|

'अबिरया होली, तँचायला ल्यासे
अबिरँ छंगु ख्वा, हिसी दय्काबी'

अर्थात्, अबिरको होली, रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार, हिस्सी बनाइदिऊँ?’ यो नेवारी लोकभाकाले वसन्त ऋतु, रातो रंग र यौनको व्याख्या गर्छ।। नेवारी समुदायमा लोकप्रिय र प्रख्यात यो गीतले फागु अर्थात् होली पर्व महिलालक्षित चाड भएको पुष्टि हुन्छ। 

'झ्या दकंः तुँकंः मा
व हे ल्यासे जित मा
व ल्यासे मदेकः जा हे मनया'

अर्थात्, झ्यालभरि तोरीको माला छ, त्यही केटी मलाई चाहिन्छ, त्यो केटी नपाएसम्म भातै खान्न। यो गीतले पनि होली विशेषगरी श्रृंगारिक चाड भएको पुष्टि हुन्छ।वसन्त ऋतुको आगमनसँगै खुशीको पर्वका रूपमा मनाइने फागुपर्वलाई भक्तपुरवासीले विशेषगरी महिलालाई लक्षित गरी यौनप्रधान गीत गाउने तथा व्यंग्य गर्ने चाडको रूपमा बुझ्ने गरेको छ। 

वसन्त ऋतुको आगमनसँगै बोट बिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूलहरु फुल्न थालेसँगै मानिसको मन मष्तिस्क समेतमा एक खालको तरंग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविद्हरु बताउँछन्। 

‘वसन्त ऋतुको आगमनसँगै मानिसहरू केही फुर्सदिला हुने कारण मनोरञ्जनतर्फ आकर्षित हुन्छन्’, संस्कृतिकर्मी ओम धौभडेल भन्छन्, 'पहिले–पहिले मनोरञ्जन गर्ने तरिकाको विकास नहुँदा पुरुषहरू युवतीहरुको खोजमा निस्किने र उनीहरूलाई जिस्क्याउने चलन चलेको बुझिन्छ।’ उनका अनुसार यसै कारण फागुमा बढी श्रृंगार रस युक्त संगीत गुञ्जिने गरेको हो। 

संस्कृतिविद् एवं इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले प्राचीनकालमा पुरुषप्रधान समाजको विकास भएसँगै महिलालाई श्रृंगारको प्रतीकका रूपमा लिने गरिएको र महिलालाई यौन चाहना पूरा गर्ने साधनको रुपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा महिलालक्षित गीत संगित गुञ्जिने गरेको तर्क गर्छन्। ‘भक्तपुरको तचपालमा गाडिने चीरसँगै भीमसेन र द्रौपदीको यौन समागमनको प्रतीक स्वरुप काठको लिङ्ग र बीचमा प्वाल परेको रातो कपडा प्रदर्शन गरिन्छ’, श्रेष्ठ भन्छन्, यसले पनि होली महिला र यौनकेन्द्रित पर्व भएको पुष्टि गर्दैन र !'

फागुमा यौन भावयुक्त गीत गाउने चलन भएपनि फागुलाई अश्लील पर्व भन्न नमिल्ने धौभडेल बताउँछन्। ‘फागुलाई नितान्त साँस्कृतिक, विशुद्ध मनोरञ्जनपूर्ण र जीवन्त संस्कृतिको रुपमा लिनु पर्छ’, उनी भन्छन्, ‘केटाकेटी, युवायुवती, सबै जातजाति फागुको रंगमा रंगिने र सबैले खुशी साटासाट गर्ने भएकाले यो समावेशी पर्व हो।’

गीत त भइ नै हाले, फागुपर्वका अवसरमा मौलिक बाजागाजाले समेत भक्तपुर नै गुञ्जायमान हुन्छ। स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरुले बाजागाजासहित एक आपसमा अविर दलेर गाउँटोल परिक्रमा गर्ने परम्परा छ।

अन्यत्रजस्तै भक्तपुरमा पनि फागु पर्व चीरध्वज उठानदेखि चीरदाह नभएसम्म एकसाता मनाइन्छ। अरु स्थानमा जस्तै फागु विजयको हर्षोल्लासपूर्वक एक–आपसमा रंग दलेर नाचगानका साथ मनाइने पर्व हो।  दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैंभित्र हराउने पर्व तथा तनमन रंगाउने पर्वको रूपमा यसको महत्त्व छ। 

युगौंदेखि मनाइँदै आएको हर्ष र उल्लासको पर्व फागुलाई अहिलेका युवा पुस्ताले पर्वको महत्त्व बुझ्न नसक्दा समाजमा फागुपर्व विकृत बन्न पुगेको संस्कृतिकर्मी धौभडेल बताउँछन्। ‘मदिरा सेवन गरेर छाडा शब्द प्रयोग गर्ने, जबरजस्ती अरुलाई अबिर दल्ने र लोला हान्ने प्रवृत्ति संस्कृति होइन’,उनी भन्छन्,‘यसले फागुलाई त्रासको पर्वको बुझ्न थालिएको छ।' यो गलत हो। पर्व मनाउँदा संस्कृतिको मर्म बुझ्नुपर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.