|

लहान : प्रसुतीका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा अस्पतालमा भर्ना गरिएकी सुत्केरीसहित शिशुको पनि मृत्यु भएपछि आन्दोलित मृतक परिवारसँग पाँच बुँदे सहमति भएको छ। 

मृतक परिवारसँग भएको पाँच बुँदे सहमतिपछि अहिले शवको पोष्टमार्टम गरी बिहीबार रातीसम्म आफन्तलाई बुझाइने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. दयाशंकरलाल कर्णले जानकारी दिए। 

घटनाको छानविनका लागि राजविराज नगर प्रमुखको संयोजकत्वमा गठन गरिएको छानविन समिति, अस्पताल प्रशासन र मृतक परिवारबीच बिहीबार दिनभर भएको वार्तापछि साँझ मृतकको काजक्रियाका लागि तत्काल एक लाख रुपैयाँ नगद उपलब्ध गराउनेसहित पाँच बुँदे सहमति भएको राजविराज नगर प्रमुख शम्भुप्रसाद यादवले बताए। 

दुवै पक्षको वार्तामा मृतक परिवारसँग मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था राजविराज नगरपालिका र विष्णुपुर गाउँपालिकाले गर्ने, मृतकका पतिलाई अस्पतालमा दैनिक ज्यालादारीमा नियुक्ति दिने, घटनाको वास्तविकता छानविन गरी कारवाहीका लागि सिफारिस गर्ने र १० लाख रुपैयाँ क्षतिपूर्तिका लागि सरकारसँग माग गर्ने सहमति भएको छानविन समितिका संयोजकसमेत रहेका नगर प्रमुख यादवले जानकारी दिए। मृतकका चार वर्षका छोरा आकाश र दुई वर्षकी छोरी सरस्वती छन्।

अस्पतालमा भर्ना गरिएकी सुत्केरी महिलासहित शिशुको पनि मृत्यु भएपछि मृतकका आफन्त र गाउँलेहरूले बिहानैदेखि अस्पताल घेराउसहित आन्दोलन गरेका थिए।

मृतकका आफन्त र गाउँलेहरूको आन्दोलनपछि राजविराजका नगर प्रमुखको संयोजकत्वमा ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।  

सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी विष्णुपुर गाउँपालिका- १ पिप्राहीकी २५ वर्षकी अनिता यादवको बिहीबार बिहान १ बजे मृत्यु भएको थियो। अनिता अस्पताल भर्ना भएदेखि नै चेकजाँच गर्दै आएका डा. दिलीप साह बिहीबार बिहान १ बजेतिर बच्चा जन्मिने बेलामा फोन गर्दासमेत नआएपछि बच्चा र आमा दुवैको मृत्यु भएको आफन्तले आरोप लगाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.