने क्षमताको मेशिन ल्याउने संचालकहरु बताउछन्।

यसकारण बन्यो कपिलवस्तु सहज

सस्तो जग्गा, प्रयाप्त जनशक्ति, कच्चा पदार्थ आयातका लागि नजिक सिमाना र बिक्रीका लागि राजमार्गसँग निकटतम भएकै कारण यहाँ उद्योग स्थापना भइरहेका हुन्।

 विस्तारै औद्योगिक क्षेत्रको रूपमा विकसित यहाँ उद्योग स्थापना र सञ्चालनमा अन्य क्षेत्रको तुलनामा सहज रहेको व्यापार संघका अध्यक्ष पोख्रेलले बताए।

व्यवसायीको पहलमा उद्योगहरुलाई बेग्लै फिडरबाट विद्युत् आपूर्ति गरिएकाले सञ्चालित उद्योगको उत्पादन क्षमतामा वृद्धि भइरहेको पोख्रेलको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.