|

काठमाडौं : नेपाली कला साहित्य डट कम प्रतिष्ठानले चार स्रष्टालाई सम्मान गरेको छ।

बुधबार राजधानीमा भएको कार्यक्रममा राष्ट्रिय कलाश्री सम्मान समालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई, राष्ट्रिय कलाश्री पुरस्कार कथाकार माया ठकुरीलाई, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार युवाकवि तथा निबन्धकार मणि लोहनीलाई तथा बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार मोहन दुवाललाई प्रदान गिरएको छ।

सम्मानित/पुरसकृत स्रष्टाहरूका बारेमा परिचय दिँदै समालोचक महेश पौड्यालले नेपाली भाषा साहित्यको स्तरवृद्धिमा गरेका काम तथा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदानको मूल्यांकन गरेर पुरस्कृत गर्न पाउँदा गर्व महसुस भएको बताए।

सम्मानित स्रष्टा प्रा.डा. वासुदेव त्रिपाठीले आफ्नो जीवनको कालखण्डमा साहित्यको स्तरवृद्धिका लागि समय व्यतीत गर्नु आफ्नो कर्तव्य रहेको बताए। उनले भने, 'समयसँगै मेरो उचित मूल्यांकन भएकोमा खुसी छु।'

यस्तै सम्मानित कथाकार माया ठकुरीले साहित्यमा लाग्दाका सुरुका दिन आफ्नो जिन्दगी साह्रै जटिल र अन्धकारमय रहे पनि पाठक/श्रोताको मायाले वर्तमान समय उज्यालो हुँदै गएको बताइन्।

पुरस्कृत युवा पत्रकार तथा निबन्धकार मणि लोहनीले आफूले कहिल्यै पुरस्कारका लागि नलेखेको बताए। तर यो सम्मानको लायक सम्झेकामा आयोजकलाई धन्यवाद दिए। अर्का पुरस्कृत पत्रकार मोहन दुवालले यो सम्मानले आफ्नो अबको यात्रा र कर्ममा जिम्मेवारीबोधको महसुस भएको धारणा व्यक्त गरे।

प्रतिष्ठानका संरक्षक डा. विमल कोइरालाले मूर्धन्य व्यक्तिलाई सम्मान गर्न पाउँदा आफ्नो प्रतिष्ठानको शोभा बढेको भन्दै खुसी व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मानित स्रष्टालाई बधाई ज्ञापन गरे। उनले प्रतिष्ठानलाई कला साहित्यलाई मात्र महत्त्व दिएको भन्दै संगीतलाई पनि समावेश गर्न सुझाव दिए। कला साहित्य जनस्तरबाट आएको भन्दै उनले हाम्रो मौलिकतालाई गुम्न नदिन सम्बन्धित सबैको ध्यानाकर्षणसमेत गराए।

नेपाली साहित्य विश्वस्तरको भए पनि कुशल अनुवादकको कमीले नेपाली साहित्यको परिधि साँघुरो हुन पुगेको उनले बताए। उनले भने, 'हाम्रो साहित्यमा अनुवादकको खडेरी मेट्न र नेपाली साहित्यलाई विश्व स्तरमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गर्छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.