|

  • सिद्धराज भट्ट

कैलाली : कानून विपरीतका अवाञ्छित एवं आपराधिक काम कसैले गरिरहनुभएको छ भने सावधान रहनुहोला।

किनकि अपराधको अनुसन्धान गरी अपराधी पत्ता लगाउन प्रदेश ७ को राजधानी धनगढीमा पहिलो पटक बिहीबारबाट तालीम प्राप्त कुकुर शाखा ‘डग केनेल’ सञ्चालनमा ल्याइएको छ। सो शाखामा व्यवस्था गरिएका चारवटा तालीम प्राप्त कुकुर अबदेखि अपराध अनुसन्धानमा प्रयोग गर्न लागिएको छ।

संघीय प्रहरी एकाइ कार्यालय धनगढीको परिसरमा सञ्चालनमा आएको नवनिर्मित कुकुर शाखा भवनको बिहीबार प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले उद्घाटन गरे। छ वटा कुकुरको बासस्थानसहित नौवटा कोठा रहेको उक्त एक तले कुकुर शाखा भवन ५९ लाख २१ हजारको लागतमा निर्माण भएको हो।

विष्फोटक पदार्थ कसले र कहाँ राखिएको छ भन्ने पत्ता लगाउन कुकुर शाखामा जर्मन सेफर्ड जातको पोथी कुकुरको व्यवस्था गरिएको छ। यसको बोलाउने नाम ‘झुपा’ राखिएको छ। बोलाउने नाम ‘फुच्चे’ रहेको ल्याकाडोर जातको भाले कुकुर लागूऔषधको अनुसन्धान गर्नमा प्रयोग हुन लागेको छ।

यस्तै, बोलाउने नाम ‘तुफान’ रहेको जर्मन सेफर्ड जातको अर्को पोथी कुकुर ‘ट्र्याकर’ (बाटो देखाउने) काममा प्रयोग हुन लागेको छ भने ‘राजा’ बोलाउने नाम दिइएको ल्याब्राडोर जातको भाले कुकुर पनि विष्फोटक पदार्थको अनुसन्धान गर्न प्रयोग हुन लागेको छ।

कुकुर शाखामा यी तालीम प्राप्त कुकुरको व्यवस्था भएबाट प्रदेश ७ मा बेलाबखत हुने आपराधिक घटनाको अनुसन्धान गरी अपराध नियन्त्रणमा टेवा पुग्ने प्रहरी अधिकारीहरु बताउँछन्।

 “सल्यानमा दुई वर्षअघि आमाछोरीसहित महिलालाई बलात्कारपछि हत्या गरिएको घटनामा नेपालगञ्जबाट मगाइएको तालीमप्राप्त ‘भुन्टी’ कुकुरले घटनाको दुई दिनपछि अपराधी पत्ता लगाएको थियो,” प्रदेश ७ का प्रहरी अतिरिक्त महानिरीक्षक नेपालले भने, “लागूऔषधको कारोबारी, चोरी डकैती गर्ने, हत्यारा पत्ता लगाउने, भिआइपीहरुको सुरक्षा प्रबन्धलगायतका कामका लागि तालीमप्राप्त कुकुर निकै सहयोगी देखिएका छन्।”

प्रदेश ७ मा अन्य घटनाका तुलनामा लागुऔषध कारोबारीका घटना बढ्दै गएको पाइएको छ। भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै लागुऔषधको कारोबार गर्नेहरु बढ्दै गए पनि यसको कारोबार पूर्णरुपमा रोकथाम हुन सकिरहेको छैन। कुकुर शाखाका प्रमुख प्रहरी सहायक निरीक्षक मदन गुरुङ कुकुरले आफूसँग रहेको सुँघ्न सक्ने र सुन्न सक्ने क्षमताका आधारमा अपराधी पत्ता लगाउने गरेको बताउछन्। घरपरिवारको सुरक्षाका लागि निकै आज्ञाकारी मानिने कुकुरको हिन्दू परम्पराअनुसार तिहार पर्वका बेला माला र टीका लगाएर ‘कुकुर तिहार’ समेत मनाइन्छ।

विगत १६ वर्षदेखि तालीम प्राप्त कुकुरको प्रयोग गरी अपराध अनुसन्धानमा संलग्न रहँदै आएका गुरुङले भने, “मानिसको भन्दा कुकुरमा सुँघ्न सक्ने क्षमता ५० गुणा, सुन्न सक्ने क्षमता २० गुणा र देख्न सक्ने क्षमता छ गुण बढी हुने हुँदा तालीमप्राप्त कुकुरको प्रयोगमार्फत अपराधी पत्ता लगाउन सहज हुने गरेको छ।”

यी कुकुरलाई अपराधी पत्ता लगाउने काममा प्रयोग गर्नुअघि सुरुमा ४५ दिने आज्ञाकारी तालीम दिएर दक्ष बनाइन्छ । त्यसपछि विषयगत तालीम दिनुपर्ने हुन्छ। एउटा कुकुरलाई आफ्नो क्षेत्रमा दक्ष बनाउन दुई वर्षभन्दा बढी समय लाग्ने गरेको अनुभव गुरुङले सुनाए।

‘ट्र्याकर‘ (बाटो देखाएर अपराधीसम्म पुग्ने काम)मा प्रयोग गरिने कुकुरलाई तीन महिने तालीम दिनुपर्ने हुन्छ। ‘ब्लड हण्ड’ जातको कुकुरमा अन्य जातका कुकुरको तुलनामा बढी सुँघ्ने र सुन्ने क्षमता हुन्छ। नेपालमा यो जातको कुकुर पहिलो पटक अमेरिकाबाट भित्र्याएर हाल तालीम दिने काम भइरहेको बताइको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.