'ओलीजी र मलाई जनताको सेवाबाहेक अरू केही लिनुदिनु छैन'

|

नवलपरासी : नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले वाम गठबन्धन नेतृत्वको सरकारले विकास निर्माण र सुशासनमा मुख्य रुपमा ध्यान केन्द्रीत गर्ने बताएका छन्।

नवलपरासीको बर्दघाटमा शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले जनताको चाहना विकास भएपनि विकासका लागि सुशासनको अनिवार्यता रहेको बताए। 'अहिले जनताले स्थायित्व र विकास खोजेका छन',  प्रचण्डले भने, 'तर यसका लागि सुशासन नभइ हुँदैन। न्यायालयदेखि कर्मचारी र सुरक्षा संयन्त्रको बेथिति अन्त्य नगरी विकास र सुशासन सम्भव हुँदैन।

कम्युनिष्टहरूको पक्षमा झण्डै दुई तिहाई जनमत आएको बेला बनेको सरकारका अगाडि देश विकासबाहेक अन्य कुनै कुरा प्राथमिकतामा नभएको बताउँदै प्रचण्डले त्यसका लागि भ्रष्टाचारीहरूलाई जेल हाल्नुपर्ने बताए। उनले भने, 'अहिले न्यायालयदेखि, कर्मचारीतन्त्र र सुरक्षा सन्यन्त्रमा पनि बेथिती छ भन्ने सुनिन्छ। दुवै पार्टीको नेतृत्व तहमा हामीले भ्रष्ट र बेथिति गर्ने कसैलाई नछोड्ने अठोट गरेका छौँ।'

प्रचण्डले थपे, 'न्यायालयमा बेइमानी गर्ने, जाली फटाहाहरूका पक्षमा न्याय दिनेहरूलाई महाअभियोग लगाउने समय आएको छ। भ्रष्टाचार गर्ने कर्मचारीतन्त्रलाई जेल हाल्ने बेला आएको छ। त्यसो नगरे विकास सुशासन सम्भव छैन। भ्रष्टहरूलाई तह लगाउन नसके जनताले हामीलाई नै सजाय दिने कुरा हामीलाई थाहा छ।'

पार्टी एकताबाट विदेशी प्रतिक्रियावादीका दलालहरूमात्रै दुःखी भएको र अत्तालिएको प्रचण्डको टिप्पणी थियो। नेपाली जनताको सुख, समृद्धि, स्थायित्व र सुशासन चाहने सबैले पार्टी एकता चाहेको र ढिलो चुँडो सबै कम्युनिष्टहरू एउटै ठाउँ आउनुको विकल्प नभएकोमा उनले जोड दिए। 'धेरै घेराबन्दी, चाल र षडयन्त्रलाई असफल पारेर पार्टी एकताको समझदारी बनेको हो', उनले भने, 'अहिले पनि एकथरिलाई यो सह्य नभएकोले कम्युनिस्टको बहुमत आएको देख्दा आफैलाई कोपरौं कि चिथोरौं भन्ने भा छ।'

इतिहासका निर्माता जनता भएकोले विरोधीहरूले जतिसुकै षडयन्त्र गरेपनि केही नहुने प्रचण्डको भनाइ थियो। 'जनताको एकता र चाहनाका अगाडि जसले जति षडयन्त्र गरेपनि केही चल्नेवाला छैन। इतिहासको निर्माता जनता भएकोले विरोधीहरू जतिसुकै बौलाए पनि केही हुनेवाला छैन।'

प्रचण्डले वाम सरकारका अगाडि देशको विकास, सुशासन र समृद्दिबाहेक अरु कुनै एजेण्डा नभएको बताए। उनले अब  विश्वमा नै विकास र सुशासनमा पनि सगरमाथा जस्तो उदाहरणीय बन्नु पर्ने बताए। 'अहिलेको वाम गठबन्धन र नयाँ पार्टीको बहुमतको एकमना सरकार सबैका लागि खुशी र गर्व हो। कम्युनिस्टले नेतृत्व गरेका सरकार पटकपटक बने पनि पहिलो पटक कम्युनिस्टको मात्रै सरकार बनेको छ।'

उनले भने,  'विकासलाई गती दिन सुशासन आवश्यक छ। यसका लागि नेतृत्वमा दृढ इच्छाशक्ति हुनुपर्छ। केपी ओलीजी र मलाई देशको जनताको सेवाबाहेक अरू केही लिनुदिनु छैन। एकजना १४ वर्ष जेल बसेका र अर्को वर्षौं वनबास बसेका व्यक्ति नेतृत्वमा छौं।' उनले थपे, 'हाम्रो स्वार्थ देशलाई चाँडो भन्दा चाँडो विकास गराउने मात्रै छ।'

नेपालका अगाडि ऐतिहासिक अवसर र अग्नीपरीक्षा रहेको बताउँदै प्रचण्डले हिजोका दिनमा विकास नहुँदा दोष दिने ठाउँ भएपनि अब कसैलाई दोष दिएर उम्किने ठाउँ नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.