|

गोरखा : जिल्लाको भीमसेन गाउँपालिकाको केन्द्र विवाद मिलाउन प्रदेश-४ को सरकारले विवाद समाधान कार्यदल गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान संयोजक रहने गरी कार्यदल गठन गरेको हो।

‘गाउँपालिकाको विवाद मिलाउन कानुन मन्त्रीज्यूको संयोजकत्वमा कार्यदल  गठन गरिएको छ’ प्रदेश ४ का प्रवक्तासमेत रहेका उद्योगमन्त्री रामशरण बस्नेतले भने, ‘तीन महिनादेखि गाउँपालिकाको कार्यालय बन्द छ। कामकाज अस्तब्यस्त भएको छ। त्यसलाई छिटै निराकरण गर्ने तयारी छ।’ गाउँपालिकाको केन्द्र हाल पाँच नम्बर वडाको बगुवाबाट घ्याम्पेशाल बजार सार्ने निर्णय गरे सँगै विवाद बढेको हो।

कार्यदलका सदस्य समेत रहेका बस्नेत सोही गाउँपालिका रहेको गोरखा क्षेत्र नं. १ को ख प्रदेशबाट निर्वाचित जनप्रतिनिधी समेत हुन्। कार्यदलले १५ दिनभित्र स्थलगत अध्ययन गरी वार्ता र संवादद्वारा विवाद समाधानको पहल थाल्ने बस्नेतले जानकारी दिए।  गएको कात्तिक १९ गतेको गाउँ कार्यपालिका बैठकले भीमसेन गाउँ पालिकाको केन्द्र बगुवाबाट घ्याम्पेशाल सार्ने निर्णय गरेको थियो।

सो निर्णय मन्त्रिपरिषदले समर्थन गर्दै राजपत्रमा समेत उल्लेख  गरेको छ। सो निर्णयपछि वडा नं. ५ बगुवाका अध्यक्ष प्रेमचन्द्र श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति गठन गरी बन्द तथा अनसनको कार्यक्रम गरिरहेको छ। विवाद मिलाउन जिल्लामा राजनीतिक दलका प्रमुखहरुबीच पनि पटक पटक छलफल भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.