|

काठमाडौं : फिल्म 'शत्रु गते' चैत ९ गतेबाट प्रदर्शनमा आउँदै छ। मल्टिस्टारर यो फिल्म दर्शकको प्रतीक्षाको फिल्म बनेको छ। 'जात्रा' निर्देशन गरेर चर्चामा आएका निर्देशक प्रदीप भट्टराई निर्देशित फिल्म 'शत्रु गते'मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेललगायतको मुख्य भूमिका रहेको छ।

फिल्ममा तीन पुस्ताको जोडीलाई देखाइएको छ। हरिवंश र दीपाश्री, दीपकराज र प्रियंका, पल र आँचल फिल्ममा जोडीका रूपमा प्रस्तुत छन्।

'शत्रु गते'का कलाकार तथा निर्माता हरिवंश आचार्यसँग फिल्मका मुख्य पाँच कलाकारको बारेमा कुरा गरेका छौँ। हरिवंशको नजरमा कस्ता छन् त यी पाँच कलाकार? 

दीपाश्री निरौला 

शत्रु गतेमा हरिवंशको जोडीका रूपमा प्रस्तुत छन्, दीपाश्री निरौला। हरिवंश दीपाश्रीलाई प्रतिभावान् व्यक्तिका रूपमा लिन्छन्। दीपाश्रीले अभिनय र नृत्य एकदमै राम्रो गर्ने हरिवंश बताउँछन्। 'दीपाश्री एकदमै मिहिनेती र मिलनसार छन्', हरिवंश भन्छन्, 'दीपाले कामको सम्मान गर्छिन्। त्यही उनको सकारात्मक पक्ष हो।'

दीपाश्रीमा केही अवगुण नदेख्ने हरिवंश भन्छन्, 'दीपाश्री जस्तो बहुप्रतिभाशाली कलाकार सितिमिती जन्मिँदैनन्।'

दीपकराज गिरी

दीपकराज गिरी पनि बहुप्रतिभा भएको कलाकार भएको हरिवंश बताउँछन्। दीपकराजमा पटकथा, संवाद, अभिनय जस्ता कुराको धेरै ज्ञान भएको हरिवंशको बुझाइ छ। 'बाहिर दीपकराजको बारेमा विभिन्न नकरात्मक कुराहरू आइरहन्छन्', हरिवंश भन्छन्, 'तर दीपक त्यस्तो छैनन्। उनी एकदमै मिहिनेती मान्छे छन्। उनीसँग धेरै कुराको ज्ञान छ।'

दीपकराजको एउटा बानी खराब भएको हरिवंश बताउँछन्। दीपकराज समयमा चाहिँ पक्का छैनन्', हरिवंश भन्छन्, 'उनी कहिल्यै पनि समयमा आइपुग्दैनन्। त्यसैले उनको नाम हामीले दीपक हमाल राखिदिएका थियौँ।'

प्रियंका कार्की

प्रियंका कार्की पनि अभिनयकी रानी भएको हरिवंश बताउँछन्। भन्छन्, 'मलाई लाग्छ, नाच्न र अभिनय गर्नकै लागि जन्मिएकी हुन् प्रियंका।' उनले फिल्म शत्रु गतेमा पनि एकदमै राम्रो काम गरेको हरिवंश बताउँछन्। 'प्रियंका पनि एकदमै मिलनसार छन्', हरिवंश भन्छन्, 'सुटिङभर कहिल्यै पनि ठूलो स्वर गरेको सुनिदैन।'

प्रियंकाकको नराम्रो पक्षलाई औल्याउँदै हरिवंश भन्छन्, 'प्रियंकाको नराम्रो पक्ष भनेको प्रचार प्रसारमा नहिँड्ने हो। त्यसलाई चाहिँ उनले सुधार्नुपर्छ।'

पल शाह

हरिवंश पललाई समयको पक्का मान्छे र एकदमै इमान्दार कलाकारको रूपमा लिन्छन्। उनी पलको अभिनय कला र नृत्यको प्रशंसा गर्छन्। भन्छन्, 'पलको अभिनय र नृत्य एकदमै राम्रो छ। पललाई म एउटा राम्रो कलाकारको रूपमा लिन्छु।'

पल मिहिनेती कलाकार भएको बताउँदै हरिवंश भन्छन्, 'पलले सुटिङभर कहिल्यै दु:ख दिएनन्। उनको नराम्रो पक्ष खासै भेटिन्न।'

आँचल शर्मा

आँचल शर्मालाई छोरी मान्छन् हरिवंश। आँचलले मलाई हरि बा भन्छिन्', उनी भन्छन्, 'त्यसैले आँचललाई म छोरी भन्छु।' शत्रु गतेमा आँचलले गरेको कामबाट एकदमै प्रभावित भएको हरिवंश बताउँछन्। भन्छन्, 'शत्रु गतेमा आँचलले निकै राम्रो काम गरेकी छन्। उनको गेटअप पनि एकदमै राम्रो छ।' फिल्ममा उनले गरेको काम एकदमै राम्रो भएको हरिवंश दाबी गर्छन्।

'आँचलको नराम्रो बानी केही छैन', हरिवंश भन्छन्, 'आँचल सुटिङको सेटमा हुँदा कहिल्यै बोरिङ फिल गर्नुपरेन। आँचलले जहिल्यै हामीलाई हसाइरहेको हुन्थ्यो।'

सम्रगमा फिल्ममा काम गर्दा निकै रमाइलो भएको हरिवंश बताउँछन्। भन्छन्, 'हामीलाई फिल्मको सुटिङ गर्दा काम गरेको जस्तो नै लागेन। हामी त केही लामो समय पिकनिक गएको जस्तो लाग्यो।'

'शत्रु गते'का सबै कलाकारहरू मह जोडीभन्दा अनुज (जुनियर) थिए। तर पनि काम गर्दा उनीहरूलाई त्यो अनुभूत गर्न नदिएको हरिवंश बताउँछन्। 'सुरुसुरुमा केही अप्ठ्यारो मान्नुभएको थियो रे', उनी भन्छ्न्, 'तर हामीले उनीहरूसँग त्यस्तो व्यवहार नगरेपछि उनीहरूले पनि सहज रूपमा काम गरे।'

निर्देशक प्रदीप भट्टराईको काम पनि प्रशंसनीय भएको हरिवंश बताउँछन्। भन्छन्, 'प्रदीपले सानोसानो कामलाई पनि एकदमै मिहिनेतका साथ गर्छन्। त्यसले पनि फिल्म राम्रो बनेकोमा कुनै शंकै छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.