|

काठमाडौं : प्रदीप बस्नेतद्वारा लिखित उपन्यास ‘सिक्रेट लभ’को ट्रिटन इन्टरनेश्नल कलेज सुविधानगर, बानेश्वरमा विमोचन भएको छ। 

सोही कलेजको व्यवस्थापन संकायमा कक्षा ११ मा अध्ययनरत छन् १५ वर्षका प्रदीप बस्नेत। कलेजका अध्यक्ष विश्वनाथप्रसाद साह, सहायक प्राचार्य श्रीकृष्ण विष्ट, कलेज व्यवस्थापन प्रमुख ऋतु न्यौपाने, वक्ताहरू आख्यानकार तथा समालोचक महेश पौड्याल र कवि तथा समालोचक गीता त्रिपाठीले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गरेका थिए। 

कार्यक्रमा बोल्दै कलेजका सहायक प्राचार्य श्रीकृष्ण विष्टले अबको साहित्य युवा लक्षित हुनुपर्ने र मान्छेलाई  सकारात्मक बाटोमा लैजान साहित्यले ठूलो योगदान दिने बताए। अहिले युवा पिँढीका लेखकहरूबाट समाज, देश र मायालाई सम्बोधन गरिएका साहित्यिक कृतिहरू आएका प्राचार्य विष्टको भनाइ थियो। 

कृतिमामाथि बोल्दै समालोचक तथा कवि गीता त्रिपाठीले साहित्यको क्षेत्रमा प्रदीप बस्नेतको उपस्थितिलाई सबैले प्रशंसा गर्नुपर्ने बताइन्। साहित्य भन्ने कुरा आँट पनि हो र विचार पनि हो भन्दै उनले लेखक उमेरले १५ वर्षका मात्रै भए पनि उपन्यासको कथावस्तु र पात्रविधानमा उनी सचेत रहेको र कथावस्तुलाई रोचक बनाएको उल्लेख गरिन्। आख्यानकार एवम् समालोचक महेश पौड्यालले युवाहरू अहिले के लेखिरहेका छन् र के लेख्न बाँकी छ भन्ने कुरा उठाएका थिए। समाजमा भोगिएका सामाजिक कुराहरूसँगै माया प्रेमको विषयमा कथा उपन्यासहरू लेख्न धेरै बाँकी भएको र माया प्रेमलाई पनि सभ्य र संस्कारसहितको प्रस्तुतिबाट प्रस्तुत गर्नुपर्ने आवश्यकता उनले औँल्याए। 

उपन्यास अथवा कुनै पनि साहित्यमा गहन विचार लेख्ने हो भने त्यो सधैँ जीवन्त हुन सक्छ भन्दै समालोचक पौड्यालले प्रदीप जस्ता कलिलो उमेरमै उपन्यास जस्तो साहित्यको विधामा कलम चलाउनु गम्भीर चुनौती भएको उल्लेख गरे। अबका दिनमा प्रदीप जस्ता युवा लेखकलाई साहित्यमा आफू के लेख्द छु र मैले के लेख्नुपर्छ भन्ने चुनौती आएको धारणा राखे। 

कलेजका अध्यक्ष विश्वनाथप्रसाद साहले प्रदीप जस्ता युवाहरूको प्रतिभाको कदर गर्न कलेज सधैँ तत्पर रहेको कुरा बताउँदै लेखकलाई शुभकामना दिए। डिकुरा पब्लिकेशनका प्रमुख पुण्यप्रसाद प्रसाईंले प्रदीप उमेरले कान्छा उपन्यासकार भए पनि उनको लेखनले आफू प्रभावित भएको र आफूले उक्त किताब छापेको बताए। 

सिक्रेट लभलाई डिकुरा प्रकाशनले बजारमा ल्याएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.