गाईपालन गरेर कमाउँछन् मासिक दुई लाख

|

धनकुटा : छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका भरत गुरुङ पैसा कमाउन ०५६ मा कतारको मरुभूमि पुगे। त्यहा उनको कमाइ राम्रै थियो। महिनाको ५० हजारसम्म तलब बुझ्थे। तर पनि उनले त्यहाँ भविष्य देखेनन्। त्यसैले सात वर्षको कतार बसाइलाई टुंग्याउँदै ०६३ मा गाउँमै केही गर्ने प्रणसहित फर्किए।

भरतले विदेशबाट फर्केपछि केही वर्ष तरकारी खेती गरे। कडा परिश्रम गर्दा पनि रोगका कारण तरकारी खेतीबाट भनेजस्तो आम्दानी नभएको उनले बताए। त्यसपछि उनको मन गाई पालनतर्फ मोडियो। र, ०७० मा दुई करोड रुपैयाँ लगानीमा मकालु काउ फार्म स्थापना गरी गाईपालन सुरु गरे। उनले गाई फार्ममा अहिलेसम्म तीन करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन्। 

भरतको फार्मबाट अहिले दैनिक दुई समय लिटर दुध उत्पादन हुँदै आएको छ। त्यसलाई बढाएर एक महिनाभित्र दैनिक पाँच सय लिटर पु¥याउने लक्ष्य रहेको उनले बताए। उक्त दुध नजिकै रहेको कामधेन दुग्ध सहकारी संस्थाको दुध संकलन केन्द्रमा बिक्री गर्छन्। यसरी दुध बिक्रीबाट उनले मासिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

मकालु काउ फार्ममा एकातिर होलस्टेन र जर्सी जातका गाई बाँधिका छन्। अर्कोतिर घाँस काट्ने विद्युतीय मेसिन राखिएको छ। गोठभित्र उन्नत जातका ३० वटा गाई छन्। ती गाई इलाम र गोरखाबाट ल्याइएका हुन्। गाईलाई फार्मसम्म ल्याउँदा एउटाको दुई लाख रुपैयाँसम्म पर्न गएको गुरुङले बताए। फर्ममा रहेका सबै गाईका पशुबीमा गरिएका भरत बताउँछन्।

सफासुग्घर आधुनिक फार्म निर्माण गर्न ५० लाख रुपैयाँ लागेको हो। त्यहाँ ३२ वटा गाई अट्ने क्षमता छ। यस्तै, करिव १५० रोपनीमा उन्नत जातको घाँस खेती पनि छ। ती जग्गामध्ये ५० रोपनी पुख्र्यौली हो भने एक सय रोपनी पछि खरिद गरेका हुन्। उक्त जग्गामा अम्लिसो, नेपियर सियो थ्री, सीयो फोर, डालेलगायतका घाँस लगाइएको छ।

भरत गाईपालनबाट सन्तुष्ट नै छन्। मेहनत र निरन्तरता दिए स्वदेशमा नै मनग्य आम्दानी गर्न सकिने उनको अनुभव छ। त्यसैले विदेशबाट फर्केका युवाहरूलाई आफूले जानेको सीप स्देशमा नै सदुपयोग गरी उद्यम गर्न सुझाव दिन्छन्। ‘विदेश भनेको उमेर, बल उमेर रहुन्जेल मात्र हो। उमेर ढल्कदै गएपछि मालिकले काम दिँदैन। आफ्नो देश फर्किनुको विकल्प हुँदैन।’ उनी भन्छन्, ‘त्यसैले स्वदेशमा नै उद्यम गर्न सकियो भने वुढेशकालसम्म दिगो हुन्छ।’

उनले फर्म सञ्चालनका लागि जिल्ला पशु सेवा कार्यालय धनकुटाबाट दुई लाख रुपैयाँ र उन्नति परियोजनाबाट चिलिङ सेन्टर निर्माण र मेकानिकल सामान खरिदका लागि ३५ लाख रुपैयाँ बराबरको अनुदान लिएका छन्। 

भरतले घरमै करिव १० लाख रुपैयाँ लागतमा एक हजार लिटर दुध अट्ने भ्याट मेसिन राखेका छन्। यस्तै, दुध र गाईको आहार ओसारपसार गर्न दुईवटा ट्रयाक्टर पनि छन्। ती ट्रयाक्टरबाट गाउँका किसानका घरमा दुध लिन जाँदा गाईवस्तुको दाना निःशुल्क ढुवानी गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.