|

काठमाडौं : निर्वाचन सम्पन्न भएको तीन महिनापछि संघीय संसदका सदस्यले शपथग्रहण गरेसँगै संघीय संसदले औपचारिकता पाएको छ। संघीय संसदले औपचारिकता पाएसँगै प्रतिनिधिसभा सभामुखकोे निर्वाचन कार्यतालिकासमेत सार्वजनिक भएको छ।

सोहीअनुसार २६ फागुनमा सभामुखको निर्वाचन हुँदै छ। एमालेसँगको सहकार्यमा माओवादीले प्रतिनिधिसभाको सभामुख पाउने भएको छ। संसदमा बहुमत रहेका वाम गठबन्धनकै सभामुख बन्ने निश्चित छ। तर, सभामुखको निर्वाचन आउन ६ दिन मात्र बाँकी रहँदा माओवादी केन्द्रले हालसम्म सभामुखको टुंगो लगाउन सकेको छैन।

सभामुखमा आकांक्षी धेरै भएका कारण माओवादीले अहिलेसम्म सभमुखको उम्मेदवारको टुंगो लगाउन सकेको छैन। सभामुखमा पार्टीका नेता कृष्णबहादुर महरा, देव गुरुङ र ओनसरी घर्तीले आकांक्षा राखेका छन्। माओवादीबाट सरकारको नेतृत्व गरेर यसअघिको देउवा नेतृत्वको सरकारमा गएका महराले सभामुखका लागि आकांक्षा देखाएका कारण सरकारमा जान आकांक्षा राखेनन्।

यस्तै, गुरुङले पनि मन्त्री नबनाउने भएपछि सभामुख बनाउनुपर्ने माग गर्दै आएका छन्। यस्तै, ओनसरीले पनि एकपटक दाहोरिने आकांक्षा राखेको माओवादीका एक नेताले बताए। ‘ओनसरीजीले पनि आंकाक्षा राख्नुभएको छ। तर, वर्षमान पुनजीले पनि मन्त्री बन्नका लागि आकांक्षा राख्नुभएका कारण ओनसरीजीको सम्भावना कम छ’,उनले भने,‘दुवैजनाले दाबी गर्न त नैतिकताले पनि दिँदैन नि होइन र!’

सभामुखको निर्वाचन नजिकिए पनि माओवादी केन्द्रले हालसम्म उम्मेदवार चयनका लागि औपचारिक बैठक नगरेको पार्टीका केन्द्रीय कार्यालय सदस्य मणि थापाले जानकारी दिए। उनले भने,‘सभामुखका लागि तीन जनाले आकांक्षा राख्नुभएको छ।

तर,अहिलेसम्म पार्टीमा यस विषयमा छलफल भएको छैन। शीर्ष नेताहरूले आन्तरिक छलफल गरिरहनुभएको होला।’ तर, सभामुखका विषयमा निरन्तर पार्टीका नेताबीच छलफल भइरहेको पार्टी नेता देवेन्द्र पौडेलले जानकारी दिए। तर, सभामुखमा माओवादीबाट महरा उम्मेदवार रहने सम्भावना धेरै रहेको एक नेताले बताए। उनले भने,‘वरिष्ठताका आधारमा पनि महराजीको सम्भावना धेरै छ।’ 

बाँकी मन्त्रीका बारेमा के हुँदै छ?

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माओवादीले सात मन्त्रालय पाएको छ। जसमध्ये माओवादीबाट दुईमन्त्री सरकारमा गइसकेका छन्। यसअघि, सरकार विस्तारका क्रममा आन्तरिक विवादका कारण माओवादीले पाँच मन्त्रीको नाम पठाउन सकेको थिएन। नेताहरूले अन्य मन्त्री पनि केही दिनमै टुंगो लाग्ने बताएका थिए।

तर, दोस्रोपटक सरकार विस्तार भएको एक साता बितिसक्दासमेत माओवादीले पाँच मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन। यसअघि, माओवादी केन्द्रले रामबहादुर थापाको नेतृत्वमा मातृका यादवलाई सरकारमा पठाइसकेको छ। त्यसपछि सरकारमा पार्टीबाट मन्त्रीको नाम पठाउनेबारे खासै छलफल नभएको पार्टीका नेता पौडेलले जानकारी दिए।

उनले भने,‘फोरम र राजपासँग सरकारमा सहभागी हुनका लागि छलफल भइरहेको छ। त्यसैले अहिले यसबारेमा छलफल भएको छैन। अब फोरम र राजपासँग कुरा मिलेपछि छलफल हुन्छ।’ राष्ट्रपतिको निर्वाचन अघि सरकार विस्तार हुने सम्भावना न्यून रहेका कारण तत्काल छलफल नभएको केन्द्रीय कार्यालय सदस्य थापाले थाहाखबरलाई जानकारी दिए।

‘फागनु २९ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अघि सम्भवत सरकार विस्तार हुँदैन भन्ने पार्टीमा छलफल हुँदै छ’, उनले भने,‘फेरि राजपा र फोरमलाई सरकारमा ल्याउने कसरत भइरहेकाले पनि अध्यक्षहरू छलफलमा व्यस्त हुनुहुन्छ। त्यसैले पार्टीको आन्तरिक छलफल भएको छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.