|

काठमाडौं : होली अर्थात् फागुपर्व काठमाडौं उपत्यकामा फाल्गुण पूर्णिमामा मनाइन्छ तराईमा भोलिपल्ट। एक क्षेत्रका मानिसले पूर्णिमाको राति होलिका दहन गरेपछि होली समापन भएको मान्छन् भने अर्को क्षेत्रका मानिसले ‘होलिका दहन’ भएपछि होली मनाउन सुरु गर्छन्। एउटै देश, एउटै पर्व, एउटै संस्कृति तर काठमाडौं उपत्यकामा एक दिन, तराई-मधेशमा अर्को दिन किन?

‘भौगोलिक विविधताका कारण’, संस्कृतिविद् डा.रामदयाल राकेश भन्छन्, ‘संस्कृति–परम्परा एउटै भए पनि भूगोलको अन्तरका कारण प्रक्रिया र दिन फरक परेको हो।’ काठमाडौंमा फाल्गुण शुक्ल अष्टमीमा चीरयुक्त लिंगो ठड्याइएपछि होली शुरु भएको मानिन्छ। पूर्णिमाको रात ‘चीरदहन’ गरेपछि सकिन्छ।

 ‘तराईमा भने वसन्त पञ्चमीमै होली शुरु हुन्छ’, राकेश भन्छन्, यो अवधिमा मैथिल, भोजपुरी र अवधि समुदायले आ–आफ्नै संस्कृतिअनुसार होली मनाउँछ।’ मुख्य दिनचाहिँ चैत्र कृष्ण प्रतिपदा। ‘उपत्यकामै पनि विभिन्न स्थानमा होली मनाउने तरिका फरक छ’ प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्, ‘दर्शन एउटै हो तर मनाउने तरिका केही फरक छ।’ उपत्यकामा मनाइने होलीमा कृष्णभक्ति धाराको प्रभाव रहेको बताउँछन्, उनी। भन्छन्, ‘कृष्णले गोपिनीहरूको वस्त्रहरण गरेको समयमा खेलिएको सन्दर्भ र महादेवको ध्यान भंग गर्न बाण हान्दा कामदेव आफैँ भष्म भएको सन्दर्भ होलीमा जोडिन्छ।

होलिका वध होस् वा कामदेव भष्म भएको प्रसंग, नकारात्मक पक्षको अन्त्य भएको खुशीयालीमा होली मनाइएको हो। मध्यरातमा होलिकाको प्रतीक जलाई त्यसबाट निस्केको खरानीको टीका लगाएपछि होली सकिएको\सुरु भएको मानिन्छ।

‘श्रीमद्भागवतलगायत पुराणमा होलिका वधसम्बन्धी विभिन्न प्रसंग आउँछ’, काफ्ले भन्छिन्, ‘भागवतकै दशम स्कन्धमा कृष्णले गोपिनीहरूसँग खेलेको सन्दर्भलाई लिएर होली मनाउने चलन छ।’ यही प्रसंगलाई लिएर पूर्णिमाको रात होलिका दहन गर्ने परम्परा छ। लौकिक कालगणनाअनुसारको वसन्त ऋतु सुरु हुने (भोलिपल्ट) खुशीयालीमा होली मनाइएको हो भन्ने भनाइ पनि छ ।

सञ्चारमाध्यममा पूर्णिमालाई पहाडी क्षेत्रमा होली मनाउने दिन भन्ने गरिएको छ तर केही दशकअघिसम्म पनि पहाडमा फागु वा होलीको खासै चलन नभएको संस्कृतिका अध्येता बताउँछन्। पुराणविद् प्रियंवदा काफ्लेका अनुसार तराई-मधेश क्षेत्रमा लोक स्वतस्फुर्त रूपमा होली खेल्ने चलन चलेको हो। उपत्यकालगायतका स्थानमा राजा महाराजहरूले आफ्ना नागरिकलाई मनोरञ्जन गराउन विभिन्न कालखण्डमा साताव्यापी होलीको चलन चलाएका हुन्।

वसन्त ऋतुमा बोटविरुवामा पालुवा पलाउने, मौसम रंगीन भई मानिसहरूमा प्रेमसम्बन्धी भावना उत्पन्न हुनेजस्ता कारण उत्सव मनाउने परम्परा बसेको हो। कतिपय समाज यो समयमा अलि फुर्सदिलो हुन्छ। काठमाडौं उपत्यकामा होलीका बेला नेवार समुदायले गाउने गीतहरूमा प्रणय र यौनका विषयवस्तु उल्लेख भएका पाइन्छन्। भक्तपुरमा होली मनाउँदा गाइने गीतमा ‘झ्यालमा बसेका तरुनी’ का प्रसंग आउँछन्। होलीका क्रममा विभिन्न रंग दल्ने र पानी छ्याप्ने चलन छ।

हिजोआज रासायनिक पदार्थबाट निर्मित रंगहरूको प्रयोग हुने गरेको छ। तर पहिले-पहिले वातावरणमै प्राप्त हुने रंगीचंगी फूल र पातलाई सुकाएर धुलो बनाई रंगको प्रयोग गर्ने गरिएको पाइने पुराणविद् काफ्ले बताउँछिन्।

संस्कृतिविद् ओमप्रसाद धौभडेल तराईको होली संस्कृति विशेषगरी भारतीय संस्कृतिसँग नजिक रहेको बताउँछन्। काठमाडौंको होलीको आफ्नै विशेषता छ। यहाँ सार्वजनिक पवित्र स्थमा ‘चीर स्वायगु’ अर्थात् चीर ठड्याएसँगै होली वा फागुपर्व सुरु हुन्छ। यो संस्कृति काठमाडौं, ललितपुर, भक्तपुरका साथै बनेपा, दोलखालगायत नेवार समुदायको बाहुल्य भएका ठाउँमा पाइन्छ।

‘नेवार समुदायमा होलीको अवधिमा भीमसेनसँग सम्बन्धित क्रियाकलाप देखाइन्छ’, धौभडेल भन्छन्, नेवार संस्कृतिमा भीमसेन देवताको ठूलो महिमा छ।’ नेवार समुदायमा भीमसेनलाई वस्ती, व्यापार र मानिसकै रक्षकका रूपमा पुजिन्छ।

जनकपुरमा यसपालि तेस्रो दिन

सधैँजसो पूर्णिमाको भोलिपल्ट मनाइने जनकपुरमा यो वर्ष शुक्ल द्वितीया अर्थात् शनिबार होली मनाइँदैछ। ‘माध्यमिकी परिक्रमा बिहीबार सकिएका कारण होली एक दिन पछि सरेको हो’, संस्कृतिविद् प्रा.डा. राजेन्द्र विमल भन्छन्, यस्तो सधैँ पर्दैन’, माध्यमिकी परिक्रमा बिहीबार फर्केकाले शुक्रबार एकदिन विश्राम गरी होली शनिबार मनाइन लागेको हो।’ माध्यमिकी परिक्रमा आध्यातमिकतासँग सम्बन्धित छ।

तर, होलीमा माछामासु, मद्य आदिको प्रयोग हुने भएकाले एक दिनपछि सारिएको पनि बताइन्छ। होलीका दिन आइतबार, मंगलबार आदि परे पनि भोलिपल्ट होली मनाउने चलन रहेको विमल बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.