|

काठमाडौं : बिहीबार नेपालको पहाडी क्षेत्रमा एकअर्कामा रङ दलेर खुसियालीपूर्वक होली पर्व मनाइँदै छ भने तराई क्षेत्रमा शुक्रबार होली मनाइन्छ। फाल्गुण शुक्ल पूर्णिमाको दिन पर्ने होली पर्वलाई सद्भाव र खुसियालीको पर्व पनि मानिन्छ। होलीमा मानिसहरूले एकअर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर रंगिन बन्छन्। होलीमा मीठा खाने कुराहरू पनि खाइन्छ।

रङ लगाएर एकअर्कामा अत्मीयता साटासाट गरिने यस पर्वमा हिजोआज हाम्रो शरीरलाई असर पार्ने घातक रसायन मिसिएका रङहरूको प्रयोग बढ्दै गएको छ। विभिन्न थरीका रङहरू प्रयोग गरेर मनाइने रङहरूको पर्व होलीमा आजभोलि लगाइने रातो, नीलो, कालो, हरियोलगायतका रङहरूले हाम्रो शरीरमा तत्कालै वा दीर्घकालमा असरहरू पर्ने गर्छ।

अहिले हामीले प्रयोग गर्ने रङहरू  बनाउँदा ९० प्रतिशत घुलनशील तत्त्व प्रयोग गरिएको हुन्छ। यस्तै, सुख्खा रङ बनाउन सिसा, मर्करी, पेट्रोलियम उत्पादन जस्ता स्वास्थ्यका लागि हानिकारक तत्त्व प्रयोग गरिएको हुन्छ। यसरी रसायनहरूको मिसावटबाट बनाइने रङहरूमा एस्वेस्टस र सिलिका जस्ता तत्त्व पनि हुन्छन्। यी तत्त्वले आँखा र छालामा संक्रमण गर्नुका साथै दम, खोकी जस्ता रोगलाई जन्म दिन्छ। होलीमा प्रयोग गरिने रङ र यसमा प्रयोग गरिने रसायनहरूले गर्भवती महिलालाई पनि असर गर्छ, जसले गर्दा समय अगावै बच्चा जन्मने सम्भवना धेरै हुन्छ।

कालो रङमा लेड अक्साइड मिसाइएको हुन्छ। यो रसायन निलेमा वा श्वासद्वारा लिए घातक हुन सक्छ। यसले छाला, आँखा, श्वास नली, फोक्सो, मस्तिष्क, आन्द्रा, मिर्गौला र रगतमा घातक असर गर्छ। एलर्जी, छाला सुन्निने, फोकाफोकी आउने, श्वासको समस्या, दम बढ्ने, मिर्गौला खराब हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षण लेड अक्साइड नामक रसायनको प्रयोगबाट देखिन्छ।

यस्तै, हरियो रङमा कपर सल्फेट, नीलो तुथो भन्ने रसायन मिसाइएको हुन्छ। यो रसायनले आँखा तथा छालामा असर गर्छ। यसले गर्दा छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग तथा ढकनी सुनिने, आँखामा घाउ आउने हुनेजस्ता समस्या आउन सक्छन्। यो रङ निलेमा वान्ता हुने, छाती पोल्ने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता समस्या देखिनुका साथै पेट, रगत, मस्तिष्क, कलेजो जस्ता अंगहरूलाई पनि हानि पुर्‍याउँछ।

यस्तै हामीले प्रयोग गर्ने बैजनि रंङमा क्रोमियम ब्रोमाइड भन्ने रसायन प्रयोग गरिन्छ। यो तत्व श्वास र फोक्सोका लागि हानिकारक छ। यो रङको बढी प्रयोग गर्दा श्वास बढ्ने, दम, खोकी लाग्ने, एलर्जी हुनेजस्ता लक्षण देखिन सक्छन्। चाँदी जस्तो चम्कने सेतो रङमा आल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको बिषाक्तताले क्यान्सरसमेत हुन सक्छ। आँखा, छाला र श्वास प्रणालीमा प्रत्यक्ष हानि पुर्‍याउने तत्त्वले फोक्सोमा असर, दम, खोकी, छाला चिलाउने, पोल्ने, सुन्निने, आँखा पोल्ने, पाक्ने, पानी बग्ने, टाउको दुख्ने, बान्ता हुनेजस्ता समस्या निम्त्याउँछ।

