|

काठमाडौं : सोनिया तामाङ दोहोरी साँझकी गायिका हुन्। उनी लामो समयदेखि यस पेशा गर्दै आएकी छिन्। यसअघि २ वर्ष डान्स रेष्टुरेन्टमा समेत काम गरेकी सोनिया मनोरञ्जन व्यवसायमा काम गर्ने श्रमिक महिलाहरुको सुरक्षाका पक्षमा वकालत समेत गर्छिन्।

महिलाका लागि महिला मञ्चमा आवद्ध रहेर काम गर्दै आएकी सोनिया डान्स रेष्टुरेन्ट, दोहोरी क्षेत्रको समाचार आउदा अर्धनग्न अवस्थामा रहेका महिलाको मात्र फोटो सञ्चारमाध्यममा छापिँदा उनीहरुको व्यक्तिगत जीवनमा समेत असर पर्ने गरेको बताउँछिन्। रात्रीकालिन रुपमा सञ्चालन हुने यस क्षेत्रमा काम गर्ने महिला तथा बालवालिकाको सुरक्षाका लागि मिडियाले सहयोग गर्नुपर्ने उनको भनाइ छ। 'डान्सबारमा गीतअनुसारको लुगा लगाउनुपर्छ। यस्तो ठाउँमा सामान्य आर्थिक अवस्था भएका पुरुषहरु आउँदैनन्। किनकी यो महङ्गो क्षेत्र हो', सोनिया भन्छिन- मिडियामा डान्सबार, दोहोरीका युवतीले अश्लिलता फैलाए भनेर अर्धनग्न फोटो आउँछ। त्यहाँ जाने पुरुषहरुको तस्विर किन आउँदैन?'

मिडियामा यस क्षेत्रको समस्या मात्रै उठान गरिने तर त्यसभित्र काम गर्ने श्रमिकको पक्षबाट कुनै कुरा नआएको सोनियाको गुनासो छ। 'त्यहाँ काम गर्दा श्रम सम्झौताका विषय, शोषणको विषय उठाइदिनुस', उनी भन्छिन, हाम्रो पारिश्रमिकको अवस्था के छ ? वेटरले ३५ सयमा ८ घण्टा काम गर्नुपर्ने बाध्यता छ त्यो उठाइदिनुस।' यो क्षेत्रलाई बन्द गर्न सक्ने अवस्था नभएकाले यसलाई थप मर्यादित बनाउन सबैको सहयोग हुनुपर्ने सोनियाको भनाइ छ।

महिला तथा बालवालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन)की कार्यकारी निर्देश बेनु माया गुरुङ नेपालमा आन्तरिक तथा बाह्य रुपमा मानव ओसारपसार हुने गरेको बताउँछिन। खासगरी डान्सवार, रेष्टुरेन्ट व्यवसायमा त्यस्तो ओसारपसार हुने गरेको उनको बुझाइ छ। 

विश्वास नेपालकी अध्यक्ष तारा भण्डारी मनोरञ्जन क्षेत्रलाई बन्द गर्न पनि सम्भव नभएकाले यस क्षेत्रलाई सुरक्षित, मर्यादित तथा शोषणरहित बनाउन सरोकारवालाले भूमिका खेल्नुपर्ने बताउँछिन। राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन, १०१३ को तथ्यांकअनुसार २९ हजार पीडितमध्ये १३ हजार बेचविखनमा परेका थिए। जसमध्ये ५० प्रतिशत बढी १६ वर्ष मुनिका बालवालिका थिए। काठमाडौं उपत्यकाभित्र मात्रै सञ्चालित क्यानविन, दोहोरी, डान्स रेष्टुरेन्ट, मसाल पार्लरमा ५० हजार कामदार संलग्न रहेकोमध्ये ८० प्रतिशत महिला छन्।

१०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा एटविनले बुधवार मानव बेचबिखन तथा व्यवसायिक बाल यौन शोषण विरुद्ध सञ्चारकर्मीसँग गरेको छलफलका एटविनका इन्द्रप्रसाद भट्टराईले वैदेशिक रोजगारीका नाममा वार्षिक १० हजार बढी विभिन्न मूलुकमा वेचविखन हुने गरेको बताए। नेपालका मुख्य शहरमा मनोरञ्जनका नाममा बालयौन शोषण हुने गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.