|

पर्सा : अज्ञात हतियारधारीले बुधबार चलाएको गोली लागेर वीरगन्जमा एक युवक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयभन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगलाअगाडि बुधबार राति साढे नाै बजे हतियारधारीले प्रहार गरेको गोली लागेर वीरगन्ज महानगपालिका–१३ रानीघाटका ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका हुन्।

घाइते चौरसियाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गराए पनि उनको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौंको वीर अस्पतालमा रिफर गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। चौरसियाको दाहिने कोखामा लागेको गोलीका कारण आन्तरिक रक्तस्राव हुनाका साथै रक्तचापसमेत अनियन्त्रित हुँदै गएपछि थप उपचारका लागि पठाइएको चिकित्सकको भनाइ छ।

चौरसियामाथि गोली प्रहार गर्नेकोे खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई पक्राउ गर्न वीरगन्जसँग सीमाना जोडिएका क्षेत्रमा चेकजाँचलाई कडा पारिनाका साथै नगर क्षेत्रमा भित्रिने र बाहिरिने बाटोमा सेमत चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

चौरसिया धागो व्यापारी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयअगाडि भएको गोली प्रहारको घटनाले वीरगन्जवासीलाई त्रसित बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.