|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता नछाड्ने भएका छन्।

पार्टीमा फरक समूहको नेतृत्व गरिरहेका नेता रामचन्द्र पौडेल समूहले दलको नेतामा देउवालाई नस्वीकार्ने निष्कर्षमा पुगेपछि देउवाले पनि प्रतिनिधिसभाका सांसदसँग भेटघाट बढाएका छन्। देउवाले शुक्रबार बिहान कांग्रेस सांसद तथा निवर्तमान रक्षामन्त्री भिमसेनदास प्रधानसँग भेटेर दलको नेतामा समर्थन गर्न आग्रह गरेका थिए। 

‘आफैँ नेतृत्वको दावी गर्नुको सट्टा नयाँ अनुहारलाई अवसर दिन मैले सुझाव दिएँ’ प्रधानले भने, ‘यदि सर्वसम्मत रूपमा यूवा पुस्तालाई दलको नेता नबनाई तपाईं नै उठ्ने भए सहयोग गर्न सकिने जवाफ दिएँ।’ सांसद प्रधान पार्टी नेता कृष्णप्रसाद सिटौला समूहका नेता हुन्। सिटौला समूहकै नेता गगन थापाले भने दलको नेतामा देउवालाई समर्थन नगर्ने भएका छन्। सोही समूहका सांसद उमाकान्त चौधरीले भने साथिभाइसँगको सल्लाहमा निर्णय लिने बताएका छन्।

देउवालाई कुनै पनि हालतमा सर्वसम्मत रुपमा दलको नेता बन्न नदिन पौडेल समूहबाट भने पूर्व उपसभापति प्रकाशमान सिंहले प्रतिष्पर्धा गर्ने भएका छन्। पौडेल समूहले सभपाति देउवालाई सर्वसम्मतको लागि पहल गर्न शुक्रबारसम्म समय दिएको थियो। तर, देउवाले आफैँ दलको नेता बन्ने अडान लिएपछि पौडेल समूहले सिंहलाई अघि बढाउने भएको हो। पौडेल समूहले महामन्त्री डा. शशांक कोइरालालाई सर्वसम्मत नेता बनाए सिंहले उम्मेदवारी नदिने तयारी गरेको थियो।

‘यथास्थितिमा वर्तमान नेतृत्वलाई सर्वसम्मत मान्न सम्भव छैन’, सांसद सञ्जय गौतमले थाहाखबरसँग भने ‘महामन्त्री शशांक कोइरालालाई सर्वसम्मतमा दलको नेता बनाउने नेतृत्व तयार भए हामीहरू प्रकाशमान सिंहलाई बसाउँछौं।’

दलको नेता चयनको लागि कांग्रेसले सोमबार निर्वाचन तालिका सार्वजनिक गरेको छ। त्यसको लागि आइतबार बेलुकी साढे ४ बजे मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता आइतबार साँझ ६ देखि साढे ७ बजेसम्म र मतदान सोमबार बिहान १० देखि १ बजेसम्म निर्धारण गरेको छ। 

उम्मेदवारी दिन ४१ हजार

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिने सांसदले उम्मेदवारी दरखास्तसँगै ४१ हजार रुपैयाँको बुझाउनुपर्ने भएको छ। कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ संयोजकत्वको निर्वाचन समितिले दलको नेतामा उम्मेदवारी दिने सांसदलाई यति धेरै रकम बुझाउनु पर्ने व्यवस्था गरेको हो। निर्वाचन समितिले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदले पद तथा गोपनियताको सपथ खानुअघि नै मतदाता नामावली प्रकाशन गर्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.