यस्तै, नीलो रङमा प्रसियन ब्लु नामक रसायन मिसाइन्छ। यसले छालाको एलर्जी, डर्मटाटिक्स जस्ता समस्या ल्याउन सक्छ। यसलाई निलेमा पेट दुख्ने, पाचन गडबड हुने र कब्जियतको समस्या देखिन सक्छ। रातो रङमा धेरै मर्करी सल्फेट तत्त्व मिसाइएको हुन्छ, जुन श्वास प्रश्वासद्वारा शरीरभित्र प्रवेश गरेमा छाती पोल्ने, दुख्ने, भारी हुने, खोकी लाग्ने, श्वास लिन कठिनाइ हुने, दम बढ्नेजस्ता समस्या देखापर्छन्।  यो तत्त्व आँखामा पर्न गए नानी जलेर अन्धोपन पनि हुन सक्छ। आँखा पाक्ने, पोल्ने, दुख्ने समस्या पनि आउन सक्छ। यो तत्त्व मिसाइएको रङ खाएमा पेट दुख्ने, वाकवाक आउने, बान्ता हुने, पखाला चल्ने र आन्द्रा गल्ने समस्या देखापर्छन्। रातो रङमा हुने सल्फेट तत्त्व शरीरमा धेरै नै प्रवेश गरेमा रक्तनलीहरूमा असर पुर्‍याई प्यारालाइसिससम्म हुने खतरा रहन्छ।

हिजोआज होली खेल्न प्रयोग गरिने चाँदी जस्तो देखिने रङमा क्यान्सर लाग्ने घातक तत्त्व हुने भएकाले यस्तो रङ छालाका लागि धेरै नै हानिकारक हुन्छ। 

यसरी बच्नुस् रङबाट

आजभोलि बजारमा पाइने रङहरू बनाउन प्रयोग गरिने विभिन्न खालका रसायनहरूले हाम्रो शरीरमा तत्कालीन र दीर्घकालीन असरहरू पुर्‍याउँछ। तत्कालीन रूपमा आँखा पाक्ने, छालाको एलर्जी हुने, बिमिरा आउने र सुन्निने हुन्छ भने दीर्घकालीन रूपमा प्यारालाइसिस हुने, छालाको क्यान्सर हुने, मिर्गौलाको समस्या जस्ता समस्या देखिन्छन्।

त्यसैले रङ छनोट गर्दा वा रङहरू किन्दा अलि नरम खालको छनोट गर्नुपर्छ। यसका साथै रङ लगाउनु अगाडि बाक्लो गरी भ्यास्लिन तथा मोइस्चराइजर क्रिम लगाउनुपर्छ। यसले गर्दा छाला चिल्लो भएकै कारण रङहरूले छालामा त्यति असर गर्न पाउँदैनन्। यसका साथै शरीरमा रङ सकेसम्म लामो समयसम्म राख्नुहुँदैन। रङ लागएको आधादेखि एक घन्टाभित्रमा पखाल्नुपर्छ। चिल्लोयुक्त साबुन वा फेसवासहररुले रङ पखाल्ने गर्नुपर्छ। रसायनयुक्त रङहरूले कपालमा असर गर्ने हुँदा होली खेल्नु अगाडि कपालमा धेरै तेल लगाउनु राम्रो हुन्छ। यसले गर्दा रङ पखाल्न सजिलो हुनुका साथै चिल्लोकै कारण रङमा भएका घातक रसायनले कपालमा असर गर्दैन। रङ लगाउँदा छाला चिलाउने, रातो हुने, फोका उठ्ने जस्ता समस्या देखिएमा चिकित्सकलाई देखाउनुपर्छ। 

(काठमाडौं मेडिकल कलेजमा कार्यरत छालारोग विशेषज्ञ डा. सविना भट्टराईसँग गरिएको कुराकानीमा आधारित)

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